Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशतिहार नजिकिँदै जाँदा चिनी आयातमा कार्टेलिङ

तिहार नजिकिँदै जाँदा चिनी आयातमा कार्टेलिङ


विराटनगर । लामो समयदेखि चिनीको व्यापारमा सक्रिय हुँदै आएका विराटनगरका केही व्यवसायीहरूले तिहार नजिकिँदै जाँदा रातारात चिनीको हाहाकार मच्चाउन थालेका छन् । सुनसरी जिल्लामा इस्टर्न सुगर मिल सञ्चालन गर्दै आएको विराटनगरको उच्च घरानामा रहेको गोल्छा समूह र विशाल समूहको व्यवसायी ग्रुप तथा चिनीको ट्रेडिङ कारोबारीहरू समेतको संलग्नतामा चिनीमा नक्कली अभाव सिर्जना गरिएको छ ।

चिनी व्यापारीले सरकारले सहुुलियत भन्सारमा चिनीको आयात गरेपछि व्यापारीहरूले चिनीमा कार्टेलिङ गर्न सुरु गरेका हुन् । व्यवसायीहरूले एकै रातमा चिनीको हाहाकार मच्चाएर कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्य असुली गर्न थालेको सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीले जानकारी दिएका छन् । कोरिडोरमा रहेका विष्कुट उद्योगदेखि चकलेट र जुस उद्योगका लागि मात्रै दैनिक दश हजार मेट्रिक टनभन्दा बढी नै चिनीको आवश्यकता पर्ने गरेको छ । चिनीको कृत्रिम अभावले अधिकांश कन्फेक्सनरी, चकलेट र जुस बनाउँदै आएका उद्योगहरू बन्द हुने अवस्थामा रहेको यहाँका एक उद्योगीले बताए । चिनीको ट्रेडिङ कारोबारीबाट महँगो मूल्यमा चिनी खरिद गरेर उद्योग सञ्चालन गर्न नसक्ने उनले जानकारी दिए ।

पछिल्लो समय चिनीका कारोबारीहरूले सीमा सुुरक्षामा खटिएको ससस्त्र प्रहरीको विओपीसँग सेटिङ गरी ट्रकमै अवैध चिनी आयात गर्ने गरेका छन् । तिहार नजिकै आएका बेला मौकाको फाइदा उठाउँदै व्यवसायीहरूले चिनी भण्डार गरेर राखेर कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा चिनी बिक्री गर्न थालेका हुन् । चिनीको आयात गरी ट्रेडिङको कारोबारबाट कमाउन पल्केका चिनी व्यवसायीले भारतबाट सेटिङ गरी आयात गरेको चिनीबाट बढी फाइदा लिनका लागि बजारमा चिनीको हाहाकार मच्चाएको खुद्रा व्यवसायीको दाबी छ ।

साल्ट ट्रेडिङले आफूसँग भएको मौज्जात चिनीले चाडवार्डमा धान्न नसकिने र नयाँ टेन्डरबाट आउने चिनी आयात गर्न कम्तीमा एक महिना लाग्ने जनाएको छ । सरकारले आयात गर्ने भनिएको चिनी आउन एक महिना लाग्ने भएपछि चिनी माफियाहरूले ब्रह्मलुट मच्चाउन चिनीमा कृत्रिम अभाव सिर्जना गरेको खुद्रा व्यवसायीहरूले गुनासो गरेका छन् । स्रोतका अनुसार चिनी व्यवसायीहरूले विराटनगर भन्सार नाका भएर पाकिस्तान, थाइल्यान्ड, ब्राजिल, बंगलादेश, युनाइटेड अरब इमिरेटस आदि मुलुकबाट ठूलो परिमाणमा चिनी आयात गरी स्टोर गरेर राखेका छन् । त्यसरी स्टोर गरेर राखेको सबै चिनी सरकारले आफ्नो नियन्त्रणमा लिएर सहुलियत मूल्यमा उद्योग तथा उपभोक्तालाई उपलब्ध गराउनुपर्ने कोरिडोरका ती उद्योगीको माग छ । अन्यथा सबै कन्फेक्सनरी, चकलेट र जुस उद्योग बन्द हुने मात्रै नभएर हिन्दुुहरूको दीपावली पर्वमै चिनीको हाहाकार हुने उनीहरूको दाबी छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x