Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफरक मतबालेनको चाल काठमाडौं महानगरका लागि शुभ सङ्केत हुन सक्दैन

बालेनको चाल काठमाडौं महानगरका लागि शुभ सङ्केत हुन सक्दैन


इन्द्रजात्रा (यन्या पुन्ही)को अन्तिम दिन ‘ननीचा याय’, कुमारीको रथ बसन्तपुर, ढोकाटोल, नरदेवी, किलगल, इन्द्रचोक, मखन, कालभैरव हुँदै कुमारीघर तानियो र सफलताका साथ रमाइलो वातावरणमा समापन भयो । महिला दिदीबहिनीहरूले रथ तान्ने व्यवस्था गरिएको थियो । केही अप्रिय घटना भएको देख्न र सुन्न त परेन तर केही अप्रिय दृश्य भने प्रष्ट देखियो ।इन्द्रजात्राको पहिलो दिन राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत अन्य ठूला गन्यमान्य व्यक्तिको उपस्थिति हुने र महानगर प्रमुखको नाताले अतिथिहरूको स्वागत सत्कार गर्ने आधिकारिक चलन रही आएको हो । तर, प्रमुख बालेनले जानाजानी उपस्थिति नभई, कार्यक्रम नै बहिस्कार गरेर सो प्रचलनलाई तोडेको छ । किन ? के यो राष्ट्र प्रमुखजस्तो सम्मानित र वरिष्ठ व्यक्तिलाई अपमान गरेको होइन ? हेपेको होइन ? प्रधानमन्त्रीसँग कुरा नमिल्न सक्छ तर यसरी जुँगाको लडाइँले परम्परागत कार्यक्रमलाई बिथोल्न पाइन्छ ? लोकतन्त्रमा अनुशासनको पनि ठूलो महत्व हुन्छ । आफूभन्दा माथिल्लो ओहोदाका व्यक्तिलाई पदअनुसार व्यवहार गर्नु दायित्व र जिम्मेवारी पनि हुन आउँछ । के काठमाडौंवासीले यस्ता जनप्रतिनिधि चाहेका हुन् ?

इन्द्रजात्रा कुमारीको रथ
इन्द्रजात्रा कुमारीको रथ

इन्द्रजात्राजस्तो महान् पर्व मनाइरहँदा जात्रालाई नै बाधा पु¥याउने मात्र नभई नेपालको राजधानी काठमाडौंको ऐतिहासिक नामलाई समेत बिथोल्ने र आफ्नै नाम प्रचार गर्ने उद्देश्यले ‘बालेन सिटी’, र भगवान्भन्दा ठूलो देखाउन बालेनको तस्बिर अंकित टिसर्ट लगाएर केही युवायुवतीहरू जात्रामाझ परिचालित देखियो । के यो नेवाः संस्कृति, धर्म, हाम्रो काठमाडौंको ऐतिहासिक नामलाई परिवर्तन गर्न चुनौती दिएको होइन ? यदि प्रहरीले समयमै हस्तक्षेप नगरेको भए त्यहाँ मुठभेडको अवस्था सृजना हुन सक्थ्यो र पूरै जात्रा रणभूमिमा परिणत हुन सक्थ्यो । बालेनले अविलम्ब यस्ता क्रियकलाप बन्द गर्नैपर्छ । साथै आफ्ना अन्धभक्तहरूलाई यस्ता नेवाः संस्कृतिविरोधी क्रियाकलापबाट पछि हट्न निर्देशन दिनुपर्छ । यो विशुद्ध सामाजिक, सांस्कृतिक पर्व हो जहाँ कुनै किसिमको राजनीतिक थलो बन्न सक्दैन ।

