Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइजरेलद्वारा इरानमा हवाई हमला, क्षतिबारे इरानले के भनेको छ?

इजरेलद्वारा इरानमा हवाई हमला, क्षतिबारे इरानले के भनेको छ?


काठमाडौं,इजरेलले इरानी सैन्य स्थलहरूमा निशानाबद्ध हवाई हमला गरेको जनाएको छ। ती हमलालाई इजरेलले आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरूले बारम्बार गरेका हमलाको जबाफ भएको बताएको छ।

इजरेली सेनाले हमलाको काम पूरा भएको जनाउँदै भनेको छ: “हाम्रा विमानहरू सुरक्षित रूपमा घर फर्किएका छन्।”

इजरेली डिफेन्स फोर्सेस आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले आफ्नो प्रतिरक्षा गर्ने ‘अधिकार र दायित्व’ इजरेलसामु भएको जनाएका छन्।

तीन साताअघि इरानले इजरेलमा झण्डै दुई सयको सङ्ख्यामा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो।इरानी प्रतिक्रिया र क्षतिको अवस्था
इजरेली हमलासँगै इरानको राजधानी तेहरान र त्यसनजिकका दुई सहरहरूमा विस्फोटनका आवाज सुनिएका थिए।

सुरुमा इजरेलले इरानका सैन्य निशानामा हमला गरेको भनेर गरेको दाबीलाई पछि तेहरानले पुष्टि गरेको देखिन्छ।

इरानको हवाई प्रतिरक्षा फौजले एक विज्ञप्तिमार्फत तेहरान, खुजिस्तान र इलम प्रान्तका सैन्य अखडाहरू हमलामा परेको जनाएका छन्।

ती हमलाहरू सफलतापूर्वक सामना गरिएको तर केही स्थानमा “सीमित क्षति” पुगेको उक्त विज्ञप्तिमा जनाइएको छ।त्यसअघि इरानको रेभुलस्नरी गार्ड्सनिकट एक समाचार संस्थाले इरानको राजधानीको पश्चिम र दक्षिण पश्चिममा रहेका सैन्य आधारहरू निशानामा पारिएको जनाएको थियो।जेरुसलेमस्थित एकजना बीबीसी संवाददाताले इजरेलले आफ्ना हमला परमाणु वा तेल प्रशोधन केन्द्रमा नभई सैन्य निशानामा केन्द्रित गरेको देखिएको जनाएका छन्।

इजरेली हवाई हमलाको निशानामा सिरियाको राजधानी दमास्कससहित देशका मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थल समेत पारिएको सिरियाको सरकारी समाचार संस्थाले जनाएको छ।

इराकमा समेत राजधानी बग्दादनजिकै विस्फोटनका विवरण आएका छन्।

प्रतिक्रिया
इजरेलले भने इरानबाहिर भएका हमलाका विवरणबारे प्रतिक्रिया जनाएको छैन।

अहिलेसम्मको अवस्थामा इरानी सरकारी सञ्चारमाध्यमले भने आफूविरुद्धका हमला असफल भएको बताएका छन्। तर विज्ञहरूले त्यस्ता हमलापछि त्यो इरानले सामान्यतः दिने प्रतिक्रियाको शैली भएको बताएका छन्।

गम्भीर क्षति वा मृत्युका विवरण सतहमा देखा परेमा त्यो परिवर्तन हुनसक्ने भन्दै विज्ञहरूले सजग गराएका छन्।

ह्वाइटहाउसले इजरेलको ‘आत्मरक्षाको अभ्यास’मा अमेरिकाको कुनै संलग्नता नरहेको जनाएको छ।

यूके सरकारका एकजना प्रवक्ताले लण्डनले “यस अवस्थालाई नजिकबाट हेरिरहेको” जनाएका छन्।

यूकेद्वारा जारी विज्ञप्तिमा भनिएको छ: “हामी इजरेलको आत्मरक्षा र अन्तर्राष्ट्रिय मानवीय कानुन अन्तर्गत रहेर आफ्नो रक्षा गर्ने अधिकारको साथमा छौँ। अवस्था थप चर्काउनु कसैको पनि हितमा छैन।”इरान र इराकमा सबै उडान रद्द
इजरेली हमलाबीच इरानले आफ्ना हवाई क्षेत्र बन्द गरेको त्यहाँको सरकार समाचार संस्था आईआरएनएलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ।

इरानको नागरिक उड्डयन निकायका प्रवक्ताले आईआरएनएलाई अर्को सूचना नहुँदासम्म त्यहाँ सबै उडानहरू रद्द गरिएको जनाएका छन्।

इराकमा समेत अर्को सूचना नभएसम्मका लागि “क्षेत्रीय तनावका कारण” सबै विमानस्थलमा, सबै उडानहरू रद्द गरिएको त्यहाँका यातायात मन्त्रीले जनाएको इराकी सरकारी समाचार संस्था आईएनएलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x