Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारका १०० दिन : ‘सहकारी ठगलाई कारबाहीदेखि विपद्‌पछि राहतको कामसम्म’

सरकारका १०० दिन : ‘सहकारी ठगलाई कारबाहीदेखि विपद्‌पछि राहतको कामसम्म’


काठमाडौं,केपी शर्मा ओलीले आफू नेतृत्वमा सरकार बनेको १०० दिन पुगेको भोलिपल्ट बुधवार सिंहदरबारबाट सम्बोधन गर्दै “जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने” उद्घोष गरेका छन्।

“म यो भन्ने ठाउँमा आइपुगेको छु। सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम ठगी गर्नेहरूलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ र ल्याउँदै छ,” उनले ओलीले भने।

उनका अनुसार अहिलेसम्म ६६० जनाभन्दा बढीलाई कानुनी कारबाही गरिएको छ भने ५७५ जनाभन्दा बढी जेलमा छन्। उनले सहकारी बचतकर्ताको पैसा फिर्ता गराउन आवश्यक कानुन तथा न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अगाडि बढाइने बताए।उनले आफू प्रधानमन्त्री नियुक्त भएकै समयमा सिमलताल दुर्घटना, सौर्य एअरको विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटनादेखि असोज दोस्रो साताको विध्वंसकारी घटनाहरू भएको स्मरण गरे।असोजमा बाढीपहिरोबाट सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा राहत तथा पुनर्निर्माणको काम थालिएको बताउँदै उनले प्रभावित स्थानमा जनजीवन सामान्य पार्न सरकारले जोडबल लगाएको बताए।

“प्राकृतिक विपत्तिले सरकारको गतिलाई केही समय ढिलो त गरायो, तर सरकार सम्हालिँदै अगाडि बढ्यो,” ओलीले भने।ओलीले सरकारले सेवाप्रवाहका क्षेत्रमा गरेका सुधार, सरकारले गरेका विभिन्न निर्णय र कार्यक्रमलाई समेत आफ्नो सफलताका रूपमा प्रस्तुत गरे।

यसअघि बुधवार बिहान उनले सत्तारूढ दलका नेताहरूसँग बैठक गरेका थिए।

ओली २०८१ असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका हुन्। यो उनको चौथो कार्यकाल हो।अरू उपलब्धि कस्ता
ओलीका अनुसार सातवटै प्रदेशमा जलनको उपचार गर्न नसक्नेहरूलाई कस्मेटिकबाहेक अरूमा नि:शुल्क सेवा दिन थालिएको र सातै प्रदेशमा क्यान्सरको उपचार विस्तार गरिएको बताए।

सवारीचालकहरूले अब नागरिक एपकै भरमा लाइसन्सको काम गर्न पाउने कुरा समेत उपलब्धिका रूपमा प्रस्तुत गरे।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई यसअघि दिँदै आइएको सात लाख रुपैयाँ क्षतिपूर्ति बढाएर सरकारले १० लाख रुपैयाँ पुर्‍याइसकेको उनले बताए।

उनले भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न प्रोत्साहन गर्न इन्धनमा सहुलियत दिइएको र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही उडान सुनिश्चित गरिएको समेत बताए।उनका अनुसार कीर्तिपुर क्रिकेट मैदानमा राति पनि खेल्न सकिने गरी काम अगाडि बढेको छ।

उनले केही सुरुङमार्ग छेडिएको र कतै द्रूत गतिमा काम भइरहेको जनाए। आफू प्रधानमन्त्री बनेपछि ३२.५ किलोमिटर सडक पनि कालोपत्रे गरिएको भन्दै उनले त्यसलाई उपलब्धिका रूपमा प्रस्तुत गरे।

शान्तिप्रक्रियाका बाँकी कामलाई निष्कर्षनजिक पुर्‍याउनका लागि सत्य निरूपण तथा मेलमिलाप ऐन संशोधन गर्न बनेको विधेयक १०० दिनको अवधिमा नै प्रमाणीकरण भएको र आयोग गठनको प्रक्रिया समेत अघि बढेको उनले बताए।कांग्रेस र एमालेबारे के भने
एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी भए पनि तिनको देशमा लामो समयदेखि सङ्घर्ष र योगदान पुर्‍याउँदै आएको तर्क गर्दै उनले ती दलले देश सङ्कटमा पर्दा “राजनीतिक स्थिरता, विकास र सुशासन”का प्रतिबद्धताका भरमा सहकार्य गरेको बताए।

“यी प्रतिबद्धता पूरा गर्न बिग्रिएको थितिलाई सही ठाउँमा ल्याउनुपर्छ। अर्थात् झुट, स्टन्ट र अराजकताले बिथोलेको सामाजिक जीवनलाई यथार्थमा आधारित शान्त र सुसंस्कृत बनाउनुपर्छ,” उनले भने।

ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एउटा सहमति गर्दै प्रधानमन्त्री बनेका हुन्। संसद्‌का दुई ठूला दलले गरेको सहमतिको विभिन्न दल र विश्लेषकहरूले आलोचना गर्दै आएका छन्।ओलीले सरकार बनेकै दिनदेखि त्यसको विरोध सुरु भएको बताए। त्यसको उद्देश्य चलिरहेका उद्योग बन्द गराउने, पुँजी पलायन गराउने र नयाँ उद्योग स्थापना गर्न नदिने भएको उनको दाबी थियो।

उनले घटना र कसैको नाम उल्लेख नगरीकन “परस्पर बेमेल” सिर्जना गर्न खोजिएको भन्दै त्यसलाई “प्रतिगमनको प्रयास”को सङ्ज्ञा दिए। उनका अनुसार सरकार ढल्ने कुरा “काम गर्न नदिनका लागि फैलाइएको अफवाह” जहो।

“कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरूको बनाएको सरकार ढल्ने दिवास्वप्न कसैले नदेखे हुन्छ,” उनले भने।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x