इन्द्रजात्रामा बालेनको फोटोसहितका टिसर्ट लगाएका समर्थक

बालेनले इन्द्रजात्राको तेस्रो दिन बसन्तपुरमा केही वडाध्यक्षहरू उपस्थिति गराएर, आफ्नै नगर प्रहरीको घेरामा उनकै लागि मात्र अर्को इन्द्रजात्रामा नचाइने नाच समूह जम्मा गर्न लगाएर तमासा गर्न पुगेको देखियो । के यस्तो अलग्गै गर्न मिल्छ ? वडाध्यक्षहरूले किन साथ दिए ? यस्तै हो भने बालेनको अलग इन्द्रजात्रा हुनेभयो । अर्को वर्ष पनि सरकारको आधिकारिक कार्यक्रमलाई बहिष्कार गर्ने बहाना र बालेनको छुट्टै जात्रा मनाउने हुन सक्छ । गलत नजिर स्थापना भएको छ । वडाध्यक्षहरू जानेर वा नजानेर साथ दिइरहेका छन् । के यो बालेनले आफ्नो पद र शक्तिको दुरुपयोग गरेर चुनौती दिएको होइन ? साथ दिने जनप्रतिनिधि वडाध्यक्षहरूदेखि दया लागेको छ । महानगरसभाले स्पष्टीकरण माग गर्नैपर्छ । समयमै सबैको ध्यान जाओस् नभए नेवाः संस्कृति, पहिचान, गौरव, शान इतिहासमा पढ्नुपर्ने हुन सक्छ ।

संविधान दिवसको उपलक्ष्यमा दरबारमार्गमा साङ्गीतिक कन्सर्टको आयोजना गरेकोमा हजारौंको सहभागिता थियो । त्यो कन्सर्ट गरेको अनि प्रयोग गरेको ठाउँ, दरबारमार्ग राम्रो हो वा होइन एउटा छलफलको विषय हुन सक्छ । तर, कन्सर्ट हँुदै गर्दा केही परिचालित युवाहरूले बालेनको समर्थनमा र सरकारको विरोध गर्दै नारा लगाए । पक्षविपक्षबीच केही समय होहल्ला, हाताहात पनि नभएको होइन । तर, तैनाथ सुरक्षाकर्मीहरूको समयमै हस्तक्षेपले गर्दा ठूलो क्षति हुन भने पाएन । हजारौँ दर्शकहरू भएको अवस्थामा यस्ता ठाडै मुठभेड हुनसक्ने गतिविधि गर्नु उपयुक्त स्थान र समय हो ? चित्त नबुझेका हुन सक्छन् तर यस्तो ठूलो जमात भएको ठाउँमा विरोध गर्नु बुद्धिमानी कदापि हुन सक्दैन ।

दरबारमार्गको कन्सर्टमा हाताहात

बालेन अब सामाजिक सञ्जालमा मात्र सीमित रहेनन् । हिजोदेखि आफ्नै अदृश्य समूह गठन गरिसकेको जस्तो देखियो, जुन यदि सत्य हो भने भयानक र डरलाग्दो हुन सक्छ । यस्तै हो भने बालेन पक्ष र विपक्षबीच कुनै पनि बेला मुठभेड हुने पक्का छ । के बालेनले चाहेको यस्तै अराजकता हो ? सेलिब्रिटीको नभएर राजनीतिक संस्कृति हुनुपर्ने होइन र ? यस्तै मनोवृत्ति हुने हो भने नगरवासीहरूको चाहना, आवश्यकताअनुसारको नगर विकास गर्ने कहिले ? यी सबै प्रायोजित खेलबाहेक अरू हुन सक्दैन । बालेनको समर्थन गर्ने, नारा लगाउने छुट त संविधानले पक्कै दिएको छ । तर, कहाँ गर्ने, कसरी गर्नेमा महत्व राख्ने गर्छ । समयमै बुद्धि पु¥याउन नसके जे पनि हुनसक्ने सम्भावना अब बढेको छ । मिडियाले जुन प्रकारले बालेनको पक्षमा अतिरञ्जित तरिकाले समाचार सम्प्रेषण गरेका छन् त्यो ‘आगोमा घ्यू थप्ने’ भएको छ । मिडियाले के चाहेको हो ?स्थानीय र संघीय सरकारबीचको द्वन्द्व इन्द्रजात्रामा र कन्सर्टमा खुलेर प्रस्तुत भएको छ । यो असमझदारी कहाँसम्म र कुन हदसम्म जाने हो महानगरवासीका लागि गम्भीर चिन्ताको विषय बनिसकेको छ ।


क्याटेगोरी : फरक मत
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x