Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकाठमाडौंले काठमाडौं बचाउन सक्ला ?

काठमाडौंले काठमाडौं बचाउन सक्ला ?


काठमाडौं । भर्खरै नेपालीहरूको ठूलो चाड बडा दशैँ सम्पन्न भएको छ । दशैँ अगाडि आएको तीन दिने भीषण वर्षाले आएको बाढी, पहिरो, काठमाडौं जोड्ने राजमार्गहरू बगाएको, धनजनको ठूलो क्षति हुन गएको र समयमा नै दशैँ मनाउन आ–आफ्नो गन्तव्य पुग्न नसक्दा यसपालिको दशैँ कस्तो भयो होला अनुमान लगाउनु गाह्रो नपर्ला  ।

दशैँ मनाउँदै गर्दा आफ्नो बचपनमा मनाउँदाको याद गर्नपुगेको छु । सोच्न थालेँ समय परिस्थितिअनुसार आफ्नो रीतिरिवाज, परम्परा, व्यवहार, हेर्ने दृष्टकोण आदिमा कतिको फरक पर्दाेरहेछ ।

म सम्झिन्छु, दशैँ आउनुभन्दा अगाडि नै लौ दशैँ आउन लाग्यो, १५ दिनको स्कुल बिदा हुने भो भन्दै खुसी होइन्थ्यो । स्थानीय टोले साथीभाइसँग शक्तिपीठ, नवरात्री घुम्ने कुरा, चङ्गा उडाउने कुरा, ठूलावडासँग टीका लगाएर आशीर्वाद लिई पैसा जम्मा गर्ने कुरा हुन्थ्यो । आफ्नो बाउ (बुबा)सँग नयाँ लुगा, जुत्ता किन्न, चङ्गा र चङ्गा उडाउन धागो लताइँ किन्न, कचकच गरिन्थ्यो । आजको जस्तो जताततै पसल, सपिङ मल थिएन, परिवारका अग्रज सदस्यहरूसँगै महिनौ लगाएर दशैँको लागि चाहिने विशेष खानेकुरादेखि पूजाआजा गर्न चाहिने सरसामानहरू संकलन र व्यवस्थापन गर्न व्यस्त हुने गरेको हुन्थ्यो ।

स्कुल बिदा सुरु भएदेखि विभिन्न क्रियाकलापमा व्यस्त भइन्थ्यो, दिउँसो ठूलोठूलो स्वरमा गीत बजाएर साथीभाइहरूसँग घरको कौसीमा बसेर चङ्गा उडाउँदै रमाइलो गरिन्थ्यो । नीलो आकाशमा रंगीचंगी चङ्गाहरूले आकाश ढपक्कै ढाकेको हुन्थ्यो । लपातीदेखि चङ्गा उडाउने क्रम बढ्थ्यो र परिवारका सबै सदस्यहरू ‘चङ्गा चेट’ कार्यक्रममा सहभागी भई पारिवारिक रमाइलो हुन्थ्यो र बीचबीचमा विभिन्न प्रकारका मीठो खानेकुरा आएकै हुन्थ्यो । आजको जस्तै डिजिटल प्रविधि, मोबाइल फोन विकसित भई नसकेकाले सबै आफ्नै दिमागले गर्नुपथ्र्याे ।

बिहान नवरात्रिको नौ दिन विभिन्न शक्तिपीठ गएर रमाइलो गरिन्थ्यो । वर्षको एकदिन मात्र खोल्ने तलेजु मन्दिरमा जाने, ढोकाटोलको पम्पुकोटमा नेपाली सेनाद्वारा आयोजना गरिने राँगा र बोकाको बलि दिन, मार हान्ने हेर्न गइन्थ्यो । दशैँलाई नेवाः समुदायले ‘मोहनी नख’ भन्ने गरिन्छ । नेवाः समुदायको मुख्य दिन ‘कुस्छि भोय’ खाएर मोहनी नखः प्रारम्भ हुन्छ । कुस्छि मतलब दुई माना । ‘कुछि भोय’ मा दुई माना चिउरालगायत विभिन्न प्रकारका खानेकुरा, गेडागुडीको परिकार, मासुको ‘दाएका लाः’ भुटन, पाउँक्वा, दही र अन्तमा सिसाबुस्या र फलफूल खाएर समापन गरिन्थ्यो । मन्दिरमा बोका अथवा कुखुरा काटेको भए ‘सिस्काब’ गरिथ्यो । परिवारका थाकुली (प्रमुख)ले टाउको भाग पाउँछ भने कान्छाले पुच्छर । पलेटी मारेर थाकली अगडी र कान्छा पुछारमा बसेर लामबद्ध भएर भोज खाने चलन थियो र छ । यसरी आफूभन्दा अग्रज मान्यजनलाई आदर गर्ने परम्परा रहेको थियो ।

