Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअविरल वर्षाका कारण देशभरका राजमार्गमा ठूलो क्षति

अविरल वर्षाका कारण देशभरका राजमार्गमा ठूलो क्षति


काठमाडौँ । शुक्रबार बिहानैदेखि भएको अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभरका राजमार्गमा ठूलो क्षति पुगेको छ । बाढीपहिरोका कारण सडक, पुल बगाउँदा यातयात पूर्णरूपमा अवरुद्ध भएका छन् भने यात्रुहरू बाटोमा नै अलपत्र परेका छन् ।

सडक विभागका अनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् । २३ वटा सडकका ६३ स्थानमा अवरुद्ध भएको विभागले जनाएको छ । यस्तै, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएको विभागले जनाएको छ । सडक अवरुद्ध भएकाले विभागले क्षतिको बारेमा पूरा जानकारी समेत लिन नसकेको विभागले जनाएको छ । विद्युत् तथा इन्टरनेट सम्पर्कविच्छेद हुँदा पनि सबै विवरण संकलन गर्न ग्राहकको भएको विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए । उनका अनुसार पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगाएको छ । यस्तै, अरनिको राजमार्गको लार्चा भन्ने स्थानको बेलिब्रिज र बीपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बगाएको छ ।

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको छ भने बीपी राजमार्गमा नेपालथोकभन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको छ । धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेको विभागले जनाएको छ । सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ । सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ । धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो ।

अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्णविच्छेद भएको छ ।

त्यसैगरी, कालीगण्डकी कोरिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत गुल्मीको राक्स्या र बरल्ला क्षेत्रमा पनि पहिरो खसेको छ । राप्ती राजमार्गअन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध छ । पुष्पलाल (मध्यपहाडी राजमार्ग)अन्तर्गत ओखलढुङ्गाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ भने भेडेटार–रवि–राँके सडकअन्तर्गत पाँचथर जिल्लामा सडक अवरुद्ध छ ।

सडक डिभिजन नुवाकोटअन्तर्गत ठोरी–भण्ठारा–मलेखु–गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डअन्तर्गत घादिङको भुट्टार क्षेत्रमा तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी खण्डअन्तर्गत नुवाकोटको ३५ किलो र ताँदी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ । भेरी कोरिडोरअन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–तिन्जे–मरिम सडकखण्डमा पश्चिम रुकुमको त्रिवेणी भन्ने स्थानमा सडकमा पहिरो खसेको छ । यो सडकखण्डअन्तर्गत जाजरकोट जिल्लाको नमुना बस्ती क्षेत्रमा पनि बाढी र पहिरोका कारण समस्या देखिएको विभागले जनाएको छ ।

मेची राजमार्गअन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम–गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला खण्डमा पाँचथरको फिदिम नजिकै पहिरोका कारण सडक अवरुद्ध भएको छ । त्यस्तै, माडर–चौराहवा–गोलबजार–सिरहा–साँघुरे–उदयपुर–मिचैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा सल्लेरी सडकखण्ड प्रभावित बनेको छ । मिर्चैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा–सल्लेरी सडकमा पनि सवारीसाधन सञ्चालन हुने सकेका छैनन् । सहिद मार्गअन्तर्गत कोइलाबास–लमही–अर्जुनखोला–घोराही–घर्तीगाउँ–थवाङ–लुकुम खण्ड, रोल्पाको घर्तीगाउँ र दुई खोली खण्डको गरगरे भन्ने ठाउँमा पहिरो गएको छ । यो राजमार्गमा रोल्पाको होलेरी र दारबोट खण्डमा पनि अवरोध सिर्जना भएको छ । अर्घाखाँचीको लौलिहवा–गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत नरपानी–खुम्ती–सन्धिखर्कमा पहिरो गएको सडक विभागले जनाएको छ ।

त्यसैगरी, पुष्पलाल राजमार्गअन्तर्गत खोटाङको खोक्सेली तथा चिसापानी, सिन्धुलीको रिठ्ठाबोट, फिक्कल, ट्याँउ खोला र कुखुरेटार, हर्जेनी, बलेनी, सालघारीलगायत क्षेत्रमा बाढी र डुबानको समस्या देखिएको छ । तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने बाटोमा तथा रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत खण्डअन्तर्गत दाङको मुर्कुटी भन्ने स्टानमा सडक पूर्णरूपमा अवरुद्ध छ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको ताल डाँडा क्षेत्रमा पनि यातायात सञ्चालनमा समस्या भएको छ । कान्ती राजपथअन्तर्गत हेटौँडा–बागमती–टीकाभैरव–भैँसेपाटी–एकान्तकुना सडकखण्ड पनि अवरुद्ध छ । यो राजमार्गको आँपचौर भन्ने स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार खण्डअन्तर्गत ललितपुरको लाँकुरीभञ्ज्याङस्थित मानेदोभान क्षेत्रमा बाढी र पहिरोका कारण समस्या सिर्जना भएको छ । दक्षिणकाली नगरपालिका–८ को सिस्नेरी सडकखण्ड, कीर्तिपुर नगरपालिका–६ को बल्खु फर्पिङ र वडा नं १० को त्रिभुवन विश्वविद्यालय सेवा आयोग अगाडि पहिरो खसेका छ । गोदावरी नगरपालिका–६ को लेले टीकाभैरव जाने बाटोमा पहिरो खसेको छ ।

नदीमा पुल बगाएको र ठूलो पहिरो खसेको स्थानमा बाहेक अन्य स्थानहरूमा अवरोध हटाउने गरी विभागको टोली परिचालन गरिएको विभागले जनाएको छ । बाटो र पुल बगाएको स्थानमा बाहेक ठूलो पहिरो नभएका ठाउँमा बढीमा दुई घण्टाभित्रमा सडक खुलाउन सक्नेगरी तयारी गरिएको विभागका सम्भार महाशाखा प्रमुख अर्यालले बताए । अधिकांश स्थानमा लेदोसहितको बाढीपहिरो आउने जोखिम रहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा केही समस्या भएको जनाईएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x