Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालमा दृष्टिविहीन क्रिकेटको सम्भावना

नेपालमा दृष्टिविहीन क्रिकेटको सम्भावना


काठमाडौं । पुरुष तथा महिलाहरूको क्रिकेटमा आफ्नो बेग्लै पहिचान बनाउन सफल नेपालले नेत्रहीनहरूको क्रिकेटमा पनि सशक्त उपस्थिति जनाउँदै आइरहेको छ । आगामी मंसिर ७ गतेदेखि १८ गतेसम्म पाकिस्तानमा आयोजना हुने चौंथो टि–ट्वान्टी नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपालले तयारी गरिरहेको छ ।

पुरुषहरूको उक्त विश्वकपमा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूको अन्तिम छनोट यही कात्तिक ४ गते र ५ गते काठमाडौंँमा हुनेभएको छ । छनोट भएका खेलाडीहरूलाई आगामी तिहारपछि बन्द प्रशिक्षणमा राखिने जानकारी नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले दिएका छन् । यसअघि गत असारमा पहिलो चरणको छनोटअन्तर्गत १९ जना खेलाडीहरू छनोट गरिएको थियो । तत्कालीन माओवादी द्वन्दका बेला २०६० सालमा आँखाको ज्योति गुमाउन पुगेका नेपाली सेनाका प्रमुख सेनानी घिमिरेकै सक्रियतामा नेपालमा २०६३ सालमा नेत्रहीनहरूको क्रिकेटको सुरुआत भएको थियो ।

उनले नेत्रहीन क्रिकेट खेलाडी, कप्तान, प्रशिक्षक, अम्पायर तथा नेत्रहीन क्रिकेट सङ्घ नेपालको अध्यक्ष समेत भूमिका निर्वाह गरेर नेत्रहीन क्रिकेटलाई स्थापित गर्न योगदान दिएका छन् । नेत्रहीन क्रिकेटका पाकिस्तानी प्रशिक्षकले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा ३३ जना प्रशिक्षण दिएर नेपालमा नेत्रहीनको क्रिकेटको सुरुवात गरेका थिए । अहिले नेपालमा स्थानीयस्तरदेखि अन्तर्राष्ट्रिय तहसम्मकै प्रशिक्षकहरू कार्यरत रहेका छन् । यो खेल विभिन्न जिल्लामा विस्तार हुने क्रम जारी रहेको छ । विभिन्न जिल्लामा रहेका दृष्टिविहीनहरूलाई प्रोत्साहनका लागि विभिन्न तहको प्रतियोगिता आयोजना गर्ने गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने गरेको पारा तथा विशेष खेलकुदमा नेत्रहीन क्रिकेटलाई पनि प्रतियोगिताको रूपमा समावेश गर्ने गरिएको छ ।

नेत्रहीनहरूको क्रिकेटमा विश्वका विभिन्न ११ देशको सहभागिता रहेकामा नेपालको हालको स्थान छैठौं, सातौं हुनु मुलुकका लागि उपलब्धिमूलक नै मान्नुपर्छ । यीबाहेक अन्य देशका स्कुल कलेजहरूमा पनि नेत्रहीन क्रिकेट खेल्ने गरिएको छ । तर यसको संस्थागत विकास भने हुन सकेको छैन । नेपाली नेत्रहीन क्रिकेट टिमले सन् २००८ मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेर आफ्नो अन्तर्राष्ट्रिय सहभागिताको सुरुवात गरेको थियो । त्यतिखेरै नेपाली टिमले पाकिस्तानमा नौ वटा मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले सन् २०१२ मा भारतको बेङ्गलोरमा भएको नेत्रहीनहरूको विश्वकपमा भाग लिएर विश्वकपमा सहभागिता प्रारम्भ गरेको थियो । त्यसबखत नेपालले पहिलोपटक बङ्गलादेशको टिमलाई पराजित गर्न सफल भएको थियो । भारतको केरलामा सन् २०१६ मा भएको एसियाली नेत्रहीन क्रिकेट प्रतियोगितामा पनि नेपालले आफ्नो सहभागिता जनाएको थियो । यसअघि सन् २०२१ मा भारतमा आयोजना भएको तेस्रो टि–ट्वान्टी विश्वकपमा कोरोनाले आक्रान्त पारेको अवस्थामा पनि नेपालले भाग लिएको थियो । त्यतिखेर भारतले उपाधि जितेको थियो ।

