Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी लगानीकर्ताले लाभांशबापत लगे २७ अर्ब

विदेशी लगानीकर्ताले लाभांशबापत लगे २७ अर्ब


नेपालमा गरिएकोे लगानीबाट दुई वर्षमा विदेशी लगानीकर्ताले २७ अर्ब रुपैयाँभन्दा बढी प्रतिफल लगेका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार २०७९ साउनदेखि २०८१ असोजसम्म (२६ महिना)मा विदेशी लगानीकर्ताले २७ अर्ब २८ करोड ४८ लाख रुपैयाँ लाभांश लगेका हुन् । आर्थिक वर्ष २०७९÷८० मा १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ र बाँकी अवधिमा १० अर्ब ५१ करोड ५५ लाख रुपैयाँ लाभांशबापतको प्रतिफल बाहिरिएको छ ।

विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले लगानीको प्रतिफलस्वरूप विदेशी लगानीकर्ताले लाभांश लैजाने गरेको बताए । विदेशी लगानीकर्ताहरूले साना, मझौला र ठूला उद्योगहरूमा लगानी गरेबापत लाभांश लगेका उनले बताए । लाभांश विदेशी लगानीकर्ताले नेपालबाट लगेका हुन् । उनीहरूले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखाङ्कन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ । त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्रीदरको औसत)लाई लिई उक्त रकम मूल्याङ्कन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । यता लगानी प्रतिबद्धता जनाउनेमा भने चीन, भारत, हङकङ, अमेरिका, बेलायतलगायतका दर्जनबढी मुलुक छन् । विभागले वैदेशिक लगानीबापत चालू आर्थिक वर्षको भदौसम्म ३५ करोड १४ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ६० करोड ६१ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो । यसैबीच विभागले प्रत्येक महिना करिब दुई करोड रुपैयाँदेखि करिब ६० करोड रुपैयाँबरारबर राजस्व सङ्कलन गर्दै आएको छ । विभागले लाभांश वितरण राजस्व सङ्कलनका साथै उद्योगको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) लगायतका कामहरू गरेको छ ।

निर्देशक धामीले समीक्षा अवधिमा विदेशी लगानीकर्ताले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको बताए । उनले चालू आर्थिक वर्ष भदौसम्म १६ वटा उद्योगको लागि ५९ करोड ६२ लाख ६२ हजार रुपैयाँबराबरको सेयर खरिद सम्झौता र साझेदारी सदस्यता सम्झौता गरेका छन् । भदौमा मात्र सातवटा उद्योगका लागि २८ करोड ४२ लाख ५० हजार रुपैयाँबराबरको एसपीए र एसएसए सम्झौता गरिएको छ । चालू आर्थिक वर्षको भदौसम्म आठवटा र जेठमा मात्र सातवटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ । यसैबीच नेपालमा लगानी गरी सकेपछि लगानी अर्थात् नाफा लैजान सहज भएकै कारण विदेशी लगानीकर्ताहरूले लाभांश लैजाने गरेको विभागले जनाएको छ । विदेशी लगानीकर्ताहरूले लगानी ल्याउने तथा लाभांश लैजानको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सहजीकरण गरेको छ ।

ऐनअनुरूप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिसकेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी कर चुक्ता गरी आफ्नो लगानी तथा मुनाफा लैजान सक्नेछन् । उनीहरूले लगानी गरेको सोही विदेशी मुद्र्रा वा अन्य परिवत्र्य विदेशी मुद्रामा कर चुक्ता गरी राष्ट्र बैंकको स्वीकृति लिई लाभांश लैजान सक्ने निर्देशक धामीले बताए । लाभांश लैजान भने राष्ट्र बैंकमा लेखाङ्कन गर्नु अनिवार्य छ । त्यस्तै, विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x