Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमिथिला क्षेत्रकै साक्षात् भगवती सोनासतीमाई

मिथिला क्षेत्रकै साक्षात् भगवती सोनासतीमाई


जलेश्वर । महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइल गाउँमा अवस्थित सोनासती महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात रहेको छ । साक्षात भगवती सोनासतिमाईलाई मिथिला क्षेत्रकै भगवती मन्दिरमध्ये महत्वपूर्ण एवं चर्चित धार्मिकस्थलको रुपमा लिने गरिन्छ ।

बर्दिबास–जलेश्वर सडकखण्डको ठीक बीचमा रहेको यो मन्दिर जिल्ला सदरमुकाम जलेश्वरदेखि २३ किलोमिटर उत्तरमा पर्दछ । सोनामाई मन्दिर विशेषगरी भूत, प्रेत, पिसाच, दुष्ट आत्मा तथा बोक्साबोक्सीद्वारा सताइएका व्यक्तिलाई झारफुक एवं तान्त्रिक विधिद्वारा निको पार्ने तथा सन्तान नभएकालाई सन्तान प्राप्त हुने धार्मिकस्थलको रुपमा विख्यात रहेको पूजारी कामेश्वर झा बताउछन् ।

यहाँ प्रत्येक वर्ष बडादशैंको अवसर पारेर ठूलो भूत मेला पनि लाग्ने गर्छ । दशैंको १० दिन यहाँ सोनासति महारानी साक्षात् विराजमान रहने गरेको जनविश्वास रहेको अर्का पूजारी रमेश झाले राससलाई बताए ।

यहाँ भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले यहाँ दैनिकजसो पूजापाठ, आराधना, दर्शन तथा बलि दिन भक्तजनको घुइँचो लाग्ने गर्दछ । यस सोनासती महारानीको उत्पतिको सन्दर्भमा करिब पाँच सयवर्ष पहिले हाल मन्दिर रहेको क्षेत्र पूरै घनाजङ्गल रहेको र त्यस जङ्गलमा गाई, भैँसी चराउन जिल्लाको पश्चिमी तथा दक्षिणी भेगबाट मानिस समूह बनाएर आउने र रातिको बास जङ्गलमै बस्ने गर्दथ्यो ।

सोही क्रममा एक दिन वस्तुभाउ चरिरहेकै अवस्थामा पाँचवटा भैँसी एकैसाथ हरायो । चरवाहाहरुले भैँसी खोज्दै जाँदा हाल मन्दिर रहेको क्षेत्रमा पुग्दा सोनासती महारानी मानवको रुपमा प्रकट भई आफ्नो परिचय दिँदै ‘भैंसी आफूसँग रहेको बताइन । उनले मलाई दैनिक पूजापाठ, साँझ आरती गरे मात्र भैँसी दिने नत्र नदिने’ शर्त राखेपछि चरवाहाहरुले महारानीको शर्त स्वीकार गरे र सोही दिनदेखि त्यहाँ सोनासति माईको पूजाआजा, पाठ, आरती हुँदै आएको तत्कालीन पूजारी माझी झाको भनाइ किम्बदन्तीको रुपमा रहेको उनका सन्तति पूजारी झगरु झा बताउछन् ।

अर्को प्रसङ्गमा पूजारी माझी झाको मित्र माझी चौधरी बिना कसुर वीरगञ्ज जेलमा थिए र उनले जेलबाटै सोनासती महारानीको मन्दिर बनाइदिन्छु भनि भाकल गर्दा जेलमा कसैलाई जानकारी नभइ उनी जेलबाट निस्केको कहानीसमेत स्थानीय बुढापाका बताउँछन् । सोनामाइकै नाम स्मरण गर्दा जेलबाटमुक्त भएका चौधरीले मन्दिर बनाइ दिएपछि त्यसमा माताको प्राणप्रतिष्ठा गराई पूजापाठ हुन थालेको अर्का पूजारी घनश्याम झाको भनाइ छ ।

यसैबीच मन्दिर निर्माण हुनुपूर्व यहाँ कहचरिया स्थान भन्ने एउटा धेरै पुरानो सिसौको रुखको टोड्कामा सोनासती महारानीको बास रहने गरेको स्व. पूजारी राजेन्द्र झा (बन्ठु) को भनाइ पनि सुनिन्छ । केही वर्षपछि पूजारीले कहचरिया स्थानबाट मूर्तिल्याई हाल मन्दिर रहेको स्थानमा माटोको घर बनाई दैनिक पूजापाठ गर्न थालेका थिए ।

