Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकार नयाँ, काम भने पुरानै

सरकार नयाँ, काम भने पुरानै


काठमाडौं । यतिबेला सरकारको सय दिनका उपलब्धिहरूको गणना गराउने लहर चलेको छ । यो एक प्रकारले राम्रो पनि हो । सरकार र तिनका सदस्यहरू जनताबाट निर्वाचित व्यक्ति हुन् । त्यसकारण उनीहरूको यो समयको जीवन निर्वाह नैै एक प्रकारले सार्वजनिक हुन्छ । त्यसमाथि उनले आफ्नो कार्यकालमा सम्पन्न गरेका काम कुराहरूको त झनै महत्व रहने भयो नै । सय दिन यस कारणले महत्वको हो जो अबका दिन कसरी बित्छन् र के–के गरिन्छ भन्नेप्रति जनताको ध्यान जान्छ । तर पछिल्ला दिन सरकार कति अस्थिर भएका छन् भने सय दिन गन्दागन्दै सरकारको दिनगन्ती सुरु भएको पनि पाइन्छ । जस्तो पछिल्लो आमनिर्वाचनपछिको पहिलो सरकार गठन भएको तीन महिना पनि नपुग्दै विघटन भएको थियो । त्यसबेला १० पुसमा सरकार बन्यो र त्यही वर्षको फागुन २१ मा सरकारका सहयात्री दलले समर्थन फिर्ता लिए । पछिल्लो समय पनि फागुन २२ मा अर्को गठबन्धनको सरकार बन्यो र असार २२ मा त्यसका सहयात्री दलले समर्थन फिर्ता लिए ।

यी समर्थन र फिर्ताका सन्दर्भमा प्रधानमन्त्री भने एउटै थिए । तर उनको सरकारका सदस्य भने फेरबदल भइरहे । यस्तोबेला जुनसुकै सरकारका मन्त्रीहरूको सय दिनको त्यति महत्व हुन छाडेको अवस्था प्रकट हुँदैगएको देखिन्छ । पछिल्लो समय एमालेका अध्यक्ष केपी ओलीको सरकार भने संसद्का दुई ठूला दलको गठबन्धनबाट बनेको र यी दुई दलकै संख्या करिब दुईतिहाइको हाराहारीमा रहेका हुँदा यो सरकारका मन्त्रीहरूको आयु केही बढी हुने मानिएको हो । यही क्रममा ओली सरकारको सय दिन पुगेको छ । यो सरकार गठन हुँदा गरिएको सम्झौतामा देशमा व्यापकरूपले उत्पन्न निराशालाई मेट्दै आशा र विश्वास जगाउने गरी काम गर्ने भन्ने उल्लेख भएको छ । सरकार जोसुकैको नेतृत्वमा रहेको भए पनि कामचाहिँ देखिने गरी नै हुनुपर्ने भन्ने भन्ने हुटहुटी भने देखिँदै आउने गरेको छ । तर, सरकार अर्थात् प्रधानमन्त्री र मन्त्रीले जेलाई काम ठान्छन् नागरिकका नजरमा ती सामान्य नै रहने गरेका छन् । त्यस कारण पनि होला प्रधानमन्त्री र मन्त्रीले सय दिन वा आफू हट्ने बेला आफूले ऐतिहासिक काम गरेको भनेर जे–जेलाई देखाउँछन् जनताका नजरमा ती उल्लेख हुने गरेका छैनन् । त्यसका नमुना एक पात्र त अहिलेका प्रधानमन्त्री नै हुन् । यो उनको चौथो कार्यकाल हो । यसअघि उनले विपक्षमा हुँदा धेरैपटक आफूले गरेका कामलाई विश्व समुदायले प्रशंसा गरेको भनेर बताइरहेका हुन्थे तर ती के थिए भन्नेचाहिँ उनले कहिल्यै खुलाएनन् ।

उनको यो चौथो कार्यकालको सय दिन बित्न लाग्दा उनी र उनका मन्त्रीले जस्तारूपले आफ्ना सय दिनका उपलब्धि भनी अघि सारेका छन् । त्यसमा आमतहको कुनै चासो देखिएकोजस्तो पाइएन । उदाहरणका लागि भूमिसुधार मन्त्रीले आफ्नो सयदिनका उपलब्धि भनी भूमिसुधार आयोग बन्न लागेको कुरालाई प्राथमिकताका साथ प्रस्तुत गरेका देखियो । यसमा विगत लामै समयदेखि सरकार आलोच्य हुँदै आएको छ । जो सरकार भए पनि यस्तो आयोग गठन गर्ने र मौका पर्नासाथ आफन्तलाई सुकुमवासीको बिल्ला दिलाएर जग्गा बाड्ने काम मात्रै भएको आम बुझाइ छ । तर यता सरकार भने सर्वसाधारणका लागि यस्ता बेतुकका आयोग बन्नुलाई नै देखिने काम गरेको भन्छ । आमनागरिकले सरकाबाट सुधार हुनुपर्ने भनी खोज्नेगरेका कुरा नै यस्तैयस्तै हुन् । त्यसमा जोसुकैको सरकार भए पनि परम्पराबाहेक नयाँ भएको पाइँदैन । त्यसकारण पनि होला सरकार परिवर्तन हुँदा आउने व्यक्ति अधिकांश उनै रहने गरेका अवस्था छ । वर्तमान सकारको सय दिन पनि कुनै नयाँ काम गरेका भनेर देखिन केही भएनन् । सरकारमा चेतना आओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x