Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयजनजीवनलाई सहज बनाउनु अबको प्राथमिकता

जनजीवनलाई सहज बनाउनु अबको प्राथमिकता


काठमाडौं । असौजको भीषण वर्षाले ठूलो मानवीय र भौतिक क्षति गरायो । केही वर्षअघि मेलम्चीमा यस्तै भएको थियो । तर यस पटक भने पूर्वदेखि पश्चिमम्म नै एकैनासको बाढी पहिरोले विनाश निम्त्यायो । शनिबार एकैदिन मात्र सयभन्दा बढीको ज्यान गयो भने त्यतिकै संख्यामा मानिस बेपत्ता भए । पछिल्ला दिन मौसमको अनुमान मिलिरहेको छ । जस्तो यस पटक लगातार चार दिन भीषणरूपको पानी पर्ने अनुमान सार्वजनिक भएको थियो, त्यो मिल्यो पनि । यो भविष्यवाणीले कतिपय ठाउँमा मानिस सतर्क पनि भए होलान् । कतिपय स्थानीय तहले आफ्नो क्षेत्रमा यी दिन बाली नकाट्न र काटिएको भए भित्र्याइहाल्न सार्वजनिकरूपमा सूचना प्रवाह गरेका दृश्यहरू पनि देखिएका हुन् । तर सरकार भने त्यति सजग भएको पाइएन । बढी क्षति भएको यो दिन आकाशमा हवाई उद्धारका लागि हेलिकप्टर उडेका पनि देखिएनन् । वर्षाले पनि त्यस्तो उडानमा व्यावधान पारेको होला तर पनि यस्तो अवस्थामा कसरी उद्धार गर्ने भन्ने पूर्वतयारीको अभाव भने खड्कियो । दश गतेदेखि भीषण पानी परेर १३ गतेदेखि हराउँदै जाने भनिएको थियो । तर सरकारले भने वर्षा घट्दै जाने भनिएको दिनदेखि विद्यालय बिदा दिन प्रस्ताव गर्यो ।

यस्ता चुकेका ठाउँहरू धेरै छन् । केन्द्रीय राजधानीको एउटा घटना पनि उदाहरण हुनुपर्छ । केन्द्रीय मन्त्रीहरूको निवास रहेकै ठाउँमा एउटा परिवार उद्धारका लागि लामो समय प्रतीक्षामा थियो । शनिबार रातिदेखि नै काठमाडौं उपत्यका बाढीको चपेटामा परिसकेको थियो । कोरिडोर र नदी किनारका बस्ती सबै डुबानमा परिसकेका थिए । त्यसमध्येको एउटा ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित नख्खु खोलाको घटना पनि हो । यो खोलाको बाढी किनारमा रहेका टहरोमा पस्यो । त्यसमध्येको एउटा परिवार टिनले छाएको छानोमाथि चढेर उद्धारको याचना गरिरहे । यो परिवारलाई जोगाउन ऊ छिमेकीहरूले पनि हारगुहार गरिरहे । प्रहरीमा खबर पनि भयो । प्रहरी पनि पुग्यो । तर उनीहरूसँग उद्धारका सामान थिएनन् । यता हेर्दाहेर्दै नख्खुको बाढीले टहरो ढाल्न थाल्यो । यी सबैकुरा फेसबुकमा आइरहेका थिए । टहरोको एकतर्फको भाग भत्किएर यो परिवारका सबैलाई बाढीले बगायो । बगेका चारमध्ये स्थानीयले तीन जनाको उद्धार गरे । यता यसै दिन दिउँसो गृहमन्त्रीले पत्रकारलाई जानकारी दिए, नख्खु खोलामा मानिसहरू टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दा पनि बचाउन सकेनौँ । यसप्रति म दुःखी छु । हेलिकोप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटी नहुँदा सकिएन । यसका लागि उनले क्षमा पनि मागे । तर गृहमन्त्रीले बचाउन सकेनौँ भनेकामध्ये तीनजनालाई स्थानीयले नै उद्धार गरेका थिए । त्यो सूचना गृहमन्त्रीसम्म पुग्दै पुगेन ।

यो भीषण वर्षाले पुर्याएको क्षतिको आकलन धेरै ठूलो मात्रामा भएको छ । केन्द्रीय राजधानी जोड्ने सबै बाटा बन्द भएका छन् । प्रायशः राजमार्गबाट जोडिने ठाउँहरूको सम्बन्धविच्छेद भएको छ । पहिरो र डुबानबाट कति मानिस उठीबासमा परेका छन् भन्ने विवरण आउन बाँकी नै छन् । ठूलाठूला पुल बगेका छन् । अबको चुनौती भनेको विस्थापितहरूको छिटो पुनर्स्थापन र एउटा क्षेत्रबाट अर्को क्षेत्रलाई जोड्ने बाटोहरू खुलाउनु पनि हो । यो पटक घरमा थक्याइएका र खेतबारीमै रहेका अन्नहरू नष्ट भएका छन् । दैनिक प्रयोगका सामग्रीको पनि अवस्था त्यस्तै छ । यो पटकको क्षति धेरै ठूलो हो । यस्तो बेला सरकारले विशेष योजना बनाएर मानिसहरूलाई पुरानै अवस्थामा फर्काउने गरी वातावरण बनाइनु आवश्यक देखिन्छ । उद्धारमा चुकेको सरकारको अबको प्राथमिकता जनजीवनलाई सहज बनाउने हुनुपर्छ । सरकारको ध्यान यतापट्टि लागोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x