Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘रास्वपाले हुलहुज्जत गरेर न्यायिक प्रक्रिया प्रभावित पार्न खोज्यो’

‘रास्वपाले हुलहुज्जत गरेर न्यायिक प्रक्रिया प्रभावित पार्न खोज्यो’


काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरूले गरिरहेको हुलहुज्जत र सडक प्रदर्शन गरेर अनुसन्धानलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय स्वतन्त्र पार्टी र लामिछानेका समर्थकहरूले राज्यका तटस्थ निकायहरूलाई आतङ्कित र त्रसित पारी अनुचित दबाब सिर्जना गरिरहेको आरोप लगाएको हो । रास्वपाका सांसद तथा सर्मथकहरू सभापति लामिछानले फसाइएको भन्दै कास्की जिल्ला अदालत अगाडि दैनिक धर्ना दिइरहेका छन् । सहकारी ठगी प्रकरणमा केही दिनअघि अनुसन्धानका लागि लामिछाने पक्राउ परेका थिए । राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणलाई बाधा पुर्याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सद्भाव र स्थानीय शान्तिसुरक्षामा समेत खलल पुर्याउने गतिविधिप्रति कांग्रेसले विरोध जनाएको छ ।

संसदीय छानबिन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकाले सोहीबमोजिम केही सहकारीको रकम अपचलन गरेको अभियोगमा गोर्खा मिडिया कम्पनीका सञ्चालकहरू जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेलाई उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । आरोपितहरूमध्ये गोर्खा मिडिया कम्पनीका सञ्चालक जीबी राई फरार रहेका छन् भने छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् । सोही प्रकरणमा जोडिएका आरोपित व्यक्ति लामिछाने पनि केही दिन पहिले पक्राउ परी अनुसन्धानका लागि प्रहरी हिरासतमा नै रहेका छन् ।

‘कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पु¥याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन् बढी जिम्मेवारी हुनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘तर रास्वपाका नाममा भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ ।’

प्रचलित कानुनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरूमाथि समान ढंगले अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ भन्ने मान्यताप्रति कांग्रेस प्रतिबद्ध रहेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विधिको शासन कायम गर्न, न्यायिक प्रक्रियालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु हामी सबैको कर्तव्य भएकाले हुनाले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रक्रियामा सहयोग पुर्याउन कांग्रेसले सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकमा आग्रह समेत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x