Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयरबजार थप घट्ने सम्भावना कति ?

सेयरबजार थप घट्ने सम्भावना कति ?


काठमाडौं । गतसाता सेयरबजारमा गिरावट देखियो । नेप्से परिसूचक चार दशमलव ३१ प्रतिशत अर्थात एक सय १८ दशमलव २२ अंकले घटेर दुई हजार छ सय २७ दशमलव १४ विन्दुमा झरेको छ ।

विश्लेषकहरूले बजार घट्नुपर्ने कुनै कारण नभए पनि अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयरको बिक्री बढाउँदा नेप्सेमा गिरावट आएको बताएका छन् । लगानीकर्ताले भने अहिलेको गिरावटलाई स्वाभाविक करेक्सन भनेका छन् । किन भने अधिकांश बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासमा नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ब्याजदर पनि घटेको छ । लगानीका अन्य क्षेत्रमा तत्काल लगानी गइहाल्ने अवस्था पनि देखिँदैन । सबै क्षेत्र सुस्त देखिन्छन् । यस्तो बेला व्यवसायीहरूले सेयरबजारमा लगानी गर्ने र माग बढ्न गई मूल्य बढ्ने अपेक्षा लगानीकर्ताहरूको छ ।

ब्याजदर घटिरहेको छ, बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा प्रशस्तै छ । ऋण लिएर सेयरमा लगानी गर्नेहरू पनि बिस्तारै बढ्दै गएको तथ्याङ्कले देखाउँछ । यस्तो बेला बजार निरन्तर घट्नुपर्ने कारण नभएकाले अहिलेको गिरावटलाई करेक्सनको रुपमा लिनुपर्ने बुझाइ छ । समग्रमा छोटो अवधिमा नाफा कमाउनेहरूले नाफा सुरक्षित गर्नखोज्दा बिक्रीचाप हावी हुनगई बजार घटेको विश्लेषण गरिएको छ ।

निक्षेपको ब्याजदर निकै तल झरेको छ भने कर्जाको ब्याजदर पनि एकल विन्दुमा आएको छ । कम्पनीहरूको नाफा बढेर गएको र ब्याजदर पनि कम पाउने भएकाले लगानीकर्ताले निक्षेप झिकेर सेयरमा लगानी गर्न सुरु गर्छन् । घरजग्गालगायतका क्षेत्रमा कारोबार ठप्प छ । यस कारण पनि लगानीको पहिलो विकल्प सेयरबजार नै हुने कतिपयको विश्लेषण छ । तर, बैंकमा निक्षेप दैनिकरूपमा बढिरहेको स्थिति छ । यसले लगानी गरेरभन्दा बैंकमा निक्षेप राखेर थोरै भए पनि सुरक्षित प्रतिफल खानेहरू बढेको सङ्केत गर्छ । त्यसैले सेयरबजारमा लगानी गर्दा धेरै विषयमा अध्ययन गरेर मात्रै लगानी गर्नुपर्ने देखिन्छ ।

यस्तो रह्यो गत साताको सेयरबजार
गतसाता नेप्से सूचक चार दशमलव ३१ प्रतिशतले घटेर दुई हजार छ सय २७ दशमलव १४ विन्दुमा झरेको छ । बजार पुँजीकरण ४१ खर्ब ७० अर्ब रुपैयाँ कायम भएको छ ।

गत साता दैनिक औसत कारोबार पाँच अर्ब ९९ करोड रुपैयाँ छ । साताको पहिलो दिन आइतबार साताकै उच्च आठ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो भने मंगलबार साताकै न्यून चार अर्ब १७ करोड रुपैयाँको कारोबार भयो ।

फाइनान्स समूह सबैभन्दा धेरै पाँच दशमलव २७ प्रतिशत घटेको छ । त्यसपछि, जीवन बीमा समूह पाँच दशमलव १७ प्रतिशत र होटल तथा पर्यटन समूह पाँच प्रतिशत घटेको छ । पिपुल्स हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा धेरै १९ दशमलव २५ प्रतिशत कमाएका छन् । इस्टर्न हाइड्रोपावरका सेयरधनीले १५ दशमलव ७१ प्रतिशत गुमाएका छन् । कुमारी बैंकको सेयर कारोबार सबैभन्दा धेरै एक अर्ब सात करोड ५४ लाख रुपैयाँको भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x