क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली
न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सो राज्यमा करिब एक लाख नेपाली रहेको छन् । हाल नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सन फ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपाली जनसम्पर्क समिति, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्नियालगायत संस्थाबाट माग गरिएको थियो । राससका अनुसार महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरणलगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने भएकाले ती संस्थाहरुले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह रहेका हुन् ।
प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने विश्वास दिलाए । “तपाईंहरु ढुक्क भएर जानुहोस् । क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने विषयमा हामीले सोच बनाइसकेका छौँ”, उनले भने ।
क्यालिफोर्निया राज्य विज्ञान र प्रविधिको हबका साथै सिलिकन भ्यालीसमेत भएकाले त्यसबाट नेपाल र नेपालीहरुले व्यापारिक तथा प्रविधिगत लाभ लिनसक्ने मागपत्रमा उल्लेख गरिएको छ । उक्त समितिले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई पनि भेटेर सोही माग राख्नुका साथै क्यालिफोर्निया भ्रमणको निमन्त्रणा दिएको छ ।
शिष्टताको परिचय दिन आग्रह
प्रवासी नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घको सहभागिता र अमेरिका भ्रमण सफलताको कामना गर्दै नेपालको समृद्धि र विकासका लागि प्रवासमा रहेका नेपालीले पनि भूमिका खेल्ने जनाएका थिए । उनीहरुले दोहोरो नागरिकताका समस्या र नेपालको संविधान संशोधनका सवालबारे पनि विचारविमर्श गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेपालीहरु जहाँ रहे पनि शिष्ट र मर्यादित हुनुपर्नेमा जोड दिँदै गैरआवासीय नेपाली सङ्घभित्र पनि विवाद भइरहने स्थिति अन्त्य हुनुपर्ने बताए । “नेपालीहरु जहाँ भए पनि यस्तै हो भन्ने प्रभाव पार्नु हुँदैन । साना स्वार्थले बुझ्दै नबुझी नराम्रा व्यवहार गर्न पुग्छन्, तिनीहरुलाई सम्झाइबुझाइ गरेर सही मार्गमा ल्याउनु हाम्रो दायित्व हो”, उनले भने ।
प्रधानमन्त्री ओलीले एकपटकको नेपाली सधैँका लागि नेपाली हुने मान्यतासहित काम गर्न आग्रह गर्दै राजनीतिक अधिकार प्रयोग गर्नुपरेमा प्रवासको नागरिकता निस्क्रिय पारेर गर्न सकिने बताए ।
‘गणतन्त्र मास्ने कुरा हुन सक्दैन’
राजनीतिक प्रसङ्गमा सहभागीको जिज्ञासामा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यता, सङ्घीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा हेरफेर नहुने भन्दै संविधानलाई परिस्कृत बनाउने क्रममा संशोधन आवश्यकपर्ने बताए । उनले संविधान संशोधनको विषयमा दलहरुबचि आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले तत्काल संशोधन हुन सहज नभएको उल्लेख गरे ।
टेक्ससमा पनि महावाणिज्यदूतावास खोल्न माग
यसैगरी नेपाली सोसाइटी अफ टेक्सस र नेप्लिज अर्गनाइजेशन अफ टेक्सस एण्ड सायदेन युनाइटेड स्टेट्सले प्रधानमन्त्री ओलीलाई भेटेर टेक्ससमा पनि नेपाली महावाणिज्यदूतावास खोल्न माग गरेका छन् । ती संस्थाले त्यहाँ कन्सुलर कार्यालय खोल्नका लागि निःशुल्क कार्यालय उपलब्ध गराउने अवगत गराएका छन् । प्रधानमन्त्री ओलीले त्यसबारे आवश्यक छलफल गर्ने बताएका थिए ।
नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह
यसैगरी क्यानडामा रहेका नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई भेटेर नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह गरेका छन् । हाल भारतमा गएर नेपालीले क्यानाडाको प्रवेशाज्ञा लिनुपर्नेलगायत समस्या भएकाले नेपालमा दूतावास खोल्नुपर्ने उनीहरुको आग्रह थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया