Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमुटु रोग, खानपान र दीर्घायु !

मुटु रोग, खानपान र दीर्घायु !


काठमाडौं । हुन त म मुटु रोगसम्बन्धी विशेषज्ञ होइन । डाक्टर हुने त झनै कुरै भएन । तथापि पनि म आफ्रू एक मुटु रोगी (हर्टफेल्यर–हर्टफेल्युर माइयोकार्डियो–माइकार्डियो) चाहिँ हुँ । त्यसैले म आफैंले अनुभव गरेको आधारमा अनुभूतिजन्य ढंगे मुटु (हृदय) रोगसम्बन्धी लेख लेख्दैछु । हुन पनि भर्खरै हिन्दु धर्मालम्वीहरूको महान पर्व ‘दशैँ’ सकियो भने, लगत्तै ‘तिहार तथा ‘म्ह पूजा तथा न्हूँ दयाँ’ आउँदैछ । तिहारसँगसँगै ‘छठ पर्व’ पनि आउँदैछ । यी सबै पर्व चाडमा नियमितभन्दा बढी निक्कै नै बढी मात्रामा मासुमांस र चिल्लो पदार्थहरू प्रयोग गर्ने गरिन्छ ।

जे होस्, विश्वभरिका मुटु (हृदय) रोगीहरूका सम्बन्धमा अध्ययन गर्ने संस्था ‘वल्र्ड हेल्थ फेडरेसन (डब्लुएचएफ)’ का अनुसार वर्षेनि दुई करोड पाँच लाख मान्छेहरू मुटु (हृदय) रोग ‘कार्डियोभास्कुलर डिजिज (सीभीडी)’ का कारण विश्वभर मर्ने गरेका छन् । त्यसरी मुटु रोगका कारण त्यसरी मर्नेमध्ये ८० प्रतिशतभन्दा बढी नेपालजस्तै अविकसित देशका मानिसहरू रहेका छन् । आय स्रोतका आधारमा हेर्दा त्यसरी मुटु (हृदय) रोग ‘कार्डियोभास्कुलर डिजिज (सीभीडी)’ का कारण मर्ने मान्छेहरूमध्ये पाँच जनामा चार जना मध्यम एवम् कम आयस्रोत भएका अविकशित देशहरू रहेका छन् । अध्ययनकर्ताहरूले अध्ययनको निष्कर्षअनुसार विश्वमा जति मान्छेहरू नसर्ने रोगका कारण मर्ने गर्छन्, त्यसमा मुटु (हृदय) रोगका कारण मर्ने मान्छेको क्रम पहिलो नम्बरमा छ । त्यसैले गर्दा मुटु (हृदय) रोगीहरूले आफ्नो आयु लम्ब्याउन के–के खाने कुराहरू खाने, कति खाने ? के–के खाने कुराहरू नखाने, किन नखाने ? मेरो आफ्नै अनुभवका आधारमा लेख्दैछु ।

हुन त कुनै पनि मानिसको जीवन उसैको हातमा रहेको हुन्छ । त्यसैले मुटु (हृदय) रोगीहरूले आफूलाई मुटु (हृदय) रोग लागेको थाहा पाएपछि धेरै होसियार भएर के खाने, के नखाने ? कति खाने, कसरी खाने ? सो सम्बन्धमा ध्यान दिनुपर्ने देखिन्छ । आफैँले खानपिनमा ध्यान दिन सके आफ्नो जीवनलाई केही बढी समय बचाउन सकिन्छ । खासगरी मान्छेको मुख्य अंग नै मुटु (हृदय)लाई मान्ने गरिन्छ । हुन त आजभोलि मान्छेले फोक्सो, मृगौला, कलेजो, फियो, आँखा, शरीरका कुनै अंगहरू बिग्रेमा, काम गर्न नसक्ने भएमा, जलेमा वा कुहिएमा सजिलैसँग फेर्न सक्ने प्रविधि आएको छ । तर, त्यसका लागि पनि प्रशस्त खर्च गर्न सक्ने हैसियतचाहिँ हुनुपर्यो । तर, मुटु (हृदय) को कुरो त बेग्लै छ । किनभने, मुटु (हृदय)जस्तो मान्छेको प्रमुख अंग हामीले हत्तपत्त फेर्न सक्दैनौँ, पाउँदैनौँ । विकसित र विकासशील देशमा चाहिँ लामो समयदेखि मुटु (हृदय) फेर्ने गरिएको देखिन्छ । तर, नेपालमा चाहिँ अहिलेसम्म पनि मुटु( हृदय) फेर्ने सम्बन्धमा कुनै ऐन, कानुन, नियमहरू बनिसकेको छैन । जे भए पनि जानकारहरूका भनाइअनुसार विश्वमा अहिले दुई तरिकाले मान्छेको मुटु (हृदय) फेर्ने गरिएको छ ।

१. अचानक कुनै दुर्घटनामा परेर मरेका मान्छेको मुटु २२–२४ घण्टाभित्र अर्को मान्छेमा फेर्न सकिन्छ । यसका लागि मर्ने मान्छेको आफन्तले सहमति दिनुपर्ने हुन्छ ।

