Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयवैदेशिक रोजगारीमा जानेका संख्या झन् बढदो

वैदेशिक रोजगारीमा जानेका संख्या झन् बढदो


काठमाडौं । देशले भर्खर मात्रै धुमधामसँग दशौँ संविधान दिवस मनायो । २०८२ असोज ३ मा जारी भएको गणतान्त्रिक सविधानमा आमनागरिकको रोजगारीलाई मौलिक हकमा समावेश गरेको छ । तर धुमधामसँग दशौँ संविधान दिवस मनाइरहँदा अघिल्लो महिना मात्रै ५७ हजार चार सय ९३ जना नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको विवरण हालै वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको थियो । जसमा चाडपर्वकै मुखमा यो संख्या रोजगारीका लागि विदेशिएको पाइएको हो । यो महिना जनतामा उब्जिएको निराशा चिर्ने भनेर प्रतिबद्धता जनाएको सरकारको आयु दोस्रो महिना पुग्दै थियो । एउटा सरकारी निकायले विदेशमा जानेहरूको यस्तो संख्या बताइरहँदा यता प्रधानमन्त्री भने विदेश भ्रमणमा थिए र उनले त्यही अर्थात् अमेरिकामा रहेका नेपालीहरूलाई स्वदेश फर्किएर देश बनाउन आह्वान गरिहेका थिए । देशका युवा जनशक्ति यसरी बाहिर गइरहेको भन्ने पछिल्लो यो विवरण आउँदाका बखत प्रधानमन्त्री चौथोपटक बहाल भएका थिए । बितेका यो नौ वर्षमा उनीअघिका दुईजना प्रधानमन्त्रीले आलोपालो गरेर दुई/दुई पटक प्रधानमन्त्री सम्हालिसकेका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा मात्रै ५७ हजार चार सय ९३ जना नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिए । त्यसमा ३९ हजार पाँच सय ५७ जना नयाँ श्रम स्वीकृति लिने हुन् । यसले प्रत्येक महिना रोजगारी खोज्नेहरूको संख्या महिनामा नै आधा लाख रहेको बुझाउँछ । पुरानाभन्दा नयाँको संख्या बढी हुनु भनेको गएकाहरू फर्किएर आउने भन्दा जानेहरूको संख्या धेरै ठूलो हुने गरेको भन्ने बुझाउँछ । यसमा अझ चिन्ताको विषय के हो भने यसरी वैदेशिक रोजगारीमा जानेहरूको संख्या प्रत्येक पछिल्लो वर्ष बढिरहेको अवस्था देखिन्छ । यहाँ उल्लेख भएको यो संख्या गत आवको भदौ महिनाको तुलनामा १३ प्रतिशतले बढी हो । गएको आर्थिक वर्षको यही भदौमा ५० हजार आठ सय ८४ जनाले वैदेशिक रोजगारको स्वीकृति लिएका थिए । त्यसमा पनि ३५ हजार तीन सय तीन जना नयाँ थिए । पछिल्लो वर्षको भदौमा १८ हजार छ सय पाँच जनाले युएईका लागि श्रम स्वीकृति लिएको देखियो भने दोस्रो स्थानमा कतार जान श्रम स्वीकृति लिने नेपालीको संख्या ११ हजार दुई सय ९१ जना रहेका छन् । विवरणले बताएअनुसार तेस्रो स्थानमा साउदी अरब रहेको देखियो । यी सबै खाडी प्रदेश हुन् जहाँ यो महिना अत्यधिक गर्मी हुने गर्छ । तर पनि जानेहरूको संख्या घटेन ।

विभागको तथ्याङ्कअनुसार चालू आवको पहिलो दुई महिना साउन भदौमा मात्र एक लाख १७ हजार ६८ जना नेपालीले वैदेशिक रोजगारीको स्वीकृति लिएको पाइएको छ । त्यसमा पनि ७६ हजार चार सय ८५ जना छन् । गत आवको पहिलो दुई महिनामा एक लाख छ हजार चार सय ५९ जनाले वैदशिक रोजगारीको स्वीकृति लिएका थिए । यी दुई महिनाको तुलना गर्दा पनि अघिल्लोभन्दा पछिल्लो वर्ष बढिरहेकै छ । विभाग भन्छ: समीक्षा अवधिमा वैदेशिक रोजगारीको स्वीकृति लिने नेपाली कामदारको संख्या १० प्रतिशतले बढेको देखिन्छ । अघिल्लो वर्ष कुल सात लाख ४१ हजार दुई सय ९७ नेपालीले यस्तो श्रम स्वीकृति लिएका थिए ।

स्वदेशमा रोजगारी सवै दलका घोषणापत्रमा प्राथमिकताका साथ लेखिँदै आउने गरेका छन् । सरकार फेरबदल हुँदा पनि उनले जारी गर्ने साझा संकल्प प्रस्तावमा पनि रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउने भनिएकै हुन्छ । तर संविधान र यस्ता प्रतिबद्धताहरू कार्यान्वयनमा नआएको चित्र भने यस्तो देखियो ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x