वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
काठमाडौं,गत साताको अन्त्यतिर भएको अविरल वर्षा र त्यसले निम्त्याएका बाढी र पहिरोबाट पूर्वी र मध्यनेपालका २१ जिल्ला र ५०,००० मानिस प्रत्यक्ष र नराम्ररी प्रभावित भएको अधिकारीहरूले बताएका छन्। वर्षा हुन छोडेको भए पनि ती स्थानमा विभिन्न रोगको जोखिम रहेको चेतावनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
विस्थापित सयौँ मानिसहरू बस्ने आश्रयस्थलमा खास गरी पानीजन्य रोगको जोखिम रहेको र ती स्थानमा राम्रो व्यवस्थापन हुन नसके विभिन्न रोग फैलिन सक्ने विज्ञहरूले औँल्याएका छन्।
शुक्रवार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले वर्षाको मारमा परेका स्थानीय तहहरूलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।जोखिममा परेका मानिसमध्ये ७,००० दीर्घरोगी भएका र उनीहरूलाई तत्काल नियमित औषधि पुर्याउनुपर्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार प्रभावित जिल्लामा बाढी, पहिरो र डुबानबाट प्रभावित झन्डै १०० स्थानीय निकायमा एकद्वार प्रणालीबाट प्रतिकार्यका गतिविधि अगाडि बढाउन लागिएको छ।
उनले “महामारीको रूप नलेओस्” भन्ने उद्देश्यले खानेपानी शुद्धीकरण, मुहान वा वितरण गर्ने ट्याङ्करहरूको सुरक्षाजस्ता पक्षमा प्राथमिकतापूर्वक काम गर्न लागिएको बताए।
जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले अहिले आश्रयस्थल “स्वस्थ्य र सुरक्षित” राख्नुपर्ने चुनौती देखा परेको बताउँदै त्यसका लागि विपद्मा परेर मरेका जनावरहरूलाई मानिस बस्ने ठाउँनजिकै खुला रहने हुँदा उनीहरूलाई सुरक्षित रूपमा गाड्ने काम अत्यावश्यक रहेको बताए।
“सामान्य कुरा तर ढिलो नगरीकनै गर्नुपर्ने बेला हो यो। स्वच्छ खानेपानीदेखि पर्याप्त अस्थायी शौचालय एवं अस्थायी स्वास्थ्य शिविरसम्म मुख्य आश्रयस्थलहरूमा चाहिन्छ।”कस्ता रोगको जोखिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरसफाइको अभाव र खानेपानीमा हुने प्रदूषणका कारण विभिन्न खालका रोग फैलिने खतरा रहेको चेतावनी दिएको छ।
मन्त्रालयले झाडापखाला, टाइफोइड र हैजाजस्ता रोगले प्रकोपकै स्वरूप लिन सक्ने भन्दै सर्वसाधारणलाई सजग गराएको छ।
“त्यसबाहेक वर्षा वा डुबानपछि खाल्डाखुल्डीमा पानी जम्ने भएकाले लामखुट्टेको वृद्धिविकास हुन सजिलो हुन्छ,” प्रवक्ता डा बुढाथोकी भन्छन्।
“त्यसले गर्दा लामखुट्टे र कीराफट्याङ्ग्राको वृद्धिविकास हुँदा डेङ्गी, औलो, जापानिज इन्सेफ्लाइटिसजस्ता प्रकोपको सम्भावना समेत रहन्छ।”स्वास्थ्यकर्मीहरूले स्क्रब टाइफस र आँखा पाक्ने रोग फैलिने सम्भावना पनि औँल्याएका छन्।
