Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना

पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना


काठमाडौं । नेपालमा सवारीसाधनको सङ्ख्या साढे चार लाखभन्दा बढी पुगिसकेको छ । त्यसैगरी सवारीसाधनको भित्रिने क्रम प्रत्येक वर्ष १० देखि १७ प्रतिशतका दरले वृद्धि भइरहेको छ । यस्तो अवस्थामा सवारीसाधन बढ्दै जाने तर सडकको अवस्था दयनीय रहँदा सवारी दुर्घटनामा बढोत्तरी हुने गर्छ । नेपालमा सडक विस्तारको क्रम तीव्र छ । हाल देशको कुल सडक सञ्जाल करिब ६४ हजार पाँच सय किमी रहेको छ । त्यसमा १३ हजार पाँच सय किमी राजमार्गमा पर्छ । अन्य देशको तुलनामा सडकको घनत्व पनि निकै कम छ । यहाँ १४ किमी प्रतिसय वर्गकिमी (०.९ किमी) रहेको छ ।

दुर्घटनाको यस्तो छ तथ्याङ्क
नेपालको सडक विपद्को दृष्टिले निकै उच्च जोखिममा रहेको छ । सडकको दूरावस्थाले प्रकोपले भन्दा बढी मानिस मरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को तथ्याङ्कअनुसार यहाँ वर्षमा एक लाख मानिसमा १६ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । यहाँ दर्ता भएका एक लाख सवारीसाधनमध्ये वर्षेनि ४५० वटा दुर्घटनामा पर्छन् । नेपाल प्रहरीको २०१९ को तथ्याङ्कअनुसार सन् २०१६ मा १६ हजार वटा सडक दुर्घटना हुँदा दुई हजार ३८४ जनाको मृत्यु हुने गर्दछ भने चार हजार २५० जना शक्ति घाइते र आठ हजार २९० जना सामान्य घाइते भएका थिए । सन् २०१९ मा १३ हजार वटा सडक दुर्घटना भएकामा दुई हजार ७३६ जनाको ज्यान गएको थियो भने १० हजार ७३१ जना सख्त घाइते भएका थिए । सन् २०२० मा सडक दुर्घटनाबाट चार हजार ६६५ जनाको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनको अनुसार जापानको तुलनामा नेपालमा बस, कार, ट्रकको दुर्घटना हुँदा यात्रुको मृत्यु हुने सम्भावना सय गुणाभन्दा बढी रहन्छ । यो सङ्ख्या छिमेकी मुलुक भारतको तुलनामा १० गुणा बढी हो । अन्य देशको तुलनामा दुर्घटनापछि बाँच्ने सम्भावना नेपालमा निकै कम रहेको छ । नेपालमा एक लाख सवारीमा एक हजार ६७७ वटा दुर्घटना हुने गर्छ भने भुटानमा ३०६, भारतमा १००, चीनमा ३६ र जापानमा सातवटा मात्र दुर्घटना हुने गर्छ । सन् २००७/८ अघिसम्म वर्षमा पाँच हजारभन्दा कमै सवारी दुर्घटना हुन्थ्यो भने २०१७/१८ मा आइपुग्दा यो सङ्ख्या दोब्बरले बढेको देखिन्छ । सन् २०२४ मा यो सङ्ख्या झनै बढी रहेको पाइन्छ । नेपालजस्तो सानो मुलुकमा सवारी दुर्घटनाकै कारण यति ठूलो सङ्ख्यामा मानिसको ज्यान गुमाउनु सामान्य विषय हुन सक्दैन । दुर्घटनामा निर्दोष नागरिकले अकालमा मृत्युवरण गर्नुपरेको, कति अपाङ्ग जीवन बाँच्न बाध्य छन्, धनजनको क्षति त्यत्तिकै छ ।

