Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !

सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !


विराटनगर । नेपाल भारतका बीचमा रहेको खुला सीमा नाकामा हुने तस्करी सशस्त्र प्रहरीसँगको सेटिङमा नै हुने गरेको पाइएको छ । कपडालगायत सटिङ सुटिङको अवैध लाइन चलाउने र सीमा सुरक्षाको जिम्मेवारी बोकेर बसेको सशस्त्र प्रहरीको बीओपीका बीचमा भएको सेटिङमा भएका तस्करीका घटनाहरू बिस्तारै बाहिरिन थालेका छन् ।

भन्सार राजस्व चोरी नियन्त्रणको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीको बीओपी समेत कपडा तस्करीका लागि सहज वातावरण बनाउन लागि परेको खुलेको हो । सीमा नाकामा रहेको सशस्त्र प्रहरीको बीओपीले सीमामा अन्देखा गरिदिँदा विराटनगरसँग भारतीय सीमा जोडिएको इस्लामपुर बेलुका ८ बजेपछि तस्करीका लागि उर्वर नाका बन्न थालेको जनगुनासो बढ्न थालेको छ । कोशी प्रदेशको राजधानी विराटनगर बजारमा कपडाको व्यापार गर्दै आएका व्यवसायीहरूले सरकारले कपडा आयातको लागि एलसी समेत खोल्न नसक्ने गरी व्यावसायिक वातावरण बिगारेको भन्दै अवैधरूपमा कपडा आयातको धन्धा गर्नेसँग कपडाको माग गर्न थालेको सूचना बाहिरिएपछि अवैध बाटो हुँदै कपडाको आयात बढेको हो । हाल रात पर्नासाथ विराटनगरको पुरानो भन्सारसँगै जोडिएको इस्लामपुर भारतीय नाका अवैध कपडा आयातका लागि प्रमुख केन्द्र बन्न थालेको छ ।

समाचार स्रोतका अनुसार विराटनगरबाट विभिन्न ब्रान्डका कपडा तथा सटिङ सुटिङको अवैधरूपमा कारोबार गर्दै आएका केही व्यापारीहरू नयाँ–नयाँ ब्रान्डका कपडा आयातमा सक्रिय देखिएका छन् । उनीहरूले सशस्त्र प्रहरीको बीओपीसँगै भन्सारभित्र समेत सेटिङ मिलाएर कपडाको आयात गर्ने गरेको स्रोतको दाबी छ । वैधानिक कपडाको आयात ठप्प भएसँगै इस्लामपुर नाका कपडा तस्करीका लागि प्रमुख मार्ग बन्न पुगेको हो । सोही नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको बीओपीसँग सेटिङ मिलाएर ब्यापकरूपमा कपडासहितका विभिन्न सामानहरूको अवैध आयातले तीव्रता पाएको दाबी स्रोतले गरेको छ । दिनभर सुनसान देखिने इस्लामपुर नाका राति आठ बजेपछि गुल्जार बन्ने गरेको छ ।

एक पुस्ता कपडाकै अवैध कारोवार गरेर बिताइसकेको विराटनगरको शारदा प्रसाद अग्रवाल समूहको पछिल्लो समय नेतृत्व गर्दै आएका अमर जलान उर्फ बब्लु अग्रवालले प्रहरीको सेटिङमा अवैध बाटो हुँदै कारोबारलाई तीव्रता दिएको पाइएको हो । उनीसँगै अर्का एक रौनियार थरका व्यवसायी पनि व्यापक कपडाको तस्करीमा संलग्न भएको खुलेको छ । हाल यी दुवै कारोवारी एक अर्काको पोल खोलाखोलमा लागेका छन् । उनीहरूको पोल खोलाखोलले पछिल्लो समय खुलेयाम हुुँदै आएको सेटिङको बोर्डर तस्करी सञ्जाल नै छरपस्ट हुन पुगेको छ । यसरी कपडाको कारोबार गर्ने कारोबारीले दशैँ, तिहार र छठसम्ममा गरी प्रत्येक महिना एक अर्बभन्दा बढीको अवैध कपडा आयात गरी कोशी प्रदेशमा रहेको पूर्वी बजारका मुख्यमुख्य सहरमा पुर्याउने गरेको दाबी पनि स्रोतले गरेको छ ।

दुवै कारोबारीले करिब एक दशकदेखि कपडाको अवैध कारोबार गर्दै आएको दाबी पनि व्यवसायीको छ । दुवैले सरकारी निकायका माथिल्लो दर्जामा आसीन उच्च ओहोदाका व्यक्तिहरूको सेटिङमा नै आफ्नो अवैध कारोवारलाई निरन्तरता दिँदै आएका छन् । तिनै उच्च ओहोदाका व्यक्तिहरूसँग सेटिङ भएपछि तल्लो तहमा कार्यरत सुरक्षाकर्मी समेत निरीह बनेर मुकदर्शक बनेको बताइन्छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x