२. कुनै मान्छेले आफू मरेपछि मुटु (हृदय) दान गर्छु भनेर घोषणा गरेको छ भने त्यो (मर्ने) मानिसको ब्रेन डेथ (दिमागले काम गर्न छाडेपछि, दिमागको मृत्यु भएपछि !) मुटु निकालेर मुटु फेर्नुपर्ने मान्छेको अंंगमा ट्रान्सप्लान्ट गरिन्छ । तर, नेपालमा चाहिँ कतिपय मानिसहरूले आफ्नो मृत्युपछि स्वेच्छाले दान गरेको शरीरको विभिन्न अंगहरू आफन्त र नातागोताहरूले नदिने, भाँजो हाल्ने गरिएको घटनाहरू सुन्न, पढ्न पाइन्छ । यो भनेको नेपालीहरूमा चेतना आई नसकेको अवस्था हो ।

त्यसैले नेपालका मुटु रोगीहरूले आफ्नो आयु बढाउनका लागि ताजा र हरियो तरकारी, घ्यु सिमी, गुलाबी भिण्डी, गुलाबी रंगको बन्दाकोबी, गुलाबी रंगको मुला, चुकन्दर, फलफूल, सलाद, नट्स, तोरीको तेल, जैतुन (ओलिभ आयल)को तेल, माछा, छाला फालेको सेतो मासु (कुखुरो, हाँस, बंगुर आदि) उवा, जौ, फापर, गहुँ, कोदो, मकै (धानजन्य खानाहरू कम खाने) बाट बनेको खाने कुरो खाने गर्नुपर्छ । हुन त हामी नेपालीहरूलाई चामलको भात नै खानुपर्ने बानी परेको हुन्छ । त्यसैले भात नै खाए पनि अलि कम खाने, माछा, मासु, तेल, अण्डा, डिब्बामा बन्द गरिएका जुसहरू, फलफूल, तरकारी, प्याकिङ गरेको अन्य खाद्य–पदार्थ र चिजबिजहरू, धेरै तातोमा खारेको घ्यु, पनिर, मोजिला, दहीलगायत खानेकुरो सकेसम्म खाँदै नखानु राम्रो हो । आफूले सधैँ खाने गरेको खानेकुरोहरू पाउँदै नपाएमा थोरै मात्रामा अन्य खानेकुरोहरू खानुपर्छ ।

तर, आर्थिकरूपमा कमजोर मान्छेहरूलाई मुटु (हृदय) रोग लागेमा के गर्ने होला ? किनभने, आर्थिकरूपमा कमजोर मान्छेले त्यसरी दैनिकरूपमा खानेकुरो बार्न सम्भव हुन्छ ? भन्ने पनि हुँदो रहेछ । त्यसको उदाहरण लामो समयदेखि म आफैं रहेको छु । तर, पनि मुटु रोगीहरूले सधैँ त्यसरी हरियो सागसब्जी, तरकारी, फलफूल, सलाद, नट्स, तोरीको तेल, जैतुन (ओलिभ आइल)को तेल, माछा, छाला फालेको सेतो मासु, उवा, जौ, फापर, गहुँ, कोदो, मकै खान नसके पनि सिस्नो, साग, आलु, आँटा, ठीकठीकै दाममा पाइने तरकारीहरू किनेर खान सकिन्छ । अझ ‘भेगन’ (मासु, माछा नखाने)हरूको भनाइनुसार त मान्छेले माछा–मासुबाट पाउने तत्वहरू, फलफूल, सागपात, हरियो–परियो, सलाद, नट्स आदिबाटै पाउन सकिन्छ । त्यसैले मुटु रोगीहरूले खानाको मात्रा मिलाएर दैनिक फलफूलहरू, सागपात, सलाद, नट्स खाएमा माछा–मासुबाट पाउने हरेक तत्वहरू पाउन सक्छौँ । साथै, खानेकुरो खाँदा मात्रा मिलाएर ठिक्क खाने गर्नुपर्छ ।

मान्छेहरू बिरामी हुने अनेक कारणहरूमा खानेकुराको मात्रा नमिलाएर, खान नजानेर र समयमा नखाएर पनि हो । त्यसैले जो कोही मान्छेले खानेकुरो खाँदा सकेसम्म मात्रा मिलाएर र ठीक समयमा खाने गर्नुपर्छ । किन खानेकुराको मात्रा मिलाएर खाने, किन समयमा खाने, किन ठिक्क मात्रै खाने ? धेरैलाई थाहा नहुन सक्छ । त्यसको लागि हामीले मेसिन वा कल–कारखानालाई लिन सक्छौँ । किनभने निर्जीव मेसिन वा कल–कारखानालाई पनि निश्चित समयसम्म काम गरेपछि आराम चाहिन्छ । त्यसैले हाम्रो मुख्य अंगहरू मुटु, कलेजो, मिर्गौला, फोक्सो, नसा, फियो, पित्त, आन्द्रा–भुँडी, पिसाब–थैली आदिले पनि दैनिकरूपमा ठीक समयमा ठीक काम मात्रै गर्नुपर्ने हुन्छ । त्यसो गर्यो भने बल्ल हाम्रो आयु केही समय भए पनि लम्बिन्छ । त्यसैले मुटु (हृदय) रोगीलगायत दीर्घ रोगी मानिसहरूले जताभावी अनि बढी मात्रामा मासु, माछा, मिठाई, चिल्लो पदार्थका साथै बोसोजन्य खाद्य–पदार्थ नखाऔंँ, आफ्नो नघटाऊँ । मुटुलगायतका दीर्घरोगीहलाई चेतना भया..!


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x