नेपालबाटै महिला क्रिकेट सुरु
यहाँ उल्लेखनीय पक्ष के छ भने धेरै सङ्ख्यामा दृष्टिविहीन महिलाहरूलाई क्रिकेटमा समाहित गर्ने मुलुकमा नेपाल अग्रपङ्तिमा पर्दछ । नेत्रहीन महिलाहरूको क्रिकेटको सुरुआत नेपालले नै गरेको थियो । बेलायतमा समेत नेपाली प्रशिक्षककै सहयोगमा नेत्रहीन महिला क्रिकेट सुरु गरिएको थियो । सन् २००९ मै नेपाली महिला टिमले काठमाडौंमा आयोजित मैत्रीपूर्ण खेलमा बेलायतलाई पराजित गरेको थियो । त्यतिखेर नेपाल सरकारले महिला टिमलाई राष्ट्रिय सम्मान प्रदान गरेको थियो । अब सन् २०२५ मा भारतमा आयोजना हुने नेत्रहीन महिलाहरूको विश्वकपमा नेपालको पनि सहभागिता रहने लक्ष्य राखिएको छ ।

मैदानको अभाव
शारिरीकरूपले सक्षम क्रिकेट खेलाडीहरूको लागि नेपालका विभिन्न स्थानमा क्रिकेट मैदान उपलब्ध भए पनि नेत्रहीन खेलाडीहरूका लागि क्रिकेट मैदानको व्यवस्था हुन सकेको छैन । चाहे अभ्यास गर्दा होस् अथवा कुनै प्रतियोगिता आयोजना गर्नुपर्दा मैदानका लागि नेपाल क्रिकेट सङ्घलगायतलाई गुहार्नुपर्ने अवस्था आउने गरेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदान नेपाल क्रिकेट सङ्घले प्रयोग गरिरहेको छ । सोही सङ्घले प्रयोग गर्ने गरेको मूलपानी क्रिकेट मैदानका लागि पनि सरकारले लगानी गरेको छ । त्यस्ता मैदान नेत्रहीनहरूलाई पनि सहजरूपमा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायले प्राथमिकता दिनुपर्छ ।

राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा नेपालभर हजारौंँ रोपनी जमिन रहेका छन् । कयौँ जमिन अतिक्रमणमा परिसकेका छन् । नेत्रहीन क्रिकेट खेलाडीहरूका लागि छुट्टै क्रिकेट मैदानका लागि सरकारले बजेट विनियोजन गर्नुपर्छ भनेर पटकपटक आवाज उठ्ने गरेको पनि छ । नेत्रहीन क्रिकेट सङ्घ नेपालका पदाधिकारीहरूले नेत्रहीन क्रिकेट र अपाङ्गता खेलकुदका बारेमा बेलाबखत सरकारको ध्यानाकर्षण गर्दै आइरहेका छन् । पछिल्लो पटक युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग सङ्घका पदाधिकारीहरूले छलफल गरेका थिए ।

दृष्टिविहीनहरूले कसरी खेल्छन् ?
दृष्टिविहीन क्रिकेट खेलाडीहरूले आवाजको प्रयोग गरेर क्रिकेट खेल्ने गर्छन् । नेत्रहीनहरूले क्रिकेट खेल्दा प्रयोग गर्ने हार्ड प्लास्टिकको बलभित्र रहेका साइकलका बल बेरिङको माध्यमबाट बल बज्ने गर्छ । त्यही आवाज सुनेको आधारमा आवाजलाई पछ्याउंँदै ब्याटिङ गर्नेले ब्याटिङ गर्छ भने बलिङ र फिल्डिङ गर्नेले पनि त्यसैलाई पछ्याएर क्रिकेट खेल्ने गरेका छन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x