Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसहकारी ठगीमा पक्राउभन्दा फरार बढी

सहकारी ठगीमा पक्राउभन्दा फरार बढी


सहकारी ठगी सम्वन्धमा छानबिन गर्न बनेको संसदीय समितिले गरेको अध्ययनमा ४० वटा सहकारीमा नागरिकरले राखेको बचतबाट करिब खर्बकै हाराहारीमा अपतलन भएकाको हिसाब देखियोे । सहकारीमा जम्मा भएको रकम सडक किनारमा मकै पोल्नेलगायतका वर्गबाट उठेको हो । त्यस्तो रकम अपचलन हुनुभनेको ठगीको प्रभाव धेरै तल्लोस्तरसम्म पुगिसकेको अवस्था हो । त्यसमाथि पछिल्ला समय आफ्नो बचत फिर्ता नपाएर उपचारविहीन अवस्थामा ज्यान गुमाएकाहरूको संख्या दिनदिनै बढिरहेको छ । यस्तै, बेला आएको संसदीय छानबिन समितिको प्रतिवेदनले जेकुरा औँल्याएको छ त्यो झनै गम्भीर देखिन्छ । त्यसमा सहकारीको यही रकम अपचलनबाट ठूलाठूला कम्पनीका सेयर खरिदबिक्री भएका देखियो ।

यो झनै आपत्तिको विषय हुनपर्छ । एउटै सहकारीबाट अर्बका अर्ब यसरी अपचलन भएको अवस्था छ । त्यसकारण यसप्रति राज्य गम्भीर हुन आवश्यक रहेको भनी विज्ञहरूले निरन्तर सुझाव दिइरहेका हुनुपर्छ । यस्तो अपचलनले नियमनकारी निकाय र तिनका जिम्मेवार कर्मचारीको भूमिका माथि समेत प्रश्न खडा गरेको छ । यता यसरी सहकारी ठगी बढिरहेको छ भने त्यसको तुलनामा कारबाही भने नगन्य मात्रामा नै भइरहेको पाइन्छ । गएको दश वर्षमा सहकारीबाट अपचलन भएको रकमको अंक तीन खर्बभन्दा बढी पुगेको छ । तर यस्तो अपचलन गर्नेहरू भनी पहिचान भएकाहरूको संख्या भने दुईहजार पनि नाघ्न सकेको छैन । जस्तो यो समयमा दुई सय ५८ सहकारीको रकम दुरुपयोग गर्ने भनी आरोपितमध्ये छ सय ६९ जना पक्राउ परेको छन् भने १५ सय ४० जना फरार रहेको पाइएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठिन संसदीय छानबिन विशेष समितिकोे विशेष छानबिन प्रतिवेदन, २०८१ ले दुई सय ५८ सहकारीबाट मात्र सहकारीमा रहेको ८७ अर्ब रुपैयाँभन्दा बढी रकममा दुरुपयोग तथा हिनामिना भएको जनाएको छ । यसमा रकम अपचलन गरेर फरार हुने क्रमले संस्थागतरूप नै लिएकोजस्तो देखाउँछ । यस्तो रोग देशभरि नै फैलिएको अवस्था छ ।

जस्तो प्रतिवेदनका अनुसार कोशी प्रदेशका ३४, मधेश प्रदेशका २७, बागमती प्रदेशका १८, गण्डकी प्रदेशका २०, लुम्बिनी प्रदेशका १८, कर्णाली प्रदेशका ६ र सुदूरपश्चिम प्रदेशका आठ वटा काठमाडौं उपत्यकाका अपराध अनुसन्धान कार्यालयमा एक सय सात र केन्द्रीय अनुसन्धान ब्युरोमा २० वटा सहकारीविरुद्ध उजुरी परेका थिए । प्रतिवेदनले भनेको छ– सहकारी संस्थाहरूमा वित्तीय अपचलन, ठगी, अनियमितता र पारदर्शिताको अभावले सहकारी कसुरका घटना बढेका छन्, उजुरीका आधारमा हालसम्म सहकारीको रकम दुरुपयोग गरेको आरोपमा छ सय ६९ जनालाई पक्राउ गरिएको छ । आरोपित एक हजार पाँच सय ४० जना फरार छन् ।

संसदीय छानबिन समितिलाई प्राप्त भएको विवरणअनुसार सहकारीको रकम दुरुपयोग गरेको आरोपमा प्रहरीले कोशी प्रदेशबाट ८१, मधेश प्रदेशबाट ५०, बागमती प्रदेशबाट ४६, गण्डकी प्रदेशबाट एक यस ४८, लुम्बिनी प्रदेशबाट ८६, कर्णाली प्रदेशबाट सात र सुदूरपश्चिम प्रदेशबाट २७ जनालाई पक्राउ गरिसकेको छ । काठमाडौं उपत्यकाका अपराध अनुसन्धान कार्यालयले एक सय ५५ र केन्द्रीय अनुसन्धान ब्युरोमा ६९ जनालाई पक्राउ गरेको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै, फरारमा कोशी प्रदेश ८४, मधेश प्रदेश एक सय १८, बागमती प्रदेश ९६, गण्डकी प्रदेश दुई सय ३९, लुम्बिनी प्रदेश एक सय ४२, कर्णाली प्रदेश २२, सुदूरपश्चिम प्रदेश ५४, काठमाडौं उपत्यका छ सय ६६ र केन्द्रीय अनुसन्धान ब्युरोले खोजेका एक सय २७ जना छन् । उल्लेखित विवरणहरूले पनि सहकारी ठगीकोे धन्दा र तयसपछि फरार हुने क्रमले संस्थागतरूप पाएको देखाउँछ । त्यसकारण पनि राज्यले यस्तो ठगीलाई सामान्यरूपले लिन हुँदैन । त्यसमा पनि सहकारी ठगीमा पक्राउभन्दा फरार बढी रहेको अवस्था त झनै चिन्ताको विषय हो ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x