Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालबाट भारतमा चियाको बढ्दो निर्यात

नेपालबाट भारतमा चियाको बढ्दो निर्यात


काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको देखिन्छ । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयले जानकारी दिएको सार्वजनिक भएको छ । हालैको चालू आव २०८१/८२ को पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।

यस सन्दर्भमा भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको हो भन्नुमा अत्युक्ति नहोला र वास्तविकता पनि त्यही नै हो । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिए भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने सम्भावना छ । उपलब्ध तथ्याङ्कअनुसार चालू आव २०८१/८२ को पहिलो त्रैमासिकमा भने अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालू आवको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो । सो नाकाबाट प्लाइउड, अम्रिसो र भेनियर सिटको परिमाण क्रमश. २५, ३९ र १६६ प्रतिशतले वृद्धि भएको छ । अर्कोतिर, अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।

नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ । चिया व्यवसायीका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको थिएन । भारतको पानी ट्याङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटनालगायत ठाउँका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दै आएको विगत छ ।

नेपाल सरकारले नेपाली चियाको निर्यातका लागि भारतीय बजारमा मात्रै निर्भर हुन परेकाले त्यसमा विविधीकरण गर्न चीनतर्फ निर्यात गर्ने योजना बनाए पनि अहिलेसम्म चिनियाँ बजार प्राप्त गर्न सकिएको छैन । तर यही संकेतको प्रतिरोध गर्न पनि यो कदम उठाएको हो कि ? यद्यपि पछिल्लो समय चिनियाँ व्यापारीहरू इलाम पुगेर त्यहाँको चिया चाखेर सय टन चियाको अर्डर दिएका छन् । यसले चिया निर्यातको नयाँ बजार खोलेको देखिए पनि चिनियाँ बजारको भर नहुने र दिगो र सम्भाव्य नहुने प्रष्ट छ । नेपालबाट भारतमा मात्र चिया निर्यात हुने होइन, ३८ वटा मुलुकमा नेपाली चिया निर्यात भइरहेको छ । तैपनि भारत सबैभन्दा ठूलो खरिदकर्ता हो । भारतमा अहिले भएको निकासीलाई दिगो बनाउन सरकार निजी क्षेत्रले रणनीतिक योजना र कार्यक्रम लागू गर्नुपर्छ ।

स्मरणीय छ, विगतदेखि नै नेपाली चिया गुणस्तरीय भएर पनि ब्रान्डिङ र बजारीकरण हुन नसक्दा उचित मूल्य पाउन सकेको छैन । अलैँची, अदुवामा जस्तै चिया पनि भारतमा बढी उत्पादन हुँदा उसले कम मूल्यमा किन्ने गरेको छ भने त्यहाँ उत्पादन नभएको वर्ष बढी मूल्य दिने गरेको छ । यसले गर्दा नेपाली उत्पादनको बजार अस्थिर रहिआएको हो । सरसरी हेर्दा, नेपाली चिया उद्योगको सबैभन्दा ठूलो समस्या बजार अभाव र भारतीय एकाधिकारलाई मानिएको छ । युरोप र अमेरिकी बजारमा कुल निर्यातको १५ प्रतिशत मात्रै अंश छ । अत्यधिक निर्यात भारतमा हुने गरेको छ । चिया व्यवसायीका अनुसार नेपालबाट भारत पुगेको चियालाई त्यहाँबाट दार्जिलिङ चियाको ब्रान्डमा अन्य देशमा निर्यात गरिन्छ । त्यो बजार नेपालले लिन सकेको छैन ।

त्यसो त युरोपमा चिया निर्यात बढाउन व्यवसायीले पहल नगरेका होइनन् । यूरोपेली चिया व्यापारीलाई ल्याएर यहाँको चियाको स्वाद चखाएका हुन् र उनीहरूले पनि नेपाली चियाको स्वादको प्रशंसा गरेका थिए । तर, पछि नेपालको चिया बगानमा विविध कारणले चिया उल्लेखनीयरूपमा निर्यात हुन सकेन । यद्यपि, अर्थोडक्स चियाको भने राम्रै निर्यात भइरहेको छ । यस्तोमा सरकारले आफ्नो कूटनीतिक च्यानलबाट चियाका लागि बजार खोजिदिनुपर्छ । तर, सरकारले यसलाई गम्भीरताका साथ नलिइदिँदा चिया निर्यातको लक्ष्य पूरा हुन सकेको छैन । अतः नेपालको चियाका लागि उच्च मूल्यको बजार खोज्न सरकारले कूटनीतिक पहल गर्नु आवश्यक छ ।

नेपालमा चिया उत्पादनको लामो इतिहास छ। पहिलो चिया बगान, इलाम चिया बगान, १८६३ मा इलाम जिल्लाको पहाडी क्षेत्रमा सुरु भएको थियो । इतिहासकारहरूका अनुसार नेपालमा पहिलो चियाको बोट बीउबाट हुर्किएको हो, जुन चिनियाँ सम्राटले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई उपहारस्वरूप दिएका थिए । भारतको दार्जिलिङ पहाडमा जस्तै नेपालमा पनि चियाको खेती सुरु भएको मानिन्छ । सन् १९६५ मा झापा जिल्लाको समतल इलाकामा दोस्रो चिया बगान सोक्तिम चिया बगान स्थापना भएको थियो । नेपालमा समुद्री सतहबाट आठ सयदेखि २२ सय मिटरसम्मको उचाइमा चिया खेती गरिन्छ । यसअघि पूर्वी नेपालको इलाम र झापाजस्ता केही जिल्लामा उत्पादन केन्द्रित थियो ।