“स्वच्छ पिउने पानीकै अभाव भएका बेला नुवाइधुवाइ र अन्य सरसफाइका लागि समेत पानीको उपलब्ध हुँदैन। त्यसले पनि छालामा हुने रोगको समस्या बढाउँछ,” बुढाथोकीले भने।
“विस्थापित अवस्थामा बस्दा शरीरले पर्याप्त मात्रामा पोषणयुक्त खानेकुरा नपाइरहेको र प्रतिरक्षा प्रणाली कमजोर हुने हुँदा सानै सङ्क्रमणले समेत रोग लगाउने र जटिलता सिर्जना गर्ने डर हुन्छ।”एक दशकअघि विनाशकारी भूकम्प गएपछि जनस्वास्थ्यमा उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न मापदण्ड बनाएको र कार्यान्वयन गरिएको स्मरण गर्दै डा मरासिनीले तदनुरूप विस्थापित मानिसहरूलाई सुरक्षित राखेर छिट्टै घर फर्काउने गरी काम हुनुपर्ने औँल्याए। डा मरासिनी इपिडिमिओलजी तथा सरुवा रोग महाशाखाका पूर्वप्रमुख हुन्।
“अबको एक-डेढ महिनामै जाडोयाम सुरु हुन्छ। त्यस बेला थप जटिलताहरू देखा पर्छन्। त्यसैले शिविरको बसाइ जतिसक्दो कम गराउने गरी उनीहरूकै घर वा स्थायी संरचनामा पठाउने काम यतिखेरको प्राथमिकता हुनुपर्छ,” मरासिनीले भने।
एकैठाउँमा धेरै मानिस बस्दा श्वासप्रश्वाससम्बन्धी र अन्य सरुवा रोगहरू छिटो फैलिने अवस्था रहने स्वास्थ्यकर्मीहरू बताउँछन्।रोकथाम गर्न कस्तो प्रयास हुँदै छ“देशभरि रहेका हाम्रा एक दर्जनजति रणनीतिक भण्डारमा स्वास्थ्य सामग्री र औषधि तयार राख्ने गरी व्यवस्थापन भइसकेको छ,” स्वास्थ्य प्रवक्ता बुढाथोकी भन्छन्।
प्रभावित स्थानीय तहमध्ये प्रतिकार्य सञ्चालन गर्ने कमजोर क्षमता भएकालाई सहयोग आवश्यक पर्दा माग गर्न भनिएको अधिकारीहरू बताउँछन्।
“विशेषज्ञ सेवादेखि स्वास्थ्य सामग्रीसम्मका लागि हामी तयारी अवस्थामा सहयोग गर्ने सक्ने गरी बसेका छौँ,” डा बुढाथोकीले भने।जनस्वास्थ्यविज्ञ डा बाबुराम मरासिनीका अनुसार जोखिमयुक्त वर्गमा पर्ने बालबालिकाका लागि धुलो दूध, महिनावारी हुँदा महिलाहरूका लागि ‘स्यानिटरी प्याड’ अनि पालमा बस्ने मानिसहरूलाई न्यानो पार्न सकिने खालका सुविधाहरू अत्यावश्यक छन्।
“सामूहिक बसाइका क्रममा छिट्टै रोगहरू धेरैतिर फैलने भएकाले बिरामी र अन्य दुवैको स्वास्थ्यका लागि अस्थायी स्वास्थ्य संरचना बनाउन अत्यावश्यक छ।”
पछिल्लो विपद्बाट धेरै प्रभावित बागमती प्रदेशमा प्रदेश सरकारले विभिन्न सेवा तथा उपभोग्य सामग्री उपलब्ध उपलब्ध गराउने गरी शिविरहरू समेत सञ्चालन गरेको बताइएको छ।
“त्यहाँ दीर्घरोगीहरूले गुमाएका दैनिक उपभोग्य औषधिदेखि पानी शुद्धीकरण गर्ने ट्याबलेटसम्म उपलब्ध गराएका छौँ,” स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने।
सडक सञ्जाल अवरुद्ध भएका धेरै ठाउँमा हेलिकप्टरबाट राहत तथा स्वास्थ्य सामग्री पठाउने एवं अनलाइनबाटै प्रभावित क्षेत्रमा उपलब्ध स्वास्थ्यकर्मीलाई सघाउने काम भइरहेको बताइएको छ।
(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया