Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवाणिज्य बैंकहरूको तीन महिनाको नाफा १६ अर्ब

वाणिज्य बैंकहरूको तीन महिनाको नाफा १६ अर्ब

१२ वटाको नाफा बढ्यो आठवटाको घट्यो


काठमाडौं । निक्षेप सङ्कलनको तुलनामा कर्जा विस्तार हुन नसक्दा बैंकहरूको खुद ब्याज आम्दानीमा राम्रो सुधार भएको छैन । तर पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद मुनाफा बढेको छ । खासगरी ‘इम्पेरमेन्ट’ चार्जमा छुट्याउनुपर्ने रकम घटेका कारण बैंकहरूको नाफामा सुधार भएको देखिन्छ ।

२० वटा वाणिज्य बैंकहरूले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले १६ अर्ब २३ करोड १८ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ६४ प्रतिशत अर्थात् दुई अर्ब ८८ करोड ७५ लाख रुपैयाँले बढी हो । गतवर्ष असोजसम्म वाणिज्य बैंकहरूले १३ अर्ब ३४ करोड ३७ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

यस वर्ष पहिलो त्रैमासमा सानिमा बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र एनआईसी एसिया बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिकोे तुलनामा घटेको छ । बैंकहरूको नाफा बढेको छ ।

नबिल बैंक एक्लैले दुई अर्ब बढी नाफा कमाएको छ । त्यसपछि धेरै नाफा कमाउने बैंकहरूमा ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक र एनएमबी बैंक छन् । यी बैंकहरूको नाफा एक अर्ब रुपैयाँभन्दा माथि छ । यीबाहेकका सानिमा, हिमालयन, माछापुच्छ्रे, लक्ष्मी सनराइज, नेपाल एसबीआई, स्टान्डर्ड चार्टर्डसहितका १२ वटा बैंकहरूको नाफा भने एक अर्ब रुपैयाँभन्दा कम छ ।

धेरै बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) पनि बढेको छ । नबिल बैंकले दुई अर्ब पाँच करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ भने यो बैंकको निष्क्रिय कर्जा एक दशमलव ४२ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा नबिलको नाफा एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ र निष्क्रिय कर्जा एक दशमलव ५८ प्रतिशत थियो । ग्लोबल आईएमई बैंकले यस वर्ष पहिलो त्रैमासमा एक अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भनेन चार दशमलव ६७ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकको नाफा एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ र निष्क्रिय कर्जा चार दशमलव ३८ प्रतिशत थियो ।

प्राइम कमर्सियल बैंकले एक अर्ब २८ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ८६ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा प्राइम बैंकको निष्क्रिय कर्जा तीन दशमलव ६७ प्रतिशत र नाफा एक अर्ब ६४ करोड ४९ लाख ८३ हजार रुपैयाँ थियो । प्रभु बैंकले एक अर्ब चार करोड छ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा चार दशमलव ९४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रभुको नाफा एक अर्ब तीन करोड ४२ लाख १४ हजार रुपैयाँ र निष्क्रिय कर्जा तीन दशमलव ९७ प्रतिशत थियो ।

कुमारी बैंकले एक अर्ब सात करोड ८१ लाख ७७ हजार रुपैयाँ नाफा कमाउँदा चार दशमलव ९६ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा कुमारीको यस्तो नाफा २६ करोड ३९ लाख ३५ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जा चार दशमलव ८९ प्रतिशत थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एक दशमलव ९९ प्रतिशत कर्जा खराब छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले एक अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएकोे थियो भने निष्क्रिय कर्जा एक दशमलव ८६ प्रतिशत थियो । एभरेष्ट बैंकले एक अर्ब १२ करोड ७७ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा शून्य दशमलव ७७ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा एभरेष्टको नाफा ७८ करोड सात लाख ५९ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जा शून्य दशमलव ९० प्रतिशत थियो । एनएमबी बैंकले पनि पछिल्लो अवधिमा एक अर्ब १४ करोड ५६ लाख तीन हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव ६३ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा एनएमबीले ९६ करोड ३२ लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ८४ प्रतिशत निष्क्रिय कर्जा देखिएको थियो ।

सानिमा, हिमालयन, माछापुच्छ्रे। लक्ष्मी सनराइज, नेपाल एसबीआई, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ, कृषि विकास, सिटिजन्स, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकहरूले ११ करोड देखि ८६ करोड रुपैयाँसम्म खुद मुनाफा कमाएको देखिन्छ । यी बैंकहरूमा निष्क्रिय कर्जा पनि शून्य दशमलव ७७ देखि पाँच दशमलव ४१ प्रतिशतसम्म छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x