Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविपद् व्यवस्थापनमा चेम्बरले सघाउने

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत साता आएको बाढीपहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्सअन्तर्गत गठित विपद् व्यवस्थापन परिषद्को बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद् व्यवस्थापनमा सघाउने निर्णय गरेको हो ।

परिषद्का सभापति तथा चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राका अनुसार बैठकले गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिको बैठकबाट भएको निर्णयहरूलाई परिपालना गरी सहयोग गर्ने प्रतिबद्धता जनाउने निर्णय गरेको छ । ‘विपद्को घडीमा उद्धार र राहतका निमित्त निजी क्षेत्रले सरकारसँग हातेमालो गर्दै क्षति न्यूनीकरणमा पनि सहकार्य गर्ने निर्णय भएको छ,’ परिषद्का सभापति मल्होत्राले भने, ‘नेपालीहरूको चाडपर्व पनि नजिकै आएको यो समयमा निजी क्षेत्र थप सक्रिय र जिम्मेवार भएर पीडितहरूको सेवामा लाग्नुपर्ने अवस्था छ ।’ मल्होत्राका अनुसार अविरल वर्षाको कारणबाट राज्यमा भएको भौतिक एवं मानवीय क्षतिको एकीन तथ्याङ्क संकलनसँगै आउँदा दिनमा यस्ता प्रकोपबाट बच्न पूर्वतयारीलगायतका विषयमा पनि सरकारसँग चेम्बरले सहकार्य गर्नेछ ।

परिषद् बैठकमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ललगायत सहभागी थिए । गृह मन्त्रालयबाट गठित विपद् व्यवस्थापन समितिमा नेपाल चेम्बर अफ कमर्स हाल पदेन सदस्यका रूपमा रहेको छ । चेम्बरको परिषद्मा भने सबै क्षेत्रबाट प्रतिनिधित्व रहेको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका पूर्वविशिष्ठ अधिकारीहरूसहित होटेल एवं पार्टी प्यालेस व्यवसायी, औषधि व्यवसायी, शिक्षा तथा खेलकुद, कृषि तथा वन, उपभोक्ता हित, इन्जिनियर एवं विविध क्षेत्रबाट सदस्य मनोनित गरिएको मल्होत्राले जानकारी दिए । परिषद्का सदस्यहरूले राज्यको विपद् घडीमा विपद् व्यवस्थापनमा निजी क्षेत्रबाट सहयोग एवं सद्भाव जनाउने प्रतिबद्धता जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x