काठमाडौं । अविरल वर्षाको कारण असोज १० गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानका घटनाबाट आइतबार साँझसम्म एक सय ७० जनाको मृत्यु भएको छ । यस्तै ४२ जना बेपत्ता भएका छन् भने एक सय ११ जना घाइते भएका छन् ।
गृह मन्त्रालयले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म ककिरब चार हजार विपत् प्रभावितहरूको उद्धार गरिएको जनाएको छ । आइतबार काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुरलगायतका जिल्लाको विभिन्न स्थानमा विपत्का कारण घाइते भएका र अलपत्र परेका एक सय ६२ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको र खाद्यान्नलगायतका आपत्कालीन राहत उपलब्ध गराइएको जनाएकोे छ । सरकारले घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ ।
अवरुद्ध भएका राजमार्गहरू तत्काल सञ्चालनमा ल्याउने कामलाई तीव्रताका साथ अगाडि बढाइएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले जानकारी दिएको छ ।
ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति
सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले हालसम्मको विवरणअनुसार दुई अर्ब ४५ करोड रुपैयाँबराबरको क्षति भएको जानकारी दिए ।
तामाकोशी नदीको कटानका कारण खिम्ती लामोसाँघु प्रसारण लाइनको टावर बगाउँदा दुई सय मेगावाटबराबरको बिजुली प्रणालीमा जोड्न समस्या भएको त्यस अवसरमा जानकारी दिइयो । सोही प्रसारण लाइन भएर काठमाडौंका लागि बिजुली ल्याउनेगरिएको छ । यस्तै दोलखा, रामेछापका विभिन्न आयोजनाको आठ सय मेगावाटबराबरको बिजुली प्रवाह गर्ने टावरसमेत जोखिममा परेका छन् ।
मन्त्री खड्काले क्षति पुगेका आयोजनाको पुनर्निर्माणका लागि तत्काल आवश्यक पहल गरिने जानकारी दिए । ‘पहिलो चरणमा क्षतिको सम्पूर्ण विवरण सङ्कलन गर्ने, पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई विशेष ध्यान दिइनेछ । यसका लागि सरकारका सबै संयन्त्र परिचालन गर्नेछौँ’, उनले भने ।
यस्तै, प्रसारण लाइनतर्फ काबेली करिडोरअन्तर्गतको दमक गोदक एक सय ३२ केभी प्रसारण लाइन, खिम्ती लामोसाँघु एक सय ३२ केभी, सोलु करिडोरमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकानुसार बाढी पहिरोका कारण माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द भएको छ । सो आयोजनाको बाँधस्थलमा रहेको नियन्त्रण कक्ष भवनमा क्षति पुगेको छ । यस्तै, बालुवा थिग्य्राउने पोखरीलगायतका संरचनामा क्षति पुगी विगत तीन दिनदेखि बन्द रहेको सो आयोजनाको सम्पूर्ण विवरण सङ्कलन गर्नसमेत हालसम्म समस्या रहेको उनले बताए । ‘काबेली करिडोरमा समस्या आउँदा इलाम र पाँचथरमा बिजुली प्रवाहका लागि समस्या भएको छ । झापाबाट वैकल्पिक व्यवस्था गरेर बिजुली उपलब्ध गराउने प्रयास भइरहेकाले आज अबेरसम्म सो कार्य सम्भव हुने विश्वास छ’, कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।
यस्तै, सिँचाइतर्फ एक अर्ब ३५ करोड रुपैयाँबराबरको क्षति पुगेको छ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कफर ड्याम डुबानमा परेको छ । रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएकाले क्षतिको तत्काल अनुमान गर्न गाह्रो भएको जनाइएको छ । कमला, नारायणी सिँचाइ आयोजनालगायतमा क्षति पुगेको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाका १० वटा शाखा नहरमा सामान्य क्षति हुँदा पाँच करोड रुपैयाँबराबर क्षति भएको अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडीलगायतको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया