सामाजिक सुरक्षा कोषमा योगदान ६६ अर्ब नाघ्यो
काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको संख्या र योगदान रकममा वृद्धि भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै योगदान रकममा वृद्धि भएको सामाजिक सुरक्षा कोषले बताएको छ ।
कोषमा योगदान रकम संकलन हुने क्रममा चालू आर्थिक वर्ष २०८१/८२ को भदौ–असोज तेस्रो सातासम्म कोषको खातामा योगदान रकमबापत ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । पछिल्लो समय आठ अर्ब ६३ करोड ११ लाख रुपैयाँ योगदान रकम थप भएसँगै योगदान रकममा वृद्धि भएको हो । गत आर्थिक वर्ष २०८०/८१ असार तेस्रो सातासम्म कोषमा योगदानबापत ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ संकलन भएको थियो । समीक्षा अवधिमा १६ लाख ८१ हजार एक सय ९२ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएको प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।
२०७५ मंसिर ११ देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ देखि योगदान रकम संकलनको थालनी गरेकोमा हालसम्म उक्त रकम संकलन भएको उनको भनाइ छ । पछिल्ला समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुनपुगेको हो । कोषले २०८० चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको हो । यसैबीच वैदेशिक रोजगारीमा रहेका साढे दुई लाख जना बढी श्रमिक कोषमा आबद्ध भएका छन् ।
औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको बताइन्छ । त्यस्तै, कोषले भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने भएको छ जसले गर्दा योगदानकर्ता, योगदान रकम बढ्ने निश्चित देखिन्छ । यसअघि औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षामा जोड्दै आएकोमा दायरा फराकिलो बनाउँदै अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति पनि कोषमा आबद्ध हुनसक्ने व्यवस्था गरिएको हो । अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति कोषमा आबद्ध हुने क्रम चलिरहेको बताइएको छ ।
यस्तै समीक्षा अवधिमा कोषमा सूचीकृत रोजगारदाताको संख्या १९ हजार छ सय ७१ जना रहेका छन् । योगदानकर्ताको तुलनामा रोजगारदाताहरूको कोषमा आकर्षण देखिन नसके पनि संख्या भने सूक्ष्म रुपमा निरन्तर बढी छ । सुरुवात समयभन्दा हाल कोषले प्रदान गर्ने सुविधाहरूलाई बुझेर सूचीकृत हुने रोजगारदाताको संख्या भने क्रमशः वृद्धि हुँदै गएको कोषका अधिकारीहरू बताउँछन् ।
कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुँदा सोहीअनुरुप काम गर्दै समेत आएको छ । सोही क्रममा कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत एक अर्ब ३७ करोड २९ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत १४ करोड ६६ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १७ करोड ४३ लाख रुपैयाँ र अवकाश रकम नौ अर्ब ४६ करोड तीन लाख रुपैयाँ दाबी गरेका छन् ।
समीक्षा अवधिमा ११ अर्ब १५ करोड ४१ लाख रुपैयाँँ कुल दाबी भुक्तानी परेको कोषले जनाएको छ । योजनाअनुरुप दाबी गरिएको रकम कोषले भुक्तानी गर्दै जाने गरेको छ । कोषले भुक्तानीको लागि मापदण्ड पूरा भए÷नभएको अध्ययनपछि रकम निकासा गर्ने गर्छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढंगले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
समीक्षा अवधिमा १६ लाख ८१ हजार एक सय ९२ जना योगदानकर्ताहरू कोषमा आबद्ध भए भने अघिल्ला आर्थिक वर्षहरूमा भने सो संख्यामा कमी रहेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/०७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/०७८ मा ३६ हजार २० जना, आर्थिक वर्ष २०७८/०७९ मा एक लाख २७ हजार एक हजार १६ जना र गत आर्थिक वर्ष २०८०/०८१ को असार तेस्रो सातासम्म १४ लाख ५६ हजार छ सय ५३ जना योगदानकर्ता सूचीकृत भएका थिए ।
कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्नेजस्ता कार्यहरू गर्दै आएको छ । कोषले गर्ने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ । बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ बाट स्थानीयतहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएको छ ।
कोषले अहिले पनि रोजगारदाता, योगदानकर्ता सूचीकृत गर्दै आएको छ । रोजगारदाता र योगदानकर्ता वृद्धि भएमा भने योगदान रकम पनि बढ्ने कोषका अधिकारीहरू बताउँछन् । कोषले पछिल्लो समय भने ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिन सक्ने सुविधा प्रदान गरेको थियो । ‘योगदानकर्ता घर सापटी’अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ ।
शैक्षिक सापटीअन्तर्गत भने कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । २०७५ मंसिर ११ देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ देखि योगदान रकम संकलनको थालनी गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया