Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ प्रणालीमा थुप्रियो निक्षेप

बैंकिङ प्रणालीमा थुप्रियो निक्षेप

निक्षेप ६६ खर्ब ४२ अर्ब पुग्दा अझै सात खर्ब कर्जा दिन सक्छन् बैंकहरू


काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप सङ्कलन लगातार बढिरहेको छ । कर्जा विस्तार भने अपेक्षितरूपमा बढ्न सकिरहेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक १ गतेसम्मको तथ्याङ्कअनुसार ५४ वटा संस्थाहरूको कुल निक्षेप सङ्कलन ६६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूको मात्र निक्षेप सङ्कलन ५९ खर्ब सात अर्ब रुपैयाँ पुगेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको सात खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा भने ५२ खर्ब ७४ अर्ब रुपैयाँ छ । जसमध्ये वाणिज्य बैंकहरूको मात्र ४६ खर्ब ६७ अर्ब रुपैयाँ र विकास बैंक र फाइनान्स कम्पनीहरूको छ खर्ब सात अर्ब रुपैयाँ छ । निक्षेप सङ्कलन उच्च भए पनि बैंक तथा वित्तीय संस्थाबीचको कारोबारको ब्याजदर तीन प्रतिशत छ ।

यस्तै, निक्षेप तथा कर्जा अनुपात (सिडी रेसियो) ७८ दशमलव शून्य सात प्रतिशत छ । बैंकहरूले अझै ११ दशमलव ९३ प्रतिशत कर्जा प्रवाह गर्न सक्छन् । किनकि बैंक तथा वित्तीय संस्थाहरूले कुल निक्षेप सङ्कलनको ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाउने व्यवस्था छ । बैंकिङ क्षेत्रमा हाल कायम रहेको कुल निक्षेप रकम ६६ खर्ब ४२ अर्ब रुपैयाँ छ । यसको ९० प्रतिशतले ५९ खर्ब ७७ अर्ब ८० करोड रुपैयाँ लगानीयोग्य रकम देखिन्छ । तर, बैंकहरूले ५२ खर्ब ७४ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । यस आधारमा बैंक तथा वित्तीय संस्थाले थप सात खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न पाउँछन् । अर्थात् बैंकहरूसँग अझै सात खर्ब १३ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ ।

सरकारी तथ्याङ्कअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र ठीकठाक छ । आन्तरिक अर्थतन्त्र पनि क्रमशः सुधारोन्मुख भएको देखिन्छ । तर, बजारमा आर्थिक गतिविधि अझै सुस्त छ । एक वर्षअघि महँगीले गर्दा उपभोग घटेको थियो । तर अहिले पनि उपभोग बढ्न सकिरहेको छैन । निर्माण सामग्रीको खपत न्यून छ । उपभोग्य वस्तुको माग पनि घटेर गएको छ । समग्रमा भन्दा बजारमा माग बढ्न सकेको छैन । त्यसैले अझैपनि अर्थतन्त्रमा सुस्तता रहेको अर्थशास्त्रीहरूले तर्क गर्ने गरेका छन् । बजारमा गतिविधि बढ्न नसक्दा उद्योगी व्यवसायीले कर्जा लिएर लगानी गर्न सकिरहेका छैनन् । घरजग्गा क्षेत्र पनि सुस्त छ । मानिसहरूले यी क्षेत्रमा लगानी गर्नुभन्दा बैंकमा निक्षेप राखेर ब्याज खाँदा बढी फाइदा देखेपछि यी क्षेत्रमा लगानी हुन छाडेको छ । भएको छ भने पनि निकै न्यून छ । यसैको असरले बैंकहरूको निक्षेप बढ्दै गएको छ भने कर्जाको माग खुम्चिँदै गएको छ । बैंकहरूले ब्याजदर घटाएर कर्जा विस्तार बढाउने कोसिस गरेका छन् । तर पनि बजारमा कर्जाको माग बढ्न सकेका छैनन् ।

उद्योगी व्यवसायीहरूले पनि ब्याजदरमा हुने तीव्र उतारचढावका कारण कर्जा लिएर लगानी गर्न जोखिम रहेको बताउने गरेका छन् । एकातिर बजारमा उपभोग घटिरहेको छ भने अर्कोतिर अहिले सस्तोमा ऋण लिएर लगानी गर्ने तर पछि महँगो ब्याज तिर्नुपर्ने अवस्था आउने देखिएपछि ऋण लिएर लगानी गर्न जोखिम मान्न थालिएको व्यवसायीहरू बताउँछन् ।

गत वर्ष ऋण तिर्न नसकेर धेरै व्यवसायीहरू कालोसूचीमा परे । अहिले राष्ट्र बैंकले कालोसूचीमा राख्ने व्यवस्थामा केही लचक नीति लिएको छ । तर पनि व्यवसायीहरूले कर्जाको माग गर्न सकिरहेका छैनन् ।

बैंकमा निक्षेप बढ्दै जानुको अर्को कारण रेमिट्यान्स पनि हो । विगतमा रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा जान्थ्यो । तर, अहिले क्रमशः त्यो पनि रोकिँदै गएको छ । त्यो पैसा बैंकमै रहँदा बैंकहरूको निक्षेपको आँकडा दैनिक बढिरहेको छ ।

अर्कोतर्फ सरकारी खर्च वृद्धि हुन सकिरहेको छैन । सरकारी खर्च बढ्दा लगानीकर्ताको मनोबल पनि बढ्ने भएकाले निजी क्षेत्रबाट कर्जाको माग बढ्न सक्छ । तर, अहिले त्यो स्थिति पनि छैन । चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक भएपछि कर्जाको माग बढ्ने अपेक्षा थियो । तर, व्यवहारमा त्यस्तो देखिएन । पुँजीगत खर्च र राजस्व सङ्कलन दुवैमा असन्तुलन रहेकाले उद्योगी व्यवसायीहरू ऋण लिएर लगानी गर्ने, उत्पादन बढाउने विषयमा पर्ख र हेरको रणनीति अवलम्बन गरिरहेका देखिन्छन् ।

आयात घटेकाले पनि कर्जाको माग घटेको हुनसक्ने बैंकहरूको आकलन छ । नेपालमा बैंकहरूले दिने धेरैजसो कर्जाको सम्बन्ध आयातसँग हुन्छ । आयात घटिरहेको र रेमिट्यान्स आप्रवाह बढिरहेको कारण निक्षेपमा लगातार वृद्धि देखिएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को लागि विस्तृत मुद्राप्रदायको १२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि साढे १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । तर, अहिले कर्जा विस्तारको जुन अवस्था देखिएको छ त्यसले यो लक्ष्य पूरा हुने सम्भावना न्यून बन्दै गएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x