Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल


मन्थली (रामेछाप) । जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् ।

यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरीकोट हुँदै लामोदूरीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

उनले भने, “लामोदूरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्रै यहाँ दुई÷तीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन् । अभियान प्रभावकारी भएको छ ।”

उनले यो अभियान दसैँ मनाउन घर जान हिँडेका यात्रुलाई लक्षितगरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको र फेरि दसैँ मनाएर फर्किनेका लागि अभियान सञ्चालन गर्ने योजना रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदीपकुमार सिंहले उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायत खानेकुरा र पानी तथा चिसो पेय पदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको बताए ।

काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरीकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन् ।

भिरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भिरपानीको चरिखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ । स्थानीय राजेशकुमार श्रेष्ठले उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x