Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यावसायिक कृषिबाट समुन्नत कृषकको अवधारणामा बगनासकाली

व्यावसायिक कृषिबाट समुन्नत कृषकको अवधारणामा बगनासकाली


पोसकान्त पोखरेल
बुटवल, असार २२
पाल्पाको बगनासकाली गाउँपालिकाले व्यावसायिक कृषिबाट कृषकहरुको जीवनस्तर उकास्ने अवधारणा बनाएको छ । विगत तीन वर्षदेखि कृषि क्षेत्रको विकासमा बर्सेनी प्रगति गर्दै निर्यातमुखी कृषि प्रणालीसम्म कृषि क्षेत्रमा विकास गर्दै गएको गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि कृषि क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएर लागेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी गराए । बस्यालले आगामी आर्थिक वर्षका लागि प्रमुख प्राथमिकताको क्षेत्र स्वास्थ्य र कृषि रहे पनि समृद्ध गाउँपालिका निर्माणका लागि सबै क्षेत्रका योजनाहरु कार्यान्वयनमा ल्याएको बताए ।

दिगो विकास, सुशासन र जनसेवाका लागि शुभ समय भएको बताउँदै बस्यालले कार्यसम्पादनको तीन वर्षे अवधिमा उपलब्ध स्रोत साधन सुहाउँदो विकास भएको र समृद्धिको दिशातर्फ उन्मुख भई जग बसाल्न सफल भएको बताए । गाउँपालिकाको विकासका लागि भए गरेका कामहरु स्मरण गर्दै अध्यक्ष बस्यालले भने, हामी उज्यालो बगनासकाली अभियान छौँ, फुसरहित घर अभियान, ऐन कानुन निर्माण, न्यायिक समिति गठन र सबलीकरण, बालमैत्री स्थानीय शासन अभियान, कृषि विकासका लागि व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरणको सुरुवात, व्यावसायिक पशुपालन, जनस्वास्थ्यमा विशेष चासो, स्थानीय पाठ्यक्रम निर्माण, पशुपन्छी विकास, शैक्षिक गुणस्तर सुधारका गरिएका प्रयासहरु निरन्तर छन् र रहनेछन् ।

दीर्घकालीन विकासको लागि आवधिक त्रि–वर्षीय योजना तर्जुमा गरी कार्यान्वयन गर्ने नीति अवलम्बन गरेको बताउँदै अध्यक्ष बस्यालले गाउँको भू–उपयोग नीति तर्जुमा गरी कृषि गाउँको समुन्नत गाउँको रुपमा विकास गर्ने, पर्यटन विकासको समुचित विस्तार र प्रवर्द्धन गर्ने, सम्भावित करका क्षेत्रहरुको पहिचान गरी दायरा फराकिलो बनाउने, सार्वजनिक सम्पत्तिको पहिचान गरी संरक्षण र सम्वर्द्धन गर्ने, सार्वजनिक, निजी, साझेदारी नीति कार्यान्वयन गर्न जोड दिने, शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, कला, संस्कृति र खेलकुदको विकास गर्ने, सूचना प्रविधिको विकास र विस्तार गरी सेवा प्रवाहलाई छरितो तुल्याउने, सरसफाइ र वातावरण संरक्षणमा अग्रणी नमुना गाउँपालिकाको रुपमा रुपान्तरण गर्ने, बालमैत्री गाउँपालिका घोषणा गरी निरन्तरता दिने, पहुँच विस्तार गरी बस्तीसम्म विकासका अवसरहरुको पर्याप्त उपयोग गरी अवस्थाको सुनिश्चितता गर्ने, उत्पादनमूलक क्षेत्रमा व्यावसायिकता र उद्यमशीलताको विकास एवं सामाजिक परिचालनमार्फत गरिबी न्यूनीकरण गर्ने, विकासको दृष्टिले पछाडि परेका वडाहरुमा प्राथमिकताका आधारमा विकास गरी जनताको सामाजिक आर्थिक रुपान्तरण गर्ने, स्वच्छ सुरक्षित खानेपानी, सरसफाइ र स्वास्थ्यसम्बन्धी चेतनाको अभिवृद्धि गरी दीर्घकालीन लक्ष्य प्राप्तिमा टेवा पु-याउने नीतिअनुरुप सञ्चालित भएको बताए ।