पछिल्लो समय देशका अन्य भागमा पनि चिया बगान फस्टाउँदै गएको छ । हाल चियाको क्षेत्रफल २८ हजार सात सय हेक्टर रहेको छ । नेपालले पहाडमा वार्षिक करिब ७१ सय ६८ टन अर्थोडक्स चिया उत्पादन गर्छ । यसले तराईको तराईमा बलियो र चम्किलो उपस्थितिका लागि परिचित १५ सय छ सय ५४ टन सीटीसी चिया पनि उत्पादन गर्छ । चिया नेपाल र भारतमा दैनिकरूपमा प्रयोगमा आउने वस्तु हुन् । तर यो नरम पात एउटा मुद्दाको रूपमा देखापरेको छ । जसलाई दुई देशहरू बीच कूटनीतिक समाधान आवश्यक एवं अनिवार्य भएको छ । दुवै मुलुक विश्वमा सबैभन्दा बढी खपत हुने वस्तुहरू उत्पादन गर्नका लागि परिचित छन् ।

त्यसर्थ, अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको उच्च माग भए पनि नेपाली उत्पादकले आफ्नो उत्पादन विदेश पठाउन चुनौती सामना गरिरहेका छन् । यो अवस्थाको फाइदा उठाएर भारतीय व्यापारीले नेपाली चिया किनेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरेको नेपाली किसान बताउँछन् । नेपाली किसानहरूले सीटीसी (क्रस, टियर, कर्ल) र अर्थोडक्स प्रजातिको चिया खेती गर्छन् । ३० जिल्लामा २० हजार दुई सय ३७ हेक्टरमा चिया खेती गरिन्छ ।

नेपालमा करिब एक सय ६० चिया बगान छन् र १७ हजारभन्दा बढी मानिस चिया खेतीमा संलग्न छन् । तर, पूर्वी नेपालको झापा, इलाम, पाँचथर, तेह्रथुम र धनकुटाजस्ता जिल्लामा मुख्य उत्पादन केन्द्रित छ । भोजपुर, खोटाङ, चितवन, सिन्धुली, पर्वत, काभ्रे, गोरखा, दोलखा, ललितपुर, रामेछाप, प्युठानलगायत जिल्लामा पनि चिया उत्पादन हुने गरेको छ । नेपालको वार्षिक चिया उत्पादन क्षमता करिब २६ हजार तीन सय टन छ । कुल उत्पादनमध्ये लगभग ६५ सय टन अर्थोडक्स चिया हो । जबकि हरियो चिया लगभग सात सय ३० टन हो र बाँकी सीटीसी चिया हो । नेपाल चिया तथा कफी विकास बोर्डले नेपाली चियाको ब्रान्ड पहिचान बनाउने तयारी थालेको छ । बोर्डले ‘नेपाल टी प्रिमियम सीटीसी’ भन्ने नारासहित नेपाली सीटीसी चियाको लोगो तयार गरी बुझाउन डिजाइनरहरूलाई आमन्त्रण गरेको थियो ।

अर्थोडक्स चिया पछि, नेपालको चिया नियामक निकायले सीटीसी चियाको लागि गुणस्तर ट्रेडमार्क जारी गर्ने तयारी गरेको देखिन्छ । क्रश, टियर, कर्ल चियामा सामान्यतया कालो चियाका धेरै प्रकारहरू समावेश हुन्छन् । सीटीसी र अर्थोडक्स चियाबीचको भिन्नता तिनीहरूको प्रशोधन विधिहरूमा निहीत छ । अर्थोडक्स विधिमा परम्परागत विधि प्रयोग गरिन्छ । यसमा अक्सिडेसन र सुकाउनेसँगै पातहरू तोड्ने, सुकाउने र घुमाउने काम समावेश छ ।

सीटीसी प्रक्रिया एकदम फरक छ । चिया पातहरू कुचल्छन्, च्यातिन्छन् र स–साना, कडा हरियो छर्राहरूमा घुमाइन्छ । त्यसपछि तिनीहरू ब्लोअरहरूमा राखिन्छन्, जसले तिनीहरूको अक्सिडेसनलाई छिटो बनाउँछ ताकि छर्राहरू गाढा खैरो हुन्छन् । नेपाली चिया अस्ट्रेलिया, फ्रान्स, क्यानडा, डेनमार्क, चीन, जर्मनी, जापान, इटाली, नेदरल्यान्ड्स, अमेरिका, पोल्यान्ड, स्वीडेन, थाइल्यान्ड, ताइवान, भारतलगायतका देशमा निकासी हुने गरेको छ । यसैबीच सरकारले नेपाली चियाको राष्ट्रिय बजारमा प्रतिस्पर्धा र पहुँच बढाउन ब्रान्डिङ अभ्यास सुरु गरेको छ । भारतबाहेक विश्वभर नेपाली चियाको ठूलो माग भए पनि सेनिटरी र फाइटोस्यानेटरी (एसपीएस)जस्ता उपाय नेपाली निकासीमा बाधक बनेको व्यापारीहरू बताउँछन् ।

भारतीय चिया बोर्डले बेलाबेलामा अनेक बहाना निकालेर नेपाली चिया निकासीमा अवरोध गर्ने गरेको विगत छ । नेपाल सरकारले भारत सरकारसँग सम्झौता गरी सीटीसी चिया निकासीमा अवरोध नहुने वातावरण बनाउनुपर्ने व्यवसायी बताउँछन् । यसो नगर्दासम्म स्वदेशी चिया उत्पादक र व्यवसायी ढुक्क हुन नसक्ने उनीहरूको भनाइ छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x