Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयडेङ्गुको महामारी कोरोनाजस्तो नहोस्

डेङ्गुको महामारी कोरोनाजस्तो नहोस्


डेङ्गुको महामारी यतिबेला देशव्यापी भइसकेको छ । यसको संक्रमण हुम्लाबाहेक सबैतिर पुगिसकेको सरकारी रिपोर्टले बताइरहेका छन् । विज्ञहरूका अनुसार चाडबाडको मुखमा व्यक्तिहरू थलापर्ने जोखिम बढिरहेको छ । चाडबाडका लागि मानिसहरूको आवतजावत सुरु नहुँदै मुलुकभर १२ हजार छ सय ४४ जनामा डेङ्गु संक्रमण पुुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ ।

केही पहिलेसम्म केही जिल्लामा मात्र सीमित रहेको यो संक्रमण अहिले यसरी विस्तारित भएको देखियो त्यो आफैमा एउटा ठूलो खतराको घण्टी हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ताकै अनुसार यस वर्ष हुम्लाबाहेक ७६ वटै जिल्लामा डेङ्गु संक्रमण फैलिएको छ । संक्रमितमध्ये छ जनाको मृत्यु भइसकेको छ । विज्ञहरूले बताएअनुसार एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ । एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब पाँच सयदेखि एक हजार वटासम्म अण्डा पार्ने गर्छ । संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित हुन्छन्, यसको अण्डा पानीविना पनि महिनौँसम्म जीवित रहन सक्छन् ।

हरेक अण्डाबाट नयाँ जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेङ्गुको विषाणु बोकेको हुन्छ ।उल्लेखित प्रकारको संक्रमणले निश्चय नै ठूलो जोखिमको सन्देश दिन्छ । लामखुट्टे नभएको क्षेत्र विरलै मात्र हुन्छ । कतिपय समाचार विवरणहरूले हिमाली जिल्लामा पनि यसको प्रवेश भइसकेको छ । तर यता यसबाट अपनाउनुपर्ने सतर्कताका बारे भने सरकारले कुनै चासो दिएको देखिँदैन । केह् िवर्षअघि मात्र खेलाँची गर्दागर्दै कोरोनाको संक्रमणबाट १२ हजार भन्दाबढी मान्छे मरिएका थिए ।

त्यसबेला खासगरी प्रधानमन्त्री आफैँ कोरोना केही होइन, खाकखुक गरेर हटाउन पचाउन सकिन्छ । धेरै भए बेसारपानी र अम्बाको पात उमालेर खाँदा हुन्छ भन्ने प्रचारमा लागेका थिए । त्यसबेला कोरोनाको परीक्षण नै संसारभर महँगो थियो । कतिसम्म भने सरकारी अस्पतालमा समेत निःशुल्क उपचार दिन नसकिने भनेर सरकारले नै घोषणा गरेका विवरणहरू अहिले पनि धेरैका सम्झनामा ताजै होलान् । देशको कार्यकारी प्रमुखले नै केही होइन, खाकखुक गरेर पन्छाउन सकिन्छ भनेपछि अरू निकायले पनि निच मार्ने अवस्था आएको हुनुपर्छ । त्यो संक्रमणसँग जुध्न खरिद गरिएका औषधि उपकरणमा भएको भ्रष्टाचार अहिलेसम्म नै उदाहरणीय छ ।

यतिधेरै संख्यामा मान्छे मारिएको प्रकोपमा कसैले कमाउने अवसर देखे । त्यसलाई उच्चतहबाट नै संरक्षण प्राप्त भयो । प्रकोपमा पनि कमाउन लागेकाहरूमाथि कारबाही नहुनु आफैँमा संवेदनहीनताको नमुना थियो । यो विवरण यहाँ उल्लेख हुनुको कारण अब त्यस्तो नहोस् भन्ने नै हो ।

सरकारले डेङ्गु रोकथामका मारे जे गरिरहेको छ त्यसको सन्देश आम तहसम्म पुग्न नै सकेको छैन । पहिलो त यसको परीक्षणलाई नै सुगम बनाउन सकिएको छैन । पाँच सयमा हुने परीक्षणलाई पच्चीस सयसम्म लिइएका समाचारहरू आइरहेका छन् । परीक्षणले आधाजति संक्रमणलाई नियन्त्रण गर्ने मान्यता छ । परीक्षणमा संक्रमण देखियो भने कुनै पनि परिवार आफैँ सतर्क हुन्छ । त्यसकारण परीक्षणलाई सुलभ बनाउन भनिएको हुनुपर्छ । अर्कोतर्फ नियन्त्रण गर्ने शैली पनि ठीक नभएको बुझाइ छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं जनस्वास्थ्य विज्ञका अनुसार–डेङ्गु संक्रमण पोस्ट मनसुनमा बढी देखिन्छ, त्यसैले लामखुट्टेको खोज र नष्ट अभियानको निश्चित समयतालिका बनाउनुपर्छ । तर यो अभियान न प्रिमनसुन, न त पोस्ट मनसुनमा नै हुन सक्यो । यसले गर्दा डेङ्गु नियन्त्रण अभियान प्रभावकारी हुन सकेन । हरेक वर्ष श्राद्ध गरेझैं लामखुट्टे मार्ने अभियान सञ्चालन भइरहेको छ । यस्तो चालले संक्रमण नियन्त्रण हँुदैन । ७६ जिल्लामा पुगिसकेको संक्रमण सामान्य होइन । सरकारले बुझोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x