देशकै धार्मिक एवं ऐतिहासिक धरोहरहरुमध्येको यो मन्दिर पनि एउटा शक्तिपीठ हो । यहाँ विशेष गरी दशैंमा नेपाल तथा छिमेकीमुलुक भारत समेतको मिथिला क्षेत्रका लाखौँ श्रद्धालु भक्तजन सहभागी हुने गर्दछन् ।

घटस्थापनादेखि विजयादशमीसम्म यस मन्दिरमा हर्षोल्लास र धुमधामका साथ विशेष पूजाआरधना हुनुको साथै ठूलो भूत मेला लाग्ने गर्दछ । यस मन्दिरमा कतिले त सुन चाँदीका गरगहना, लत्ताकपडा, मुकुट, गेरुवा आदि पनि चढाउने गर्छन् भने कतिले विभिन्न आकारका घण्टीसमेत चढाउने गर्छन् ।

दसैंँको पहिलो दिन अर्थात घटस्थापनाको दिन बिहान सबेरै पूजारीको घरबाट बाजागाजा (ढोल पिपही) को साथ सबै पूजारी सामेल भई ‘डाला’ (धुप, दीप, अक्षता, कलश, नैवेध्य, रातो कपडा, खर्ग) आदि मन्दिरमा लगेपछि जमरा राखिन्छ । यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । द्वितीयादेखि षष्ठीसम्म ठूलो सङ्ख्यामा भक्तजन आउने पूजापाठ गर्ने, दर्शन गर्ने, मिठाइ, फलफूल मातालाई चढाउने तथा बोका, परेवाको बलि दिने गरिन्छ । सप्तमीको दिन विभिन्न ठाउँ (विरता, दोलाठी)बाट आएको फूलपाती मन्दिरमा भित्र्याइन्छ ।

त्यस्तै अष्टमीको दिन नशा पूजा हुन्छ र सो रातमा धूपदीप, नैवेद्य, फलफूल, चुरा, सुन, चाँदी चढाइ मन्दिरभित्रै बोका बलि दिइन्छ । राजदेवीलाई भने कुभिन्डोको बलि दिइन्छ भने माताको जीउभरि घीउ र सिन्दुर लगाई नयाँ कपडा लगाउने चलन छ ।

महानवमीको दिन करिब एक सय ५० राँगाको बलि हुन्छ । विजयादशमीको दिन पुनःमाता सोनासतीको डाला मन्दिरबाट बाजागाजाको साथ पूजारीको घरमा लगेर राखेपछि मेलाको समाप्ति भएको मानिन्छ । यसै दिन यस वरपरका भोइल, टिमकिया, औरही, चेपकट, श्रीपुर, मेघनाथ गोरहन्ना गाउँका बासिन्दा खुसीले लड्डु, मिठाइ, पेडा, खुवा, जिलेवी आदि चढाएर आपसमा प्रसाद बाँड्ने गर्दछन् ।

चौँथीदेखि अष्टमीसम्म करिब पाँचसयको सङ्ख्यामा आफूलाई भूत, प्रेत, पिसाच, दुष्ट आत्मा र बोक्साबोक्सीद्वारा सताएको ठानिएका व्यक्ति गाउँको चारैतिरको सीमा क्षेत्रमा प्रवेश गर्दा उक्त व्यक्ति रुँदै, कराउँदै, दौडदै यहाँ अवस्थित राजदेवीमाईको खुट्टानिर लडने गर्दछन् । यहाँका पूजारीले उनीहरुलाई तन्त्रमन्त्रद्वारा बाँध्ने तथा भूत, प्रेत, तथा बोक्साबोक्सीबाट मुक्ति दिलाउने गर्दछन् ।

सोनासती महारानीको मन्दिर सोनामाई स्थानको नामले प्रचलित छ भने यस मन्दिर परिसरमा गणेश, राजदेवी, सरस्वती आदि देवीदेवताको मूर्ति पनि रहेको छ । मन्दिर परिसरमा रहेको तपसी बाबाको धुनीमा वर्षभरि नै आगो बलिरहन्छ । धार्मिक एवं ऐतिहासिक महत्व बोकेको सोनामाइको मन्दिरको संरक्षण र सम्बर्द्धन गरी पर्यटकीय रुपमा विकास गर्न सकिने स्थानीयवासीको भनाइ रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x