Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुस्तामा एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल

सुस्तामा एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्तामा एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । सुस्ता गाउँपालिका–५ नारायणी नदीमा २० करोड ९३ लाख रुपैयाँमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो ।

भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ । पुल बन्नुअघि स्थानीयवासी भारतीय भूमि भएर तथा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । सो पुल २०७२ सालमा निर्माण सम्झौता भएर निर्माण सुरु भएको थियो । सम्झौता भएको आठ वर्षपछि पुल निर्माण कार्य सम्पन्न भएको हो । झोलुङ्गे पुल बनेसँगै नवलपरासीको सुस्ताबस्तीमा विद्युत् पनि पुगेको छ । यसअघि नारायणी नदीका कारण बिजुलीका खम्बा राख्ने समस्याका कारण त्यहाँ विद्युत् पुग्न सकेको थिएन ।

सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजनद्वारा निर्मित सो झोलुङ्गे पुलको बिहीबार एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । सो क्रार्यक्रममा राष्ट्रपति पौडेलले सुस्तावासीले आफ्नो दैनिक जीवनयापनका लागि डुङ्गाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अब अन्त्य भएको बताए । झोलुङ्गे पुल निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उनले बताए । राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्बीको पवित्र तपोभूमिका रूपमा रहेको त्रिवेणीधाम नजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटक समेतलाई आकर्षित गर्ने सम्भावना बोकेको बताए ।

साथै, कार्यक्रममा राष्ट्रपति पौडेलले सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिको शुभारम्भ समेत गरेका थिए । नेपाल विद्युत् प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्मित सौर्य मिनी ग्रिड प्रणालीलाई आबद्धगरी एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नारायणी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सुस्तावासीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए । ‘झोलुङ्गे पुलको अभावमा राज्यले प्रदान गर्ने सेवा सुविधा लिन जोखिमपूर्ण यात्रा गर्नुपर्ने, लामो समय लाग्ने, निम्न माध्यमिक तहभन्दा माथिल्लो शिक्षाको लागि नारायणी नदीको दायाँ किनारातर्फ वा सदरमुकामतर्फका अन्य स्थानमा डेरा गरी बस्नुपर्ने बाध्यता रहेकोमा पुलको निर्माणले त्यस्ता समस्याको समाधान गरेको छ,’ उनले भने, ‘स्वास्थ्य सुविधाबाट बञ्चित हुनुपर्ने अवस्थाको समेत अन्त्य भएको छ ।’ सुस्ता क्षेत्रमा उत्पादन हुने उखु, केरा तथा अन्य कृषि उपजले सहज बजार पाउने अवस्थाको सिर्जना भएको पनि सिंहको भनाइ छ । झोलुङ्गे पुलको प्रयोग गरी विद्युतीय लाइन समेत निर्माण गर्न सम्भव भएको उनले बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता क्षेत्रका किसान अहिले पनि लालपुर्जाविहीन भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनीहरूलाई छिटो लालपुर्जा वितरणको लागि उनले सरकारसँग आग्रह गरे । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्ता क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरे ।

कार्यक्रममा उनले सुस्ता क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विस्तार सम्पन्न हुनुले सरकारले राखेको शतप्रतिशत विद्युतीकरणको लक्ष्यलाई सहयोग पुग्ने बताए । सुस्ता क्षेत्रमा लामो समयदेखि साना सौर्य ऊर्जा प्रणालीबाट सीमित मात्रामा विद्युत् सेवा उपलब्ध थियो । सुस्तामा गण्डक सबस्टेसनबाट पाँच किलोमिटर प्रसारण लाइन विस्तार गरी झोलुङ्गे पुल पार गर्दै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडिएको छ । नेपाल सरकार, सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो कार्यक्रम आयोजना गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x