Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकामर्चवारीमा छुट्याइएका योजना कार्यान्वयनको चरणमा

मर्चवारीमा छुट्याइएका योजना कार्यान्वयनको चरणमा


बुटवल । मर्चवारी गाउँपालिका रुपन्देहीले चालू आर्थिक वर्ष २०८१/८२ सालका लागि छुट्याइएका योजनाहरू कार्यान्वयनमा ल्याउनका लागि आवश्यक प्रक्रियाहरू अगाडि बढाएको छ । गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले पालिकाले बजेट किताब तयार गरिसकेको बताए । यस्तै, उनले टेन्डर प्रक्रियाबाट गर्नुपर्ने योजनाहरू टेन्डर प्रक्रियामा र उपभोक्ता समितिमार्फत गर्ने कामहरू गर्न समिति गठन प्रक्रिया पनि सुरु भएको जानकारी दिए ।

उनका अनुसार उपभोक्ता समितिमार्फत हुने साना योजनाहरू केही सुरु समेत भइसकेका छन् । मंसिरसम्म उपभोक्ता समिति गठन गरेर भ्याउने, पुससम्म सबै योजनाहरू सम्झौता गर्ने र वैशाखसम्म सबै योजनाहरू सम्पन्न गर्ने रणनीतिका साथ काम अगाडि बढाएको उनले बताए । जिल्लामै पिछडिएको क्षेत्रमा चिनिने सो पालिकामा पछिल्लो समयमा औषत विकास हुँदै गएको छ । पालिका अध्यक्ष बरईले अहिलेको जल्दोबल्दो आवश्यकता गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने रहेकाले जग्गा प्राप्ति गर्न मन्त्रालयसम्म फाइल पुगिसकेको जानकारी दिए ।

गाउँपालिकामा भएका, हुने र आवश्यक कामहरूको बारेमा बताउँदै अध्यक्ष बरईले वडा नं ३ को सिसो सेमरामा अवस्थित मतिमनराजी माध्यमिक विद्यालयमा कन्याहरूलाई छुट्टै व्यवस्थापन गरेर अध्ययन गराउने गरी कन्या स्कुल सञ्चालनका लागि आवश्यक सम्पूर्ण कामहरू सकिएको बताए । उनका अनुसार आगामी शैक्षिक सत्रदेखि सञ्चालन गर्ने तयारी छ । यस्तै, उनले मोतियाविन्दुका बिरामीको निःशुल्क अप्रेसन, सर्पदंश उपचार केन्द्रको स्थापनाको लागि आवश्यक संरचनाहरू निर्माण गरी छिट्टै सञ्चालनको तयारी गरेको बताए । मुख्य बजारमा सिसी क्यामेरा जडान गर्ने, धुवाँमुक्त गाउँपालिकाका लागि ग्यास सिलिन्डर र चुल्हो वितरण कार्यक्रम रहेको पनि बताए ।

गुणस्तरीय पूर्वाधार निर्माणसहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक विकासमार्फत समृद्ध गाउँपालिकाको लक्ष्य हासिल गर्न सार्वजनिक, निजी र सामुदायको साझेदारी गर्ने उनको भनाइ छ । गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्ने, सुकुम्बासीहरूको वैज्ञानिक व्यवस्थापन गर्ने, कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने, आर्थिक विकासका लागि आवश्यक रणनीतिहरू अवलम्बन गर्ने, पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने, आयआर्जन वृद्धि गर्न विभिन्न सीपमूलक तालिमहरूको व्यवस्था गर्नेलगायतका योजनाहरू चालू आर्थिक वर्षमा कार्यान्वयनमा ल्याउने अध्यक्ष बरईले बताए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले सीमित स्रोत र साधनको उच्चतम प्रयोग गरेर प्राथमिकताका आधारमा योजनाहरूको सूची तयार गरी कार्यान्वयनमा ल्याउने रणनीति बनेकोे बताए । भट्टराईले वितरणमुखी योजनाहरूलाई कम गर्दै दीर्घकालीन महत्वका योजनाहरूलाई बढी कार्यान्वयनमा ल्याउनेमा जोड दिएको जानकारी दिए । चालू आर्थिक वर्षमा स–सानादेखि ठूला गरी करिब चार सयभन्दा धेरै योजनाहरू सञ्चालन हुने उनले बताए ।

पालिकाका लेखा अधिकृत युवराज घिमिरेले गत वर्ष कुल ४८ करोड ९३ लाख ६८ हजार रुपैयाँमध्ये चालूतर्फ २६ करोड २९ लाख ८३ हजार अर्थात् ७८ दशमलव ८१ प्रतिशत र पुँजीगततर्फ १२ करोड ११ लाख ९६ हजार अर्थात् ७७ दशमलव ८६ प्रतिशत गरी समग्रमा ७८ दशमलव पाँच प्रतिशत खर्च भएको बताए । गत आवमा ठूलो योजनाअन्तर्गत गाउँपालिकाको प्रशासनिक भवनको काम र विपन्न वर्ग आवास निर्माणअन्तर्गतको कार्यक्रम कार्यान्वयनमा आउन नसक्दा बजेट खर्र्च लक्ष्यमा पुग्न नसकिएको उनले जानकारी दिए । गाउँपालिकामा आन्तरिक आम्दानीका स्रोतहरू कम भएको संघ र प्रदेश सरकारको भर पर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले सरदरमा वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको बताए । चालू आर्थिक वर्षको कुल बजेट ४९ करोड नौ लाख ७९ हजार रुपैयाँ रहेको छ ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x