राति रमाइलोका लागि कोहीकोही तास खेल्ने गरिन्थ्यो । खसी किन्न आफ्नो बाउसँग किलागल, टुँडिखेलमा घुमेर राम्रो छान्ने, दोर्याएर घर ल्याएर काट्ने, सफा गर्ने गरिन्थ्यो र मासुको विभिन्न प्रकार बनाई खाइन्थ्यो, भने मलाई पोलेको, छोएला मासु मनपथ्र्याे । दशैँको अवसर पारेर घर परिवारका सबै सदस्यहरूलाई नयाँ लुगा र जुत्ता किनेर लगाउने चलन रहेको थियो ।

नयाँ लुगा, नयाँ जुत्ता लगाएर आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट पैसा पाउने भएकाले टिका ग्रहण गर्न धेरै ठाउँमा गइन्थ्यो । दशैँ, मुख्यतया परिवारबीच मिलन, पुनर्मिलन गर्ने चाडको रूपमा लिइन्थ्यो । यो चाड मनाउन गरिब वर्गका मानिसहरूले समेत वर्षभर पैसा बचत गरी, नभए ऋण लिएर भए पनि मनाउने गरिन्थ्यो । परिवार र साथीभाइहरूसँगै बसी खाने, घुमघाम गर्ने र रमाइलो गर्दै मनाइने भएकाले यसको बेग्लै र विशेष महत्व रहिआएको छ ।

हेर्दाहेर्दै हिजो आज दशैँमा अपनाइने रीतिरिवाज, चलनचल्ती, प्रवृत्तिमा धेरै अन्तर आइसकेको देखिन्छ । तुलना नै गर्ने हो भने हिजोको दशैँ एकादेशको कथा भएको छ । मन्दिरमा हजारौँको संख्यामा पशुबाली दिई पूजाआजा गर्ने चलन अत्यधिक मात्रामा घटेको देखिन्छ भने अबको केही वर्षभित्र यो प्रथा हराएर जाने नै हो किजस्तै छ । टोलटोलमा खसी बोका मार हान्ने (हतियारले गर्धन छिनाल्ने) चलन पटक्कै देख्न छोडेको छ । सवारीसाधन, गाडीहरूमा पशु भोग दिने चलन पनि हराएकोजस्तै छ । मानव अधिकारजस्तै पशु अधिकारको सम्मान, खुलेआम काटमार गर्दा शोभनीय नहुने साथै अत्यधिक महँगीले गर्दा पनि यो प्रथामा कमी आएको हुनुपर्छ । साथै, पैसा मात्र भए विना दुःख कठिनाई आफूले मनपरेको, चाहेको वस्तु बजारमा सजिलै किन्न पाउने सुविधा भएर पनि यसमा कमी आएको हुनुपर्छ ।

दशैँको अर्काे एक रोचक र रौनक बढाउने चलन दिउँसो चङ्गा उडाएर रमाइलो गर्ने परम्परा हो । युवा, युवती र केटाकेटीहरूलाई मनपर्ने खेल थियो यो । तर आज करिबकरिब यो रौनक देख्न छाडेको छ । आजका युवायुवतीहरूको रोजाइमा चङ्गा चेट पर्न सकेको देखिएन । डिजिटल प्रविधिको क्षेत्रमा आपार प्रगति हुनु र जनमानसको हातहातमा मोबाइल फोन हुनुबाट के वृद्ध, के युवा, के बच्चा सबै डिजिटल खेलतिर आकर्षित भएको पाइन्छ, जसले गर्दा सामूहिकरूपमा दशैँमा खेलिने खेलमा सहभागी हुने मौकाबाट बञ्चित भएको देखिन्छ ।

आजभोलि नेपाली युवायुवतीहरू विभिन्न बहानामा अर्कै मुलुकमा पलायन हुनेहरूको संख्या अत्यधिक बढेको अवस्था छ । दशैँकै मुखमा पनि आँखाभरि आँसु झार्दै दिनहुँजसो हजारौँको संख्यामा परिवारबाट अलग भई देश छोड्नेहरूको भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ । देश छोड्नु अगाडि विमानस्थलको प्राङ्गणमै मायाले गर्दा आमाबाबुको हातबाट टीका लगाएर देश छोडेको पनि देखियो । फलतः परिवार बीचसँगै बस्ने र चाड पर्वहरू मनाउने अवसरबाट बञ्चित हुनपुगेको देखिन्छ । यसबाट पनि दशैँ पर्वमा धेरै असर पारेको देखिन्छ ।

