Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदुई महिनामा ३५ अर्ब बढ्यो बैंकहरूको निक्षेप

दुई महिनामा ३५ अर्ब बढ्यो बैंकहरूको निक्षेप

कुल निक्षेपमा मुद्दती निक्षेप करिब ५७ प्रतिशत


काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप लगातार बढिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा बैंक तथा वित्तीय संस्थाको निक्षेप शून्य दशमलव पाँच प्रतिशत अर्थात् ३५ अर्ब तीन करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप सात अर्ब ५६ करोड अर्थात् शून्य दशमलव एक प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३ दशमलव आठ प्रतिशतले बढेको छ ।

आन्तरिक अर्थतन्त्र सक्रिय बन्न सकिरहेको छैन । उपभोग अझै पनि न्यून छ । बैंकहरूले ब्याजदर घटाएका त छन् तर लगानीको वातावरण बनिसकेको छैन । यही कारण व्यापार व्यवसाय र उत्पादनमा लगानी गर्नुको सट्टा बैंकमा निक्षेप राखेर ब्याज खानेहरू बढ्दै गएका छन् । यसको असर बैंकहरूको निक्षेप बढिरहेको छ । सरकारले बजारलाई थप चलायमान बनाउन कोसिस गरेको भए पनि त्यो प्रभावकारी बनेको छैन भने बजारमा माग नबढ्दासम्म उद्योगी व्यवसायीले थप लगानी गर्ने सम्भावना न्यून देखिन्छ । यही कारण बजारमा कर्जाको माग पनि न्यून छ । यसले बजार अझै चलायमान बन्न नसकेको सङ्केत गर्छ ।

राष्ट्र बैंकका अनुसार २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती निक्षेप पाँच दशमलव दुई प्रतिशत, बचतमा ३० दशमलव नौ प्रतिशत र मुद्दती निक्षेपमा ५६ दशमलव सात प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश : छ दशमलव दुई प्रतिशत, २५ दशमलव नौ प्रतिशत र ६१ दशमलव एक प्रतिशत थियो । २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ प्रतिशत छ । २०८० भदौ मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव एक प्रतिशत थियो ।

निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड रुपैयाँ अर्थात् एक दशमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड रुपैयाँ अर्थात शून्य दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा छ दशमलव छ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये २०८१ भदौ मसान्तमा गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ प्रतिशत र ३७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह एक दशमलव पाँच प्रतिशतले, विकास बैंकहरूका एक दशमलव एक प्रतिशतले र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह तीन प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये २०८१ भदौ मसान्तमा १३ दशमलव दुई प्रतिशत कर्जाको लागि चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तु सुरक्षणको रूपमा रहेको छ भने ६६ दशमलव दुई प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०८० भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव एक प्रतिशत र ६७ दशमलव दुई प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव दुई प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा शून्य दशमलव नौ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा एक दशमलव दुई प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा एक दशमलव दुई प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा दुई दशमलव दुई प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा एक दशमलव सात प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा एक दशमलव एक प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा एक दशमलव आठ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १० दशमलव सात प्रतिशतले, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा १७ प्रतिशतले, हायर पर्चेज कर्जा शून्य दशमलव आठ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) शून्य दशमलव दुई प्रतिशतले र नगद प्रवाह कर्जा एक दशमलव एक प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा अधिविकर्ष कर्जा भने चार दशमलव नौ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x