Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशव्यवसायी गुप्ताको कारोबार शंकास्पद

व्यवसायी गुप्ताको कारोबार शंकास्पद

आरप्रकाश लेम्प इन्डस्ट्रिज र आँसु स्टोर्सद्वारा राजस्व छलेको आशंका


विराटनगर । विराटनगर महानगरपालिकासँगै जोडिएर रहेको कटहरी गाउँपालिकामा सञ्चालन हुँदै आएको आरप्रकाश लेम्प इन्डस्ट्रिजको कारोबार शंकास्पद देखिएपछि छानबिन थालिएको छ । सञ्चालन भएको आठ वर्षमा उक्त कम्पनीले व्यापक राजस्व छलीको आशंकामा राजस्व अनुसन्धानसहित आन्तरिक राजस्व कार्यालयले अनुसन्धान सुरु गरेको हो ।

स्रोतका अनुसार आन्तरिक राजस्व कार्यालयमा मूअकरसहित आयकर समेतमा ६०५५६५९४० नम्बरबाट २०७३ सालमा दर्ता कायम भएको आरप्रकाश लेम्प इन्डस्ट्रिजले वार्षिक तीन करोड ५५ लाखको मात्रै कारोबार गरेको विवरण बुझाएपछि उसको कारोबार छानबिनमा परेको छ । उक्त इन्डस्ट्रिजको कारोबार धेरै हुने गरे पनि अत्यन्तै न्यून राजस्व बुझाएपछि उसको व्यावसायिक कारोबार नै शंकामा परेको बताइन्छ । उक्त इन्डस्ट्रिजको सञ्चालकमा रानु गुप्ताको नाम दर्तामा कायम गरिएको छ । तर सो फर्मको कानुनीरूपको सञ्चालकमा रानु भए पनि सम्पूर्ण कारोबार र बजार व्यवस्थापन समेतको जिम्मेवारीसहितको मुख्य सञ्चालकमा राजीव गुप्ता रहेका छन् ।

भारत र चीनबाट कमसल मूल्य र ननब्रान्डका इलेक्ट्रिक बल्बहरू नेपालमा आयात गरी कारोबार गर्दै आएको गुप्ता परिवारलाई अहिले राजस्व चुहावट भएको आशंका गर्दै राजस्व अनुसन्धानसहित आन्तरिक राजस्व समेतले एकै पटक अनुसन्धान अगाडि बढाएको हो । यस्तै, उनले आरप्रकाश इन्डस्ट्रिजद्वारा उत्पादित उत्पादनको होलसेल बिक्रीदेखि बजार सप्लाइका लागि आरप्रकाशकै भ्याट नम्बरमा कारोबार थप गरी नवदुर्गा इन्टरप्राइजेजका नामबाट गरेको कारोबारबाट पनि व्यापक राजस्व छली भएको आशंका राजस्व स्रोतले गरेको छ । पछिल्लो समय सोही विषयमा व्यापकरूपले अनुसन्धान गर्नुपर्ने देखिएको स्रोतले जानकारी दिएको छ ।

विराटनगरलगायत कोशीदेखि मधेश प्रदेशसम्म बजार विस्तार गरेका व्यवसायी गुप्ताले छोटो समयमा राम्रो कारोबार गर्दै आएको व्यवसायीहरू बताउँछन् । व्यवसायी गुप्ताले ठूलो–ठूलो मूल्यको सामान आयात गर्दा विराटनगर भन्सारदेखि नै व्यापक राजस्व छली गर्ने गरेका छन् । सरकारले सोचेभन्दा न्यु राजस्व बुझाएर राजस्व छली गर्ने अघोषित सञ्चालक गुप्ताले गत आर्थिक वर्षमा तीन करोड ५५ लाखको मात्रै कारोबार गरेको विवरण आन्तरिक राजस्वलाई बुझाएका थिए । उनले उक्त रकमको कारोबार गर्दा जम्मा ७७ हजार रुपैयाँ मात्र आयकर बुझाएको देखिएपछि उनको कारोबारलाई थप शंकाको घेरामा पुर्याएको कुरा आएका स्रोतले बताएको छ ।

त्यसबाहेक २०५२ सालमा भ्याट नम्बर ३०००६८२०७ दर्ता कायम रहेको आँसु स्टोर्समा सञ्चालक रहेका सञ्जय गुप्ताको कारोबार समेत अनुसन्धान गर्नुपर्ने अवस्थामा रहेको स्रोतले बताएको छ । भारतलगायत तेस्रो मुलुकबाट समेत कारोबार गर्दै आएको उक्त फर्मले गत वर्ष तीन करोड ९१ लाखको कारोबार देखाएर ३८ हजार रुपैयाँ मात्रै राजस्व बुझाएको छ । दाजुभाइदेखि बुहारी समेतका नामबाट कम्पनी र विभीन्न व्यावसायिक फर्म दर्ता गरी गुप्ताबाट भएको राजस्व छलीमा सम्बन्धित निकायबाट कस्तो कारबाही हुुन्छ भन्ने कुरा प्रतिक्षाकै विषय बनेको यहाँका व्यवसायीहरू बताउँछन् ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x