विगतमा विदेशमा विभिन्न कारणले बसोबास गरेका नेपालीहरू स्वदेश फर्कने र परिवार एवं साथीभाइसँगै बसी दशैँ पर्व मनाउने गरिन्थ्यो । तर विगत केही वर्षदेखि यस चलनमा व्यापक परिवर्तन आएको छ । हिजोआज विदेशमा बसेका आफ्ना परिवार, सन्तानसँगै दशैँ मान्ने साथै बाहिर घुम्न जाने बहानामा विदेशिने चलन बढेको छ । विदेशमा बसाइँसराइ गरिसकेका नेपालीहरू पनि नेपाल आउनुभन्दा उतै आफ्ना आमाबुबालगायत परिवारका सदस्यलाई प्रायोजक गरी आफू बसेको देशमै मनाउने चलन अपनाएको देखिन्छ । यसको मुख्य कारण कामबाट फुर्सद नहुनु, समय नमिल्नु, आर्थिक हिसाबले पनि अभिभावकलाई बोलाउँदा भार कम हुनु र अभिभावकहरूले पनि घुम्न पाउने भएकाले मान्न सकिन्छ । हालै दशैँको समयमा काठमाडौंबाट अस्ट्रेलिया जाने जहाजमा यात्रा गर्ने पाँच सयमा दुईतिहाइभन्दा बढी नेपाली रहेको समाचार सुन्नमा आएको छ । हुन त यसरी नेपाली चाडपर्व विदेशमा पनि फैलिएको देखिन्छ, जुन आफ्नो पहिचान र संस्कृतिको हिसाबले राम्रो मान्न सकिन्छ । तर यसबाट आर्थिकलगायत विभिन्नरूपमा पारिवारिक, सामाजिक तथा नेपाललाई हुने क्षतिको लेखाजोखा के होला भन्ने विचारणीय देखिन्छ ।

काठमाडौं जहाँ द्रूत गतिमा सहरीकरण भइरहेकै छ र रोक्ने क्रम देखिँदैन । ठूलो संख्यामा विभिन्न जिल्लाबाट बसाइँसराइ गरेर काठमाडौंमै बसोबास गर्ने भएबाट धान्नै नसक्ने जनसंख्याको ठूलो चाप दिनानुदिन बढेको बढ्यै छ भने अव्यवस्थित बसोबास भएकाले काठमाडौं सहर नै कुरूप हुनपुगेको छ । अर्काेतिर काठमाडौंवासी खासगरी पढेलेखेका युवायुवतीहरू विदेश पलायन तथा बसाइसराइ समेत गरेकाले स्थानीय रैथानेहरू नै अल्पमतमा परिसकेको तथ्याङ्कले संकेत गरेको छ । संस्कृति, चाडपर्वको केन्द्रको रूपमा लिइने काठमाडौं आज चाडपर्व, गुठी र रीतिरिवाजमा समेत ठूलो परिवर्तन आएको मात्र नभई स्थानीयस्तरमा मनाइने चाड, पर्व, धर्म, कला, संस्कृतिमा समेत अतिक्रमण भएको हो कि भन्ने प्रश्न उठेको छ ।

काठमाडौंमा बसाइँसराइले गर्दा विभिन्न क्षेत्र र समुदायहरूले पनि आफ्ना पहिचानसहितको संस्कृति चाडपर्व काठमाडौंमै मनाउने गरेको देखियो र प्रत्येक दिनजस्तो एक न एक फरक कार्यक्रम देख्न पाउँछौँ । जुन काठमाडौंको लागि नौलो अनुभव भएको छ । काठमाडौंमा बसाइँसराइ गरेका नवआगन्तुकहरूले के काठमाडौंलाई बुझ्न सकेको छ, माया गरेको छ, अपनत्व लिएको छ ? कहिलेकाहीँ काठमाडौंमै बसी काठमाडौंलाई नै गाली गलोच गर्ने स्थानीय रीतिरिवाज, गुठीलाई अपमान गरेको सुनिन्छ, जुन कुनै हिसाबले राम्रो मान्न सकिँदैन ।

दशैँलाई विभिन्न किसिमको नारा दिई बहिस्कारवादीहरू पनि यदाकदा देखिन थालेका छन् । यसले के दर्साउँछ भन्ने बुझ्नु जरुरी देखिन्छ । तराईमा मात्र सीमित हुने दुर्गापूजा अहिले काठमाडौंमा मनाउन थालेका छन् । काठमाडौंवासीले मनाउँदै आएको शक्तिपीठसँगै दुर्गाको कृत्रिम प्रतिमा राखी ठूलोठूलो स्वरमा खासगरी नेपालीभन्दा बाहिरी गीत संगीत बजाई पूजा आराधना गरेको पाइन्छ । जसलेगर्दा परम्परागत स्थानीय दशैँको लागि मात्र बजाइने मधुरो गीत, संगीतलाई असर परेको जनगुनासो मात्र नभई स्थानीय ऐतिहासिक स्थापनालाई चुनौती दिएको त होइन भन्ने प्रश्न उठेको छ ।

