Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न आग्रह

उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न आग्रह


विराटनगर, असार २३
सुनसरी–मोरङ करिडोर क्षेत्रका उद्योगी व्यवसायीहरुले निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । विराटनगरमा रहेका निजी क्षेत्रका संघ संघठनहरुले संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न निकायहरुलगायत नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय बीमा समितिसमक्ष उद्योग व्यवसायका समसामयिक विषयहरु सम्बोधनका लागि संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा लकडाउनका कारण धराशायी भएका उद्योग व्यवसायको पुनरुत्थानका लागि बैंक ब्याज घटाउनुपर्ने तथा बैंकको किस्ता बुझाउने अवधि थप गर्नुपर्ने, पुनर्कर्जाको सुविधा साना, मझौला र ठूला सबै उद्योगहरुले सहज र सरल रुपमा पाउने व्यवस्था गरिनुपर्ने, लकडाउन अवधिको बीमा प्रिमियम शुल्कमा छुट दिइनुपर्ने, विद्युत् डिमान्ड शुल्कमा छुटसम्बन्धी नेपाल सरकारको निर्णय कार्यान्वयन गरिनुपर्ने, आयकर तथा राजस्व बुझाउनेबारे सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गरिनुपर्ने तथा अन्य विभिन्न समसामयिक विषयहरुमा माग राखिएका छन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघको समन्वयमा प्रदेश नं १ उद्योग वाणिज्य महासंघलगायत जिल्ला र नगर उद्योग वाणिज्य संघहरु, मोरङ व्यापार संघका शाखा उद्योग वाणिज्य संघहरु तथा वस्तुगत संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसहितको सहभागितामा संयुक्त ज्ञापनपत्र बुझाइएको हो । प्रदेशभरका करिब ३६ वटा उद्योग वाणिज्य संघहरु तथा वस्तुगत संघहरुद्वारा हस्ताक्षरित उक्त संयुक्त ज्ञापनपत्र प्रधानमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, ऊर्जामन्त्री र अर्थमन्त्रीका लागि जिल्ला प्रशासन कार्यालय, मोरङलाई बुझाएको छ ।

त्यसैगरी, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्रीमार्फत मुख्यमन्त्री, नेपाल राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयमार्फत नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल विद्युत् प्राधिकरण, प्रदेश नं १ को कार्यालय, विराटनगरमार्फत प्राधिकरणका कार्यकारी निर्देशक र राष्ट्रिय बीमा समितिलाई संयुक्त ज्ञापनपत्र बुझाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x