Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतिहारमा बससेवाले टिकट बुकिङमा पाँच प्रतिशतसम्म छुट दिने

तिहारमा बससेवाले टिकट बुकिङमा पाँच प्रतिशतसम्म छुट दिने


काठमाडौं । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा गाउँ घर जानेहरूलाई पाँच प्रतिशतसम्म छुट दिने भएको छ । बससेवाले आफ्ना प्लेटफर्मबाट टिकट काट्नेहरूलाई पाँच प्रतिशतसम्म छुट दिने अफर ल्याएको हो ।

प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरमा बसीबसी आफ्नो मोबाइलबाट छुटमा बसको टिकट काट्न अनुरोध गरेको छ । बससेवाले देशभरका विभिन्न चार सय ३३ गन्तव्यको टिकट काट्दा छुट उपलब्ध हुने जनाएको छ । प्रविधिमा जानकारी नहुने र अनलाइनको पहुँचमा नहुने व्यक्तिले पनि बससेवाका अन्य प्रयोगकर्ताको सहयोगमा सजिलै टिकट काट्न सकिने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, बससेवा चलाउन नसक्नेहरूलाई बससेवाका अन्य प्रयोगकर्तासँग सहयोग लिएर टिकट काट्न पनि बससेवाले आग्रह गरेको छ । लाइन लागेर टिकट काट्ने बाध्यताबाट छुटकारा दिलाउनका लागि आमयात्रुलाई टिकट काटेर सहयोग गरिदिन बससेवाका प्रयोगकर्तालाई पनि बससेवाले आग्रह गरेको छ ।

देशका जुनसुकै स्थानबाट पनि काठमाडौंका लागि छुट्ने बसको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरू लाभान्वित हुने बससेवाले जनाएको छ । संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ । ती स्थानबाट टिकट काट्दा पनि छुट उपलब्ध हुने बससेवाले जनाएको छ । सरकार तथा यातायात व्यवसायीले पछिल्ला दिनहरूमा अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेका कारण बससेवामा आवश्यकताअनुसार टिकट उपलब्ध हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए । दशैँको तुलनामा तिहारमा राजधानीबाट बाहिर जाने तथा अन्य स्थानमा आवतजावत केही कम हुने भएकाले पनि तिहारमा टिकट अभावको अवस्था नहुने उनको भनाइ छ ।

‘विगतमा अनलाइनमार्फत् काटिने टिकटको कोटा थोरै हुँदा अपेक्षितरूपमा टिकट उपलब्ध गराउन असहज हुने गरेको थियो,’ खनालले भने, ‘तर अहिले त्यो समस्या हटेको छ । आवश्यक्ताका आधारमा टिकट उपलब्ध हुन्छ ।’ खनालका अनुसार बससेवामार्फत काठमाडौंबाट देशभरका सबै गन्तव्यको टिकट काट्न सकिन्छ भने देशका अन्य स्थानबाट पनि मोफसलकै टिकट काट्न सकिन्छ । ७० भन्दा बढी जिल्लाका चार सय ३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढीको संख्यामा बससेवाबाट टिकट काट्न सकिने उनले बताए । यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमै बसेर टिकट बुकिङ गर्न सक्ने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x