Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअर्थतन्त्रका बाह्य सूचक थप मजबुत

अर्थतन्त्रका बाह्य सूचक थप मजबुत

विदेशी मुद्रा सञ्चिति बढ्यो, दुई महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब रेमिट्यान्स


काठमाडौं । अर्थतन्त्रको बाह्य सूचकहरु थप मजबुत बन्दै गएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत भदौ मसान्तसम्म रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति थप मजबुत देखिएका हुन् ।

राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको विदेशी मुद्रा सञ्चिति भदौ मसान्तमा पाँच दशमलव पाँच प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा पाँच प्रतिशतले बढेर १६ अर्ब चार करोड पुगेको छ ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ भदौ मसान्तमा चार दशमलव चार प्रतिशतले बढेर १९ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा १६ दशमलव एक प्रतिशतले बढेर दुई खर्ब २३ अर्ब ५३ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति १६ महिना २४ दिनको वस्तु आयात र १३ महिना २१ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन ३७ दशमलव सात प्रतिशत, कुल आयात एक सय १४ दशमलव चार प्रतिशत र विस्तृत मुद्राप्रदाय ३० दशमलव आठ प्रतिशत छन् । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन ३५ दशमलव आठ प्रतिशत, कुल आयात एक सय आठ दशमलव छ प्रतिशत र विस्तृत मुद्राप्रदाय २९ दशमलव तीन प्रतिशत थियो ।

दुई खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो
२०८१ साउन र भदौमा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२ प्रतिशत बढी हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६,४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४०,५८३ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४,४५५ र ३२,००४ थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) दुई खर्ब ८६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई खर्ब ५१ अर्ब ६५ करोड रुपैयाँ थियो ।

शोधनान्तर स्थिति एक खर्ब एक अर्ब बचतमा
मुलुकको शोधनान्तर स्थिती बचतमा देखिएको छ । भदौ मसान्तमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोड रुपैयाँले बचतमा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड ७० लाखले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष भदौमा ७५ करोड ७९ लाखले बचतमा छ ।

गत भदौ मसान्तसम्म मुलुकको चालू खाता ४९ अर्ब ६९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २३ अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १८ करोड १३ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ३७ करोड एक लाखले बचतमा थियो ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर एक अर्ब २० करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्वीटी मात्र) दुई अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर ८५ करोड आठ लाख र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्वीटी मात्र) तीन अर्ब रहेको प्रतिवेदनामा उल्लेख छ ।

वैदेशिक शिक्षामा २८ अर्ब १६ करोड बाहिरियो
वैदेशिक शिक्षाका लागि गएको साउन र भदौ महिनामा नेपालबाट २८ अर्ब १६ करोड रुपैयाँ बाहिरिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१को साउन र भदौ महिनामा विदेश अध्ययनमा जाने विद्यार्थीले सो रकम खर्च गरेका हुन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार अर्ब ८३ करोड रुपैयाँ बढी हो । २०८०को साउन र भदौमा विदेश अध्यनका लागि २३ अर्ब ३३ करोड रुपैयाँ बाहिरिएको थियो ।

वैदेशिक शिक्षाका लागि खर्च हुने रकम बढेपछि खुद सेवा आय घाटा पनि बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद सेवा आय २८ अर्ब २० करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २५ अर्ब २३ करोड रुपैयाँले घाटामा थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.१ प्रतिशतले वृद्धि भई १० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय नौ अर्ब ४० करोड रुपैयाँ थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय २२.२ प्रतिशतले वृद्धि भई ४३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३५ अर्ब ५९ करोड रुपैयाँ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x