Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ ‘म्युचुअल फन्ड एक’ जारी गर्न स्वीकृति

मुक्तिनाथ ‘म्युचुअल फन्ड एक’ जारी गर्न स्वीकृति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को इकाई जारी गर्न स्वीकृति प्रदान गरेको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फन्ड एक जारी गर्न स्वीकृति दिएको हो ।

मुक्तिनाथ विकास बैंकले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिसकेको छ । यो योजना विकास बैंकले प्रवद्र्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष हो । नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ कात्तिक ७ गते प्रति इकाई अंकित मूल्य १० रुपैयाँको दरको १० करोड इकाईले हुन आउने कुल एक अर्ब रकम बराबरको निष्काशन गर्नका लागि स्वीकृति प्रदान गरेको हो । कुल योजनाको आकारमध्ये १५ करोड रकम बराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको ८५ करोड रकम बराबरको आठ करोड ५० लाख इकाई मात्र सार्वजनिक निष्काशन गरिनेछ ।

१० वर्षको अवधि रहेको उक्त योजना बन्दमुखी (क्लोज इन्ड) योजना रहेको छ । इकाईधनीहरूबाट संकलित रकम प्रचलित कानुनअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सूचीकृत धितोपत्र, निक्षेप, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य उपकरणहरूमा लगानी गर्ने योजना व्यवस्थापकले उल्लेख गरेको छ । योजना व्यवस्थापकले आफ्ना इकाईधनीहरूलाई दक्ष लगानी सेवाद्वारा उचित प्रतिफल दिनुका साथै व्यवस्थापकको हैसियतबाट सामूहिक लगानी कोष बजारको दिगो विकासमा सघाउ पुर्याउने उद्देश्यले योजना सञ्चालन गर्न लागिएको हो ।

निष्काशनसम्बन्धी अन्य सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गरी यही आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्काशनमार्फत इकाईहरू बिक्रीमा ल्याउने मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । साथै, कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंक लिमिटेडले केयर एनपी थ्रीबी (आईएस)को रेटिङ पाएको छ । योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले आईआरएन एएमसी क्वालिटी थ्रीको रेटिङ पाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x