काठमाडौं । ठूलो चाडपर्वको मुखमा आएको ठूलो बाढी पहिरोको विपत्बाट जोगिएका उपभोक्ताहरूले महँगीको मार भने झनै तीव्रताका साथ सहनु पर्यो र परिरहेको छ । दशैँअघि सरकारले फलफूल र तरकारीलगायतका खाद्यवस्तुको न्यूनतम मूल्य तोक्ने बताएको थियो । त्यस्तो भइदिएको भए उपभोक्ताहरू यसरी ठगिने थिएनन् । केही सीमित वस्तुहरूको सुपथमूल्यले केही राहत भने दिएकै हो । त्यसलाई नै सिको मान्ने हो भने उपभोग्य वस्तुको मूल्य तोकिँदा झन् बढी राहत पुग्ने थियो । मूल्य तोकिएको आधारमा उपभोक्ताहरूमा एकप्रकारको सुरक्षित भावना आउँछ । अरू जेहोस् मूल्य तोकिँदा बजारमा एकरूपता आउँछ । जस्तो, कालिमाटी तरकारी बजारमा कुनै दिनको भाउ भनी पत्रपत्रिकामा जसरी आइरहेको हुन्छ, यता तिनै वस्तु खुद्रामा खरिद गरिँदा पाँच गुनासम्म महँगो पर्ने गरेको अवस्था छ । तरकारी बजारलाई मात्र जथाभावी मूल्य लिन नियन्त्रण गरिने हो भने प्रत्येक घरको चुलो सस्तिने थियो । सरकारले कम्तीमा तरकारी र फलफूल समूहका वस्तुको मूल्य टाँस गर्ने भनेर बताए पनि दशैँमा त्यस्तो हुन सकेन ।
नेपाल खुद्रा व्यापार संघले गएको एउटा अध्ययनमा अघिल्लो वर्षको तुलनामा के–केमा कति मूल्य बढ्यो भनेर देखाएको छ । त्यसलाई हेर्दा बजार अस्वाभाविक मूल्यवृद्धिको कुन हदसम्म चपेटामा परेको भन्ने देखिन्छ । खुद्रा व्यापार संघले दुई वर्षको तुलना यसरी गरेको छ । जस्तो, २०८० असोज २१ मा ठूलो गोलभेँडाको मूल्य प्रतिकेजी ३८ रुपैयाँ थियो । २०८१ असोज २१ मा त्यसको मूल्य १४५ रुपैयाँ पुगेको पाइयो । यो भनेको सय रुपैयाँभन्दा बढी अन्तर हो । त्यस्तै, सुकेको प्याज अघिल्लो वर्ष प्रतिकेजी ७४ रुपैयाँ थियो भने अहिले एक सय १५ मा खरिदबिक्री भइरहेको छ । अघिल्लो वर्ष लाम्चो भान्टा प्रतिकेजी ३५ रुपैयाँ थियो । यो वर्ष ८५ रुपैयाँ कायम भएको देखियो । २०८० असोजमा स्टिम जिरा मसिनो चामल प्रतिकेजी ९५ पथ्र्यो भने यो वर्ष त्यही चामलको मूल्य एक सय १० रुपैयाँ पुगेको छ । त्यस्तै, तराई ताइचिन चिउरा एक सय पाँचबाट एक सय २० र सनफ्लावर तेल दुई सय पाँचबाट दुई सय २० पुगेको छ । यी वस्तुको यो हदसम्म मूल्य बढ्नुपर्ने कारण भने छैन । दशैँताका परेको झरीले यातायातमा केही कठिनाइ भने आइपरेकै हो । तर उल्लेखित मूल्य भने यो झरी वर्षाअघि नै त्यसरूपमा कायम भएको थियो । सरकारले मूल्य तोकिदिएको भने यस रूपको मनपरी हुने अवस्था आउने थिएन । उपभोक्ता आफैँले त्यसको खबरदारी गर्ने थिए ।
वास्तवमा नै यो पटकको दशैँमा सरकारले अनुगमन गर्छु त भनिरह्यो तर गरेन । त्यसै कारण पनि उपभोग्य वस्तुको मूल्य अस्वाभाविकरूपमा वृद्धि भएको हुनुपर्छ । दशैँकै बेला हवाईभाडा यतिविधि महँगो भयोे जो अनुमान नै गर्न नसकिने अवस्थाको थियो । जस्तो पहिले पाँच हजारको भाडादर रहेको ठाउँमा १५ हजारसम्म भाडा असुल गरियो । त्यसमाथि विमानमस्थलमा नै पाँच÷सात घण्टाको प्रतीक्षा गर्न लगाइएको घटनाले उपभोक्ता कति कष्टकर अवस्थाबाट गुज्रिए भन्ने अनुमान गर्न सकिन्छ । सडकमार्ग पनि त्यस्तै रहे । सडकमार्गको अवरुद्धता यात्रु ठगिने निहुँ बन्यो । जुनबेला नागरिकले सरकार खोज्छन् त्यही बेला सरकारको उपस्थिति हुन पाएन । यातायातजस्तै रह्यो तरकारी बजार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार नै पनि तरकारीको मूल्य न्यूनतम ५० प्रतिशतले वृद्धि भएको देखियो । उपभोक्ताले महँगीले घर खर्च धान्नै मुस्किल परेको गरिहनैप¥यो । किन मूल्य बढ्यो ? अस्वाभाविक मूल्य बढाउनेलाई के भयो ? जनतालाई केही थाहा हुन्न भन्ने आमजनताका प्रतिक्रिया आइरहेका छन् । सरकार किन उत्तरदायी भएन भन्ने आमनागरिकका प्रश्नले उत्तर पाउनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
- अवैध लागुऔषध सहित पाँच जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया