Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्यातको तुलनामा आयात १० गुणा बढी

निर्यातको तुलनामा आयात १० गुणा बढी

तीन महिनामा तीन खर्ब ९० अर्बको आयात, व्यापार घाटा तीन खर्ब ५२ अर्ब


काठमाडौं । सरकारले अर्थतन्त्र लयमा फर्किसकेको बताए पनि उत्पादन बढ्न नसक्दा सबैजसो वस्तुहरू आयात गरेर उपभोग गर्नुपर्ने अवस्था छ । त्यस्तै वस्तु निर्यात पनि निकै कम छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार निर्यात व्यापारको तुलनामा अयात व्यापार १० गुणा बढी छ ।

असोजसम्म तीन खर्ब ९० अर्ब ७५ करोड २३ रुपैयाँ आयात भएको छ भने ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको निर्यात भएको छ । व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष आयात व्यापार चार दशमलव १७ प्रतिशतले घटेको छ भने निर्यात व्यापार पनि छ दशमलव ११ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपैयाँको आयात र ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको निर्यात भएकोे छ ।

नेपालको वैदेशिक व्यापारलाई हेर्दा भान्सामा प्रयोग हुने सामग्रीदेखि लिएर औषधि, महँगा सवारीसाधन, पेट्रोलियम पदार्थलगायतका वस्तुहरू आयात हुन्छ । यही कारण सधैँ व्यापार घाटा हुनेगरेको छ । सरकारले औद्योगिक उत्पादनलाई बढुवा नदिँदा र वास्तविक कृषकलाई नसमेट्दा हालको समस्या देखिएको अर्थविद् केशव आचार्यले बताए ।

वैदेशिक व्यापार तीन दशमलव ९६ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको असोजमा कुल वैदेशिक व्यापार चार खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको वैदेशिक व्यापार चार खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ थियो । सरकारले सहजकर्ता, उत्पेरक र नियामकको भूमिका निर्वाह गर्दै निजी क्षेत्रको सक्रिय सहभागिता अभिवृद्धि गर्ने र विश्वबजारको मागअनुरुपका तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमतायुक्त वस्तुहरूको पहिचान, छनौट, विकास, प्रवद्र्धन र निर्यातका लागि निजी क्षेत्रसँग समन्वय गरिनेलगायतका रणनीति लिई व्यापार घाटा कम गर्ने उद्देश्य सरकारले लिएको छ भने कार्यान्वयन भएको छैन । अर्कोतर्फ निजी क्षेत्र पनि कर छल्ने, उत्पादनलाई बढुवा दिनेभन्दा पनि व्यवसाय मात्र सञ्चालन गर्ने, अनुदान सीमित उद्योगी तथा व्यवासायीको हातमा सुम्पने प्रवृत्तिका कारण औद्योगिक उत्पादनमा समस्या भएको उद्योग मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

करिब ५३ अर्बको पेट्रोलियम इन्धन आयात
असोजसम्म सबैभन्दा बढी परिमाणमा पेट्रोलियम पदार्थको आयात गरिएको छ । ५२ अर्ब ८४ करोड ९७ लाख रुपैयाँबराबरको पेट्रोलियम इन्धन आयात भएकोे छ । यसमध्ये पेट्रोल २२ अर्ब १५ करोड ७० लाख रुपैयाँ, डिजेल १६ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ र खाना पकाउने एलपीजी ग्यास १४ अर्ब छ करोड ४४ लाख रुपैयाँको आयात गरिएको छ ।

यस्तै, फलामजन्य सामग्री १२ अर्ब १० करोड ७७ लाख रुपैयाँ, मोबाइल नौ अर्ब ८३ करोड २८ लाख रुपैयाँ, युरिया मल सात अर्ब ९३ करोड १३ लाख रुपैयाँ, कच्चा सूर्यमूखी तेल सात अर्ब २० करोड ११ लाख रुपैयाँ र भटमास पाँच अर्ब ३४ करोड ७७ लाख रुपैयाँबराबरको आयात गरिएको छ ।

करिब दुई अर्बको गलैँचा निर्यात
असोजसम्म करिब दुई अर्ब रुपैयाँको गलैँचा निर्यात गरिएको छ । समीक्षा अवधिमा गलैँचा एक अर्ब ८३ करोड ६२ लाख रुपैयाँ, चिया एक अर्ब ६३ करोड आठ लाख रुपैयाँ, यार्न एक अर्ब २८ करोड ५३ लाख रुपैयाँ, अलैँची एक अर्ब २६ करोड २१ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै जुस एक अर्ब २५ करोड ३७ लाख रुपैयाँ, जुट एक अर्ब २१ करोड १७ लाख रुपैयाँ, स्टिल तथा फलामजन्य सामग्री एक अर्ब २० करोड रुपैयाँ, ओयल केक ९५ करोड ६१ लाख रुपैयाँ र भटमासको तेल ९४ करोड आठ लाख रुपैयाँबराबरको निर्यात भएको छ ।

सबैभन्दा बढी व्यापार घाटा भारतसँग
नेपालको व्यापार घाटा सबैभन्दा धरै भारत, चीन र युक्रेनसँग छ । समीक्षा अवधिमा नेपालले सबैभन्दा धेरै भारतसँग दुई खर्ब १६ अर्ब छ करोड रुपैयाँ, चीनसँग ७८ अर्ब आठ करोड ६६ लाख रुपैयाँ, युक्रेनसँग छ अर्ब ५१ करोड २२ लाख रुपैयाँ, अष्ट्रेलियासँग पाँच अर्ब पाँच करोड ९५ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ । समीक्षा अवधिमा नेपालले अर्जेन्टिनासँग चार अर्ब ९५ करोड दुई लाख रुपैयाँ, कतारसँग चार अर्ब २७ करोड २५ लाख रुपैयाँ, इन्डोनेसियासँग चार अर्ब एक करोड ८६ लाख रुपैयाँ र मलेसियासँग तीन अर्ब ५७ करोड २० लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x