बस्यालले विकास कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गर्दा सरोकारवालाहरुबीच समन्वय कायम गर्दै जनसहभागिता, पारदर्शिता र उत्तरदायित्व बढाई सुशासनको प्रत्याभूति दिने, वातावरणमैत्री नीति योजना र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने, कृषि एवं पशुपालनलाई व्यवसायीकरण गरी आय आर्जन वृद्धि गर्ने, समृद्ध, समुन्नत र स्रोत सम्पन्न आधुनिक गाउँपालिकाको रुपमा विकास गर्ने, कृषिको व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरण गरी आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्ने, कृषि उपज संकलन र ढुवानी तथा बजारीकरणमा कृषकलाई सहयोग गर्ने, कृषि उपज तथा कृषि जन्य उत्पादनमा आत्मनिर्भरताका लागि उद्यमशीलताको प्रवर्द्धन गर्न मल, बीउ, कीटनाशक औषधिको उपलब्धतातर्फ ध्यान दिँदै नीति तथा कार्यक्रम तयार गरिएको बताए ।

युवा स्वरोजगार, कृषि बीमा, गोठ सुधार, नश्ल सुधारका कार्यक्रमहरुलाई विशेष महत्व दिने नीति अवलम्बन गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले पशुपालन व्यवसायलाई प्रोत्साहन गर्दै व्यावसायिकतातर्फ उन्मुख गरी बगनासकाली गाउँपालिकालाई मासु, दूध र तरकारीमा आत्मनिर्भर बनाउने योजना रहेको बताए । साना, मझौला तथा ठूला उद्योग स्थापना, सञ्चालन एवं प्रवर्द्धन गर्ने योजना रहेको बताउँदै श्रेष्ठले पर्यटन पवर्द्धनका लागि आवश्यक योजनाहरु निर्माण गरेको बताए । सहकारी सञ्जालाई फराकिलो र बलियो बनाई आम जनताको आर्थिक, सामाजिक जीवनस्तर उठाउन प्रयत्न गर्ने योजना रहेको बताउँदै श्रेष्ठले निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी जीवनस्तरमा सुधार ल्याउने योजना रहेको बताए ।

श्रेष्ठले उर्वर कृषि भूमिलाई गैरकृषि कार्यको लागि प्रयोगमा ल्याउने कार्यलाई निरुत्साहित गर्ने, खेतीयोग्य बाँझो जग्गाको अभिलेखीकरणलाई व्यवस्थित गरी उपयोग गर्ने, राजमार्ग एवं सहायक राजमार्गको छेउछाउमा कफी, अलैची, उँखुजस्ता नगदेबाली उत्पादन पकेट क्षेत्र निर्माण गर्ने, कृषि उपज संकलन केन्द्रको सञ्चालन प्रशोधन, सञ्चय र ढुवानी गर्ने कार्यलाई कृषि सहकारीमार्फत सञ्चालन हुनेगरी विशेष अनुदानको व्यवस्था गर्ने, युवालक्षित कृषि कार्यक्रम सञ्चालन गरी युवालाई कृषिमा आकर्षित गर्ने, हानिकारक किटनाशक औषधिको अत्यधिक प्रयोग गरी कृषि उत्पादन गर्ने, समूहमा अर्गानिक खेती गर्ने किसान समूह, सहकारीलाई जैविक मल बनाउने तालिम र बीउमा अनुदान एवं अर्गानिक उत्पादनको पहिचानसहित बजारीकरणमा सहयोग गर्ने, व्यावसायिकरुपले कृषि व्यवसाय गर्ने कृषक, कृषक समूह, कृषि सहकारीलाई विशेष अनुदानको व्यवस्था मिलाउने गरी गाउँपालिकाले कृषि नीति अवलम्बन गरेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x