नेपालमा मनसुनको बेला बाढी, पहिरोसँगै सवारी दुर्घटना पनि बढी हुने गरेको छ । मनसुनसँग विपद् प्रत्यक्ष जोडिएको छ । हाम्रो सडकको अवस्था राम्रो छैन । सडकको चौडाइ र निर्माण गर्दा मापदण्डअनुसार छैन । त्यस्तै, धेरैजसो सडकको बनावट निर्माण गर्नुअघि भौगर्भिक अध्ययनअनुसार गरिएको छैन । भौगर्भिक अध्ययनका लागि लाग्ने खर्चलाई हिच्किचाउने गरिन्छ । केही वर्षअघिसम्म सडक बनाउँदा जथाभावी विस्फोट गरी बनाउने गर्दा त्यसले पछिसम्म पनि सडकको दायाँबायाँ पहिरो जाने गर्छ । यसको उदाहरण नारायणगढ–मुग्लिन सडकलाई हेर्न सकिन्छ । यहाँ जति नै खर्च गरेर मर्मत गरिए पनि दिगोरूपमा पहिरो रोकथाम हुन सक्दैन ।

मानिस भौतिक सुविधामुखी भएकाले गर्दा जहाँ कुनै सडकको अपरिहार्यता छैन, त्यहाँ पनि सडक निर्माण गर्ने होड चलेको छ । अहिले स्थानीय तहले निर्माण गरेका ग्रामीण सडक पहिरोको उच्च जोखिममा रहेका छन् । यसो हुनुको मुख्य कारण भौगर्भिक इन्जिनियरिङ अध्ययन नगरी डोजरको ड्राइभरले जथाभावी सडक खन्दा यो समस्या आएको हो । गाउँगाउँमा सडक पुग्नु राम्रो हो तर इन्जिनियरिङ तरिकाले नबनाई गाउँमाथि सडक खन्ने र तल बस्ती रहँदा पहिरो गई घरहरू पुर्ने गरेको छ ।

नेपालको हिमाली क्षेत्र भौगर्भिक हिसाबले निकै कमजोर छ । लामो भिरालो पहाडको फेदमा सडक निर्माण गर्दा पहिरो आउने सम्भावना उच्च रहन्छ । वर्षा धेरै हुने देशहरूमध्ये नेपाल पनि पर्दछ । विगत ५०/६० वर्षको तथ्याङ्कलाई हेर्दा महाभारत शृङ्खलाको उत्तर र दक्षिणमा धेरै पानी परेको पाइन्छ । बङ्गालको खाडीबाट आउने मनसुन महाभारतको दक्षिणमा ठोकिन्छ र त्यहाँ धेरै पानी पर्छ । सन् १९९० मा ४५० मिलिमिटरभन्दा बढी पानी पर्दा यस क्षेत्रमा ठूलो बाढी पहिरो गई निकै नोक्सानी गरेको थियो । यसै वर्षको मनसुनमा चाँदनी दोधारा क्षेत्रमा झन्डै छ सय मिलिमिटर पानी परेको थियो भने अघिल्लो साता काठमाडौं उपत्यकामा दुई सय मिलिमिटरभन्दा बढी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो । मुग्लिन–नारायणगढ, नागढुङ्गा–मुग्लिन र त्यहाँबाट पोखरासम्म भएको भीषण वर्षाका कारण सवारी दुर्घटनाबाट धेरैको ज्यान गएको छ ।

सडक सुरक्षाका लागि सुरुङ मार्ग
मुग्लिन–नारायणघाट सडकको झन्डै ३० किलोमिटर महाभारतमा पर्दछ । यो क्षेत्रमा बर्सेनि पहिरोको कारण धेरै सवारी दुर्घटनाहरू हुने गरेको छ । मर्मतसम्भारका लागि बर्सेनि अर्बौं रुपैयाँ खर्च हुँदा पनि पहिरो रोकथाम हुन सकेको छैन । यो समस्याको दिगो समाधानका लागि दुई–तीन किलोमिटरका दुई–तीनवटा सुरुङ निर्माण गर्नै पर्छ । जापान सरकारले बनाएको बनेपा–बर्दिवास सडक निकै महँगोे सडक हो । यो सडक पनि पहिरोको उच्च जोखिममा रहेकाले ठाउँठाउँमा सुरुङ बनाउनु आवश्यक छ । यस सडकमा कम्तीमा दुईवटा सुरुङ निर्माण गर्न सकिएमा पहिरोको जोखिमबाट बच्न सकिनाका साथै यात्राको समय पनि झन्डै आधा घट्छ । यात्राको समय घट्नु भनेको इन्धनको खपत पनि कम हुनु हो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x