Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण

इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण


बेरुत । इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको बताएको छ । सैनिकहरू भने सीमा नजिक लडाकुहरूसँग लडिरहेका छन् र युद्धक विमानहरूले मुलुकभर उनीहरूका गढमा बमबारी गरिरहेका छन् ।

हिजबुल्लाह समूहको प्रभुत्व रहेको लेबनानभरका क्षेत्रहरूमा बमबारीपछि समूहको गढ रहेको दक्षिणी लेबनानका केही भागमा आफ्ना सैनिकहरूले ‘स्थलगत छापामार’ सुरु गरेको इजरायलले यसै साता घोषणा गरेको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बमबारीबाट एक हजारभन्दा बढीको मृत्यु भएको छ र आर्थिक तथा राजनीतिक संकटमा फसेको मुलुकमा लाखौँ मानिसलाई आफ्नो घर छाड्न बाध्य बनाएको छ । गाजामा हमासको अक्टोबर ७ को आक्रमणपछि युद्धरत इजरायलले आफ्नो उत्तरी सीमा सुरक्षित गर्न र गत वर्ष हिजबुल्लाहको आक्रमणले विस्थापित भएका ६० हजारभन्दा बढी मानिसको सुरक्षित फिर्तीको सुनिश्चितता गर्न आफ्नो ध्यान केन्द्रीत गरेको बताएको छ ।

इजरायली सेनाका अनुसार गाजा मोर्चामा तीन महिनाअघिको आक्रमणमा हमासका तीन वरिष्ठ नेता मारिएका थिए । यसमा युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लडाकु आन्दोलन सरकारका प्रमुख रहवी मुस्तहा पनि थिए । इजरायली सेनाले ‘बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयसँग सम्बन्धित लक्ष्यहरूमा’ आक्रमण गरेको बताएको छ ।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीले बेरुतको दक्षिणी उपनगरहमा तीन वटा हवाई आक्रमणको सूचना दिएको छ र हिजबुल्लाह नजिकको स्रोतले लक्ष्य समूहको मिडिया सम्बन्ध कार्यालयमा गरिएको र त्यो भवन खाली गरिएको बताएको छ ।

इजरायलले लेबनानी जनतालाई २० भन्दा बढी गाउँ र नबतियेह सहर खाली गर्न भनेको छ । ‘तपाईंको आफ्नै सुरक्षाका लागि तपाईंले तुरुन्तै आफ्नो घर खाली गर्नुपर्छ र अवाली नदीको उत्तरतर्फ जानुपर्छ, आफ्नो ज्यान बचाउनुहोस्’, इजरायली सेनाका प्रवक्ता अविचाई अफ्चाईले एक्समा भने । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x