छिमेकी देश र तराई क्षेत्रमा मनाइने विश्वकर्मा पूजा काठमाडौंमा पनि सुरुवात भएको छ । काठमाडौंवासीको लागि नौलो हो यो । काठमाडौंवासीहरूले विश्वकर्मा पूजाजस्तै पूजा दशैंको महानवमीको दिन मान्नेगरी आएको परम्परा छ र सोही दिन कलकारखाना, सवारी साधन, शक्तिका रूप तरबार, हातहतियार पूजा गर्ने चलन रहिआएको छ ।

हिजोसम्म नामै नसुनेको बोलबमको यात्रा केही वर्षदेखि काठमाडौंमा व्यापकरूपमा प्रवेश गरेको देख्न सकिन्छ । तराई क्षेत्रमा कामको सिलसिलामा जाँदा मधेशी मूलका एकाध खाली खुट्टा कमला नदीमा देखिने यो यात्रा नेपालको विभिन्न क्षेत्र आगोझैँ फैलिएको देखिन्छ ।

त्यस्तै, तराई क्षेत्रमा भव्यरूपमा मनाइने छठ पर्वको सूर्यदर्शन काठमाडौंको वाग्मती, विष्णुमती र ठूलो पोखरीहरू रानीपोखरी, कमलपोखरी आदिमा मज्जाले हेर्न पाउँछौँ । सम्झना भएसम्म काठमाडौं वा अन्य स्थानहरूमा बसोबास गरेका तराईवासीहरू छठ पर्वको लागि तराईतिर नै झर्ने गरेको पाइन्थ्यो र धुमधामका साथ मनाइन्थ्यो ।

त्यस्तै, सुदुरश्चिमाञ्चलमा मनाइने देउडा आजकल काठमाडौंमा भव्यरूपमा मनाउने गरेको पाउँछौँ । त्यस्तै, काठमाडौंमा ल्होछार पर्व, थारु जातिको पर्वलगायत अन्य पर्वहरू पनि मनाउने गरिएको छ ।

लोकतन्त्रमा आफ्नो जात, धर्म, संस्कृति, भेषभुषा, भाषा प्रवर्द्धन गर्ने, मान्ने र मनाउने अधिकार छ, छुट पक्कै पनि छ तर एकआपसमा मिलेर सहभागी भई कार्यक्रम सञ्चालन गर्नुभन्दा आफैंमा मात्र सीमित भई एकअर्काप्रति अस्वस्थ प्रतिस्पर्धा गर्ने गरेको पाइन्छ, जुन स्वाभाविक मान्न त सकिएला तर यसको असर कालान्तरमा के हुने हो हेर्न बाँकी नै छ ।

गत इन्द्रजात्रामा जसरी काठमाडौं महानगरपालिकाका प्रमुखले पहिलो दिनको औपचारिक कार्यक्रम बहिस्कार गर्न पुग्यो र आफ्नै तस्वीर अंकित लुगा लगाउन दिएर केही युवायुवतीहरूलाई प्रदर्शन गर्न लगाए, त्यसले इन्द्रजात्रालाई नै चुनौती दिएको त होइन भन्न थालेका छन् र कुनै हालतमा मान्य हुन सक्दैन ।

हाल देखिएका विभिन्न रीतिरिवाजले के–कस्ता चुनौतीहरू भोग्नुपर्ने हो समयले देखाउँला नै । आजसम्म काठमाडौंको आफ्नै विशिष्टता छ, मौलिकता छ, विश्वमा पहिचान र विरासत कायम गरेको छ । विविधतामा एकता काठमाडौंको पहिचान रहिआएको हो । बिग्रिनुभन्दा अगावै सम्बन्धित क्षेत्रका अगुवा, अभियन्ताहरू, राजनीतिक दल र नेताहरूले समयमै सावधानीपूर्वक यसतर्फ ध्यान दिनु अनिवार्य छ । सानो माछा मार्न धेरै समय बिताउँदै गर्दा ठूलो माछा उम्केको धेरै उदहारणहरू पाउँछौँ । एउटा ठूलो प्रश्न खडा भइसकेको छ कि के काठमाडौंले काठमाडौं बचाउन सक्ला ?


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x