Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वका शक्तिशाली नेताहरु रुसमा भेला

विश्वका शक्तिशाली नेताहरु रुसमा भेला


कजान । विश्वका ठूला मुलुक चीन, भारत र रुसलगायत करिब २० मुलुकका प्रमुख नेताहरु अहिले रुसको कजान सहरमा भेला भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गरेको तीन दिने ब्रिक्स बैठकमा भाग लिन चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका नेताहरु रुसको कजान सहर पुगेका हुन् ।

सो अवसरमा विश्वका शक्तिशाली देशका सरकार प्रमुखहरुले एक–आपसमा हित हुने विषयमा छलफल गरेका छन् । सम्मेलनमा बुधबार विश्वका नेताहरुले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । जहाँ रुसी राष्ट्रपति पुटिनले युक्रेन द्वन्द्वमा मध्यस्थताका प्रस्तावहरुलाई स्वागत गरेका छन् ।

केन्द्रीय सहर कजानमा भएको विश्वका करिब २० नेताहरुको यो भेला पुटिनले सन् २०२२मा युक्रेनमा सेना पठाएयता रुसमा आयोजित सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो ।

सन् २००९ मा चार सदस्य ब्राजिल, रुस, भारत र चीनबाट सुरु भएको ब्रिक्स दक्षिण अफ्रिका, इजिप्ट र इरानजस्ता अन्य उदीयमान राष्ट्रहरू समावेश गर्दै विस्तार भएको छ । संयुक्त वक्तव्यमा समूहले ‘मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रमा जारी द्वन्द्व र अस्थिरताबारे गहिरो चिन्ता’ व्यक्त गरेको छ । साथै समूहले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका कर्मचारीहरूमाथि इजरायली आक्रमणको आलोचना गर्दै लेबनानको ‘क्षेत्रीय अखण्डता’ ‘संरक्षित’ गर्न आग्रह गरेको छ ।

नेताहरुले युक्रेन र मध्यपूर्वमा तनाव बढ्न नदिन आह्वान गरेका छन् । युद्ध रोक्नुपर्ने र मुद्दाहरुको न्यायपूर्ण र दीर्घकालीन समाधानका लागि प्रयास गरिनुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

सो अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पाँच वर्षपछि पहिलो औपचारिक भेटवार्ता समेत भएको छ । जहाँ भारत र चीनले द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति पनि गरेका छन् । सीले मोदीलाई चीन र भारतले सहकार्य बढाउनुपर्ने प्रस्ताव राखेको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले दुवै चीनसँगको सम्बन्धमा पारस्परिक विश्वासले मार्गदर्शन गर्ने बताउँदै सीमा विवादमा भएको सहमतिलाई स्वागत गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x