नेपाल लाइफ पाठशालाको अनावरण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को आज काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच अनावरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्ल्याटफर्ममा लग इन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेका हुन् । उक्त कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारीहरू, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधिहरू तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उपस्थित सबैलाई स्वागत गरे । उहाँले नेपालको जनसंख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामा नै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने सार्गर्भित विचार व्यक्त गर्नुभयो । भू–मण्डलीकरणको कारणले विश्व एउटा डिजिटल डिभाइसमा समेटिन पुगेको र यसको प्रयोग गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न सबै युवालाई आग्रह गरे । नेपाल लाइफले ल्याएको यस प्लेटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा अतुलनीय भूमिका निर्वाह गर्ने कुरा बताए । हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरू थालनी गर्ने कुरा बताए । यसका साथसाथै उनले निकट भविष्यमा नै बीमाको महत्व र बीमासम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ यस प्ल्याटफर्मलाई सशक्त बनाउँदै जाने पनि बताए । सोही अवसरमा यस कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बीमा योजनाअन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्युआरको पनि प्रयोग गरी घरै बसीबसी सहजताका साथ भुक्तानी गर्न पनि सबैमा आग्रह गरे ।
कार्यक्रममा बोल्दै कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लयाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको कुरा बताए । अब बीमा अभिकर्ता बन्ने दृढ इच्छाशक्ति भएको खण्डमा भौतिक तालिमै लिन कुर्न नपर्ने र आफ्नो अनुकूल समयमा तालिम लिई बीमालाई नेपालीको घरघरमा पुर्याउन सकिने कुरा बताए । बीमा उद्योगमा यस्तो प्रविधिमैत्री प्ल्याटफर्मको विकास गर्ने पहिलो कम्पनीको रूपमा नेपाल लाइफ रहेको र यसले सम्पूर्ण नेपाल लाइफकर्मीलाई गौरवान्वित बनाएको समेत बताए ।
कार्यक्रममा तालिम विभागका प्रमुख रोजेश बस्नेतले उक्त प्लेटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा आफ्नो प्रस्तुतीकरण गरेका थिए । सूचना प्रविधि विभागका प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्युआरको प्रयोग कसरी गर्ने र त्यसको उपयोगितामाथि प्रकाश पारेका थिए । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लेटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए । साथसाथै उनले आगामी दिनमा पनि प्रविधिमैत्री कार्यहरूमा नेपाल लाइफको अग्रसरता कायम रहनेमा आफू निर्धक्क रहेको बताए । यस प्लेटफर्मले अभिकर्तालाई झन् सहज हुने कुरा समेत बताए ।
कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले प्रविधिमैत्री प्लेटफर्मको अनावरण समारोहमा आफू सामेल हुन पाएकोमा खुसी भएको बताए । विगतका कुराहरू स्मरण गर्दै उनले करिब दुईदशक अगाडि बीमा अभिकर्ताको तालिम नियामक निकायले मात्र प्रदान गर्ने गरेको र हालको दिनमा घरै बसीबसी तालिम लिन सक्ने अवस्थाको सिर्जना गर्न नेपाल लाइफ सफल भएकोमा कम्पनीको मुक्तकण्ठले प्रशंसा गरे । आगामी दिनमा पनि ग्राहकको सेवालाई केन्द्रविन्दुमा राखेर विभिन्न प्रविधिमैत्री कार्यहरू कम्पनीबाट हुनेमा पनि आशावादी रहेको बताए ।
समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले यस प्रविधिको निर्माणमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा सामेल रहेका सबै पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरे । इनोभेसनलाई केन्द्रविन्दुमा राखेर कम्पनीको प्रक्रियालाई सहज सरल चुस्त र दुरुस्त बनाउन कम्पनी सदैव तयार रहेको र सोपथमा लम्की पनि रहेको विचार अभिव्यक्त गरे । यसरी एक ढङ्गबाट दुई दशक पूरा गरिसकेको नेपाल लाइफ अहिले पनि स्टार्टअप कम्पनीको तौरतरिकाबाट सञ्चालन भइरहेको कुरा बताए । प्रविधिको अभावमा अभिकर्ता तथा ग्राहकहरूले भोग्नुपरेको पिर मर्कालाई समाधान गर्न कम्पनी अहोरात्र लागिरहेको बताए । प्रविधिमा आएको आमूल परिवर्तनलाई अङ्गीकार गर्न नसके कम्पनीले सोचेअनुसारको चौतर्फी विकास गर्न नसक्ने हुँदा कम्पनी सदैव एउटा सानो बच्चाको जस्तै जिज्ञासु भएर लागि परेको समेत बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
- राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने
- पर्यटकीयस्थल हम्पालमा विद्युतीकरण
- ४६ अंकले उक्लियो शेयर बजार, सबै सुचक हरियो
- चौबिस फरार प्रतिवादी पक्राउ
- विपद् प्रभावितलाई लत्ताकपडा वितरण
- विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ: मन्त्री दाहाल
- कृषि वैज्ञानिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया