Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारविपत्बाट भएको क्षतिको बीमा रकम छिटो भुक्तानी दिन निर्देशन

विपत्बाट भएको क्षतिको बीमा रकम छिटो भुक्तानी दिन निर्देशन


काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बीमादाबीको भुक्तानी छिटो दिन निर्देशन दिएका छन् । हालैको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बीमादाबी भुक्तानी यथासम्भव छिटो गर्न बीमा कम्पनीहरूलाई उनले निर्देशन दिएका हुन् ।

बाढी तथा पहिरोबाट भएको क्षतिको बीमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने सम्बन्धमा आइतबार नेपाल बीमा प्राधिकरणमा आयोजित निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि दाबी भुक्तानी छिटो दिन निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानीसम्बन्धी कागजातहरूमध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिसगायतका कागजातहरू आवश्यक नपर्ने व्यवस्था मिलाइने, अन्य कागजातहरूको सूची समेत छोटो पारिने र बीमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिने जानकारी दिए ।

अध्यक्ष सिलवालले हालको विशेष परिस्थितिमा बीमा दाबी बिस्तारै थपिँदै जानसक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुनसक्नेतर्फ बीमा कम्पनीहरूले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले हालैको बाढी र पहिरोको कारण क्षति भएका जलविद्युत् कम्पनी, गोदाम, पसल, मोटर, मोटरसाइकलसम्बन्धी बीमा दाबीहरू बीमितहरूबाट धमाधम आउन थालेको जानकारी दिए । साथै उनीहरूले हाल विशेष परिस्थिति सिर्जना भएकाले बीमा दाबी प्रक्रियालाई सरलीकरण गर्न, निश्चित दाबी भुक्तानीका लागि न्यून कागजात भए हुने व्यवस्था गर्न र सर्भे प्रतिवेदनलाई छिटोछरितो तुल्याउनका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुंगेल (अधिकारी) र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।


क्याटेगोरी : बीमा बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x