Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखुल्यो श्रम स्वीकृति

खुल्यो श्रम स्वीकृति


प्रवीण राउत
काठमाडौं, असार १९
सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरुको लागि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा जान चाहने युवाहरुको लागि श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको थियो । सोसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाले बिहीबार वैदेशिक रोजगार विभागलाई परिपत्र गर्दै मुलुकभरका सम्बन्धित सम्पूर्ण श्रम कार्यालयबाट श्रम स्वीकृति प्रदान गर्न निर्देशन दिएको छ ।

शाखा अधिकृत जमुना काफ्लेले गरेको परिपत्रमा फागुन २९ गते बसेको नोवल कोरोनाभाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णयबमोजिम श्रम स्वीकृति दिने कार्य स्थगित रहेकोमा गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा जाने युवाहरुको लागि श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको हुँदा सो निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

मन्त्रिपरिषद्ले विदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड १९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने तथा पूर्वको करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको समेत म्यादथप भएका व्यक्तिले आवश्यक कागजातहरुसहित निवेदन दिएमा कोभिड १९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल समेतको आधारमा पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । सोसँगै वैदेशिक रोजगारीमा गई विदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका, करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको म्यादथप भएका युवाहरु कोभिड १९ को स्वास्थ्य प्रोटोकल समेतको आधारमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जान सक्नेछन् ।

मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले विदेशमा काम गर्न जान खोजिरहेका युवाहरुलाई अब सहज भएको बताए । ‘करार अवधि बाँकी भएका, भिसाको म्यादथप भएका तथा स्वेच्छाले जान चाहने युवाहरु जान सक्छन्’, उनले भने, ‘यसको लागि विदेशस्थित सम्बन्धित नियोगहरुमा जानकारी राखी आफू जाने मुलुकका अवस्थाको बारेमा बुझेर जान आग्रह गरे  । युवाहरुले रोजगारदाता वा कम्पनीको धारणा बुझ्नु समेत आवश्यक छ ।

कोभिड १९ का प्रभावस्वरुप सरकारले यसअघि श्रम स्वीकृति स्थगन तथा अन्तर्राष्ट्रिय उडान समेत बन्द हुँदा युवाहरु वैदेशिक रोजगारीमा जान सम्भव थिएन । यसैबीच प्रवक्ता घिमिरले चार्टर्ड उडान भइरहेका मुलुकहरुमा जान सकिने बताए । ‘चार्टर्ड विमानहरुबाट विदेशमा अलपत्र नागरिकहरु ल्याउने क्रम जारी रहेको छ’, उनले भने, ‘सो विमान सम्बन्धित देशमा फर्किँदा नेपालमा रहेका युवाहरु जान सक्नेछन् । हाल उडान भइरहेका मुलुकहरु नै गन्तव्य मुलुकहरु भएको हुँदा युवाहरु जान सक्नेछन् ।’

थप उडान आवश्यक परेको खण्डमा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहयोग गर्नुपर्ने बताउँदै उनले नयाँ श्रम स्वीकृति खोल्ने विषय भने हाललाई अन्योल नै रहेको बताए । वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुराना गरी फागुनमा ४९ हजार चार सय ५० जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । जसमध्ये ४५ हजार चार सय ६८ जना पुरुष र तीन हजार नौ सय ८२ जना महिला रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x