Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बास भयो, न खाने गाँस’

बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बास भयो, न खाने गाँस’


काठमाडौं । पाँच जनाको परिवार खुसी थियो । दशैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दशैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्यो । बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउँथे । पहिरोले बुढेसकालको साहारा लुट्यो । घर माथिबाट झरेको पहिरोले घर थिच्यो । घरले विनय कोइरालालाई किच्यो ।

बचाऊ ! बचाऊ ! भनेर छोरोले हारगुहार गरेको आवाज बोधकुमार कोइराला र बिन्दा कार्कीको कानमा अहिले पनि तरङ्गिरहन्छ । हाँसिरहने छोरो आँखा अगाडि छाया बनेर नाचिरहन्छ । छायामा छोरोलाई छुन खोज्दा पाउँदैनन् । झर्छन् आँशु, भक्कानो फुट्छ । यो कथा मात्रै होइन, वास्तविक यथार्थ हो, सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकका कोइराला परिवारको । यतिबेला यो परिवार शोकमा डुबेका छ । ‘माथ्लो घरले लगाएको पर्खाल खसेर मेरो घर डल्यो, घरले थिचेर छोरोको ज्यान गयो’, आमा बिन्दाले भक्कानिँदै दुःखेसो गर्नुभयो, ‘हामीले तत्काल निकाल्न सकेनौँ । प्रहरीले २४ घण्टापछि निकाल्दा शरीर गन्हाउन थालिसकेको थियो ।’

बिन्दा र बोधकुमारका दुई छोरा थिए । जेठो सन्तान १२ वर्षीय विनयको १२ असोजमा पहिरोका कारण मृत्यु भयो । ज्वालादेवी सेकेन्डरी स्कुलमा कक्षा ६ मा पढ्दै गरेका विनय बितेपछि बिन्दा र बोधकुमारका काखमा कान्छो सन्तान विजय छन् । दुवैको काँधमा १० वर्षे विजयको पढाई र कपाल सेतै फूलेकी आमाको पालनपोषणको जिम्मेवारी छ । साढे तीन रोपनीमा लगाएको धान थन्क्याउने बेला भएको थियो । बाढीले सबै धानबाली सखाप बनाएको छ । गाईसहित गोठमा भएका पशुवस्तु पुरिए । दुई आनामा ढुङ्गामाटोले बनाएको घरगोठसहितको जग्गा पहिरोले प्रयोग नै गर्न नमिल्ने गराएको छ । यतिबेला यो परिवारको न बस्ने बाँसको ठेगान छ, न छ खाने गाँसको ।

‘एउटा छोरो दैवले लगे पनि चार जना बाँचेका छौँ । खान त बनिबुतो गरेर खाउँला । बस्ने बासको व्यवस्था गरिदिएहुन्थ्यो’, बोधकुमारले भन्नुभयो । बाढी, पहिरोले घरगोठ रित्याएर विस्थापित भएका कोइराला परिवार हाल एक स्थानीयकै घरमा आश्रय लिएर बसेका छन् । यही असोज १० र ११ गते परेको मुसलधारे वर्षाका कारण आएको बाढी, पहिरोमा परेर जिल्लामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार एक जनाको बाढीमा र दुई जनाको पहिरोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा कमलामाई नगरपालिका–९ भिमानका ४६ वर्षीय कृष्णबहादुर बोगटी, सुनकोसी गाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइराला र सुनकोसी–२ गोख्रेनीका ४५ वर्षीय गणेश गुर्मछाने छन् ।

सुनकोसी गाउँपालिका–२ रम्तेल टोलीकी सीता सार्कीको यतिबेला रुवाबासी छ । वडा सदस्य समेत रहेकी सीताको टोल नै पहिरोको जोखिममा छ । घर माथि र आँगन तलबाट पहिरो खसिरहेको छ । केही घरमा क्षति भइसकेको छ । ‘यो विपद्को बेलामा म एक्लै छु । दुई छोराबुहारी काठमाडौँ छन् । बिहे गरेर दिएका छोरी आफ्नै घर छन् । आफू बसेको गाउँ नै पहिरोको चपेटामा छ । सुनकोशी नदीतिरको बस्ती बाढीले डुबाएको छ । अब म सुरक्षितसँग बस्न कहाँ जानु ?’, पहिरो प्रभावित सीता सार्कीले दुःखेसो गरिन् ।

ठाउँठाउँमा खसेको पहिरो, खोला, खहरे र नदीमा आएको बाढीले गाउँबस्ती, बजार, होटल तथा रिसोर्ट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, खानेपानीका आयोजना, ठूलासाना पक्की तथा झोलुङ्गे पुललगायत सरकारी वा गैरसरकारी भवनमा हानि गरेको छ । बस्दै आएको घर भत्काउँदा तथा बगाउँदा बाढी, पहिरो प्रभावित विचल्लित भएका छन् ।

सुनकोसी र गोलञ्जोरमा बाढी, पहिरोले गरेको क्षति विवरण सङ्कलन भइरहेको छ । सुनकोसी गाउँपालिका उपाध्यक्ष कपिलकुमार कोइरालाका अनुसार पालिका र प्रहरीले क्षति विवरण सङ्कलन गरिरहेका छन् । हालसम्म सुनकोसी गढ्तीर क्षेत्र र आसपासमा बसोबास गरिरहेका दुई सय छ घरपरिवार बाढी, पहिरोका कारण विस्तापित भएको विवरण सङ्कलन भएको छ । घर पूर्ण रूपमा क्षति हुनुका साथै धानबाली भएको खेत बाढी, पहिरोले सखाप बनाएपछि विस्थापित भएका हुन् । यहाँ पनि खानेपानीको चरम समस्या छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x