तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प
ढोरपाटन (बागलुङ) । बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन् । वर्षात्का कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका सडक वर्षा नरोकिँदा स्थानीय तहले खुलाउन सकिरहेका छैनन् ।
चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा अधिकांश बस्तीसम्म सडक पुगे पनि हिउँदको समयमा यातायात सञ्चालन हुन्छन्, बर्खाको करिब चार महिना ठप्प हुन्छन् । बर्खामा सबैभन्दा कम तमानखोला गाउँपालिकामा सवारीसाधन सञ्चालन हुने गरेका स्थानीय बताउँछन् ।
तमानखोलामा गाउँपालिकाको केन्द्र बोङ्गा दोभान बजारबाट वडा नं १ को स्याउला, पहिरागाउँ, वडा नं ३ को तमान, ४ को हिले लाम्मेला, वडा नं ५ को खुङ्खानीथास्पुरी र वडा नं ६ को नर्जाखानी, भित्रिवनपात्लेलगायत गाउँमा पुग्ने सडक ठप्प भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले राससलाई जानकारी दिए । जिल्लाका ग्रामीण सडकमा स्थानीय खोलामा पानीको बहाव नघट्दासम्म सञ्चालनमा आउनसक्ने स्थिति नरहेको उनले बताए ।
असोजको अन्तिम सातासम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको सडक खुलाएपछि सवारीसाधन सञ्चालनमा आउने बुढामगरले बताए । “तीन वर्ष अगाडिसम्म बुर्तिबाङ बजारबाट पालिकाको केन्द्र बोङ्गा दोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपर्थ्यो । ढोरपाटन नगरपालिका–४ हुन्द्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेका छन्”, उनले भने ।
अहिले पालिकाको केन्द्रबाट वडा नं २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । वडा नं ३ को तमान गाउँ पुग्नका लागि बुर्तिबाङबाट खुङ्गा हुँदै सिधा यातायात सञ्चालन भए पनि पालिकाको केन्द्रबाट भने हुन सक्दैन । सबैभन्दा टाढाको गाउँ नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँच वटा मोटरेबल पुलको आवश्यकता पर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष बुढामगरले जानकारी दिए ।
उनका अनुसार वडा नं ५ को खुङ्खानी पुग्न तीन, पहिरा पुग्न तीन, स्याउला र हिजा पुग्न एउटा पुल आवश्यक छ । अहिलेसम्म एक स्थानमा पुल बने पनि अरु स्थानमा पुल नबन्दा स्थानीय मर्कामा परेका अध्यक्ष बुढामगरले बताए ।
“तमान खोलामा छरिएर रहेका गाउँ र बस्ती पनि छरिएका छन्, सबैतिर सडकको पहुँच पुगे पनि स्रोतसाधनको अभावले खोलामा पुल बनाउन सकिएको छैन । यहाँ करिब एक दर्जन पुल निर्माण हुनुपर्ने हो, सबै पुल बनाउन पालिकासँग बजेट छैन”, अध्यक्ष बुढामगरले भने, “प्रदेश र केन्द्र सरकारसँग माग गरिरहेका छौँ, बर्खाको करिब तीन महिना गाउँमा गाडी नचल्दा स्थानीयले समस्या भोग्नुपरेको छ ।”
जिल्लाको बडिगाड गाउँपालिकामा यस वर्ष पहिराले सडकमा ठूलो क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । यस वर्षको वर्षाले ग्रामीण सडक भत्किँदा करिब रु. १५ करोडको क्षति भएको उनले बताए ।
पालिकाले बर्खाले बिगारेको सडक मर्मतका लागि ६० लाख विनियोजन गरे पनि उक्त बजेटले केही ठाउँमा मात्रै सडक सञ्चालनमा ल्याउन सकिने अध्यक्ष अधिकारीले बताए । गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँ गाउँ, मालारानी, आरुपाटा, निगल पानी पुग्ने सडक पूर्ण रुपमा ठप्प भएका उनले जानकारी दिए ।
“यो वर्ष बडिगाडमा बाढीपहिरोले सडकमा ठूलो क्षति पुर्याएको छ, चाडवाड नजिक आइरहेका छन् । वर्षा नरोकिँदा सडक मर्मतमा समस्या भइरहेको छ । दुई साता अघि पानी पर्न कम भएपछि अवरुद्ध सडक खुलाउने तयारी गरे पनि अहिले पुनः वर्षा भएर सम्भव भएन्”, अध्यक्ष अधिकारीले भने, “असारको दोस्रो हप्तादेखि बडिगाडका ग्रामीण सडक बन्द छन् । चाडबाड दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिन भएको छ, हामी सडक सञ्चालन गर्न प्रयासरत छौँ ।”
जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । तीन महिनादेखि गाउँमा आउने सडक पूर्ण रुपमा बन्द हुँदा सामान ढुवानी गर्न समस्या भएको तमानखोला गाउँपालिका–६ का पूर्णबहादुर छन्त्यालले बताए । हिउँदको समयमा जसोतसो गाडी सञ्चालन भए पनि बर्खामा ठप्पै हुने बताउँदै दशक अगाडि गाउँमा सडक नपुग्दा पैदल हिँडेरै बजार पुगेर सामान ल्याउने गरेको उनले स्मरण गरे ।
छन्त्यालले भने, “दसैँ आयो, बर्खा नलाग्दै बजारबाट ल्याएको सामान सबै सकिन थाल्यो । पानी निरन्तर परिरहेकाले खोलाको पानी घटेको सम्भावना अझै छैन, बर्खामा स्थानीयले धेरै समस्या भोग्नुपरेको छ ।” सडक मर्मत गरी आवागमन सहज बनाउन उनले सरोकार भएका निकायलाई आग्रह गरे ।
क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया