Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन

मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन


म्याग्दी (बेनी) । मुस्ताङको मुक्तिनाथ मन्दिरमा दसैँ सकिएलगत्तै दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । यस मन्दिरमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो ।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीले मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरुको भ्रमणमा आउने पर्यटकहरु उल्लेख्य मात्रामा वृद्धि भएका बताए । उनका अनुसार पछिल्लो एकसातायता दैनिक चार हजार बढी धार्मिक पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरिरहेका छन् ।

मुस्ताङ भित्रिएका पर्यटकमध्ये अधिकांशको पहिलो रोजाइ मुक्तिनाथ पर्ने गरेको छ । दसैँ तिहारको बिदाको समयलाई उपयोग गर्दै दैनिक हजारौँ पर्यटक म्याग्दी हुँदै मुस्ताङ भित्रिने गरेका छन् । मन्दिर नजिक रानीपौवा बजार क्षेत्रमा ३५ वटा सुविधायुक्त होटल सञ्चालनमा रहेका बताउँदै व्यवस्थापक सुवेदीले अहिले सबै होटल दैनिकजसो धार्मिक पर्यटकले भरिभराउ हुने उल्लेख गरे ।

इलाका प्रहरी कार्यालय मुक्तिनाथका अुनसार विदेशी पर्यटकमध्ये अधिकांश छिमेकी मुलुक भारतका छन् । अहिले आउनेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक छन् । चक्रिय अन्नपूर्ण पदमार्गको थोराङभञ्ज्याङ चढेर आउने तेस्रो मुलुकका पर्यटकले पनि मुक्तिनाथको दर्शन गर्ने गरेका मुक्तिनाथ विकास समितिले जनाएको छ ।

दसैँलगत्तै दिनभर भक्तजनहरुको घुइँचो लाग्न थालेपछि बिहानदेखि बेलुकीसम्म पूजाआजा र दर्शनका लागि मन्दिरलाई खुला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । सामान्य अवस्थामा मन्दिर दिउँसो १२ देखि १ बजेसम्म बन्द रहने गरृ्ेको छ ।

“भक्तजनलाई लाइनमा बसेर सहज रुपमा पूजा र दर्शन गर्ने प्रबन्ध मिलाएका छौँ । अशक्त र वृद्धवृद्धाले लाइन बस्नु पर्दैन । मुक्तिनाथको महिमा र प्रचारप्रसारले प्रत्येक वर्ष यहाँ आउने दशनार्थीको सङ्ख्यमा उल्लेख्य वृद्धि हुँदै गएको छ”, उनले भने ।

मन्दिर परिसरमा रहेका एक सय आठ धारा र मन्दिरको अगाडी रहेको जलकुण्डमा स्नान गरेपछि मन्दिरमा पूजा गर्ने चलन रहेको पुजारी सुवेदीले जानकारी दिए । मुक्तिनाथमा दर्शन गर्नाले मनोकामना पूरा हुने र सुख, शान्तिको बास हुने जनविश्वास रहेको छ । मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेसहित म्याग्दीका अधिकांश होटल भरिभराउ भएका छन् । पर्यटकको आगमन बढे्सँगै आयआर्जन वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x