Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआयात प्रतिस्थापन नीति कागजमा मात्रै सीमित

आयात प्रतिस्थापन नीति कागजमा मात्रै सीमित


संसद्का पहिलो र दोस्रो ठूला दल मिलेर बनेको सरकारको साझा संकल्प प्रस्ताव अर्थात् यो सरकारले के गर्नेछ भनी किटानी गरिएको नीति र कार्यकममा आयात व्यापारलाई प्रतिस्थापन गर्ने भनी स्पष्ट किटानी गरिएको छ । यो सरकारले संसद्मा प्रस्तुत गर्ने नीति र कार्यक्रम ल्याउन पाएको भए र बजेट पनि आफैँले ल्याएको भए आयात प्रतिस्थापन गर्ने भन्ने यो कुरा अझ विस्तृतमा लेखिने थियो होला । यस प्रकारको आयात व्यापारलाई प्रतिस्स्थापन गर्ने भन्ने कुरा जुनसुकै वर्ष जुनसुकै सरकाले पनि भन्दै आएका छन् ।

अहिले अर्थात् चालू वर्षका लागि जुन नीति र कार्यक्रम तथा बजेट कार्यान्वयनमा छ । त्यो यतिबेला प्रमुख प्रतिपक्षमा रहेको दलको नेतृत्वको सरकारले ल्याएको हो । अहिले ऊ प्रतिपक्षमा रहे पनि आयात व्यापारलाई प्रतिस्थापन गर्ने कुरा सरकारको प्राथमिकतामा नै पर्नुपर्छ भनेर वकालत गरिहेको छ । यसको अर्थ हो उल्लेखित विषय जोसुकैको प्राथमिकतामा पर्ने गरेको कार्यक्रम हो । तर अचम्म के देखिन्छ भने यो आयात व्यापारलाई प्रतिस्थापन गर्ने भन्ने कुरा कागजमा लेखिएकोबाहेक कार्यान्वयनमा कहिल्यै आएको पाइएन ।

पछिल्लो सरकारको आयु दुई महिना बढी भएको छ । जुनबेला यसले यस्तो संकल्प ल्यायो त्यही बेला यता व्यापार घाटा भने विगतको भन्दा झनै घटेको देखियो । गएको भदौ महिनाको मात्रै आयातनिर्यात व्यापारको अवस्था हेरियो भने यसमा झनै प्रष्टता आउला । भन्सार विभागले यो हप्ता दिएको व्यापारको अवस्था बारेको जानकारीमा पछिल्ला महिना निर्यातको तुलनामा आयात झण्डै ११ गुणा बढी भएको देखियो । आयातमा कच्चा पदार्थहरूको वृद्धि हो भने त्यसलाई सकारात्मक मान्नुपर्छ तर आयातित वस्तुहरूमध्ये विलासीका सामान बढी छन् । यो क्षेत्रमा चालू आर्थिक वर्षको प्रारम्भ नै घाटा व्यापारबाट भयो । वितेको दुई महिनामा मात्रै दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँको आयात भएको छ भने २५ अर्ब नौ करोड ३१ लाख रुपैयाँको निर्यात भएको छ ।

अघिल्लो वर्षको तुलनामा आयात एक प्रतिशतले बढेको छ । तर निर्यात पाँच प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा आयात दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ र निर्यात २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ थियो । यसको अर्थ हो व्यापार घाटाका सन्दर्भमा देश जहाँको त्यहीँभन्दा पनि अझ खस्किँदै गएको छ । यो संकेत राम्रो होइन । दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ आयात भएको ठाउँमा २५ अर्ब नौ करोड ३१ लाख रुपैयाँ निर्यात हुनुभनेको निर्यातको अवस्था करिबकरिब शून्य नै रहेको भने पनि हुन्छ ।

पछिल्ला समय निर्यात बढाउन विभिन्न प्रयासहरू भइरहेको देखिन्छन् । तर दशकअघि थालिएका अभ्यासहरू पनि प्रभावकारी बन्न सकेका देखिएन । सरकारले देशभित्र उत्पादित वस्तुको निर्यात बढाउन ‘वाणिज्य नीति, २०७२’, ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ र ‘नेपाल व्यापार एकीकृत रणनीति, २०८०’ निर्माण गरेको छ । देशभित्र उत्पादित वस्तुको निर्यात बढाउन नीति आएयता मात्रै सात वटा सरकार बने । अहिले त्यसबेला यस्तो नीति ल्याउने व्यक्ति नै प्रधानमन्त्री छन् ।

उनको प्रधानमन्त्रीत्व चौथो पटक हो । तर यता व्यापारको अवस्था भने झन्झन् चौपट हुँदै गएको भन्ने उल्लेखित विवरण आफैँ उदाहरण हुनुपर्छ । देशभित्रका उत्पादनको निर्यात बढ्न नसक्नु कि उत्पादन नै घटिरहेको छ कि अरू कारणले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकेको छैन । यस्तो बेला सरकारले आयातित व्यापार प्रतिस्थापन गर्ने भनी ल्याएका प्रतिबद्धताहरू कागजमा मात्र सीमित रहेको भनिँदा अत्युक्ति नहोला ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x