Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविकास बैंकहरूको निष्क्रिय कर्जा तीन दशमलव ६२ प्रतिशत

विकास बैंकहरूको निष्क्रिय कर्जा तीन दशमलव ६२ प्रतिशत

पाँच खर्बमध्ये १८ अर्ब २३ करोड निष्क्रिय कर्जा


काठमाडौं । विकास बैंकहरूको निष्क्रिय कर्जा १८ अर्ब २३ करोड रुपैयाँभन्दा बढी छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले पाँच खर्ब तीन अर्ब ६५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा औसत तीन दशमलव ६२ प्रतिशत अर्थात् १८ अर्ब २३ करोड २२ लाख दुई हजार चार सय रुपैयाँ निष्क्रिय कर्जा छ ।

जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा एक दशमलव १३ प्रतिशत अर्थात् छ अर्ब ४९ करोड ४३ लाख १७ हजार पाँच सय रुपैयाँले बढी हो । गत वर्ष पहिलो त्रैमासमा चार खर्ब ७१ अर्ब ४० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा दुई दशमलव ४९ प्रतिशत अर्थात् ११ अर्ब ७३ करोड ७८ लाख ८४ हजार नौ सय रुपैयाँ निष्क्रिय कर्जा थियो ।

विकास बैंकहरूले सार्वजनिक वित्तीय विवरणअनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा क्षेत्रीयस्तरको सिन्धु विकास बैंकको छ । सिन्धुको निष्क्रिय कर्जा ११ दशमलव २९ प्रतिशत छ । जुन गत आवको सोही अवधिमा चार दशमलव २६ प्रतिशत थियो । क्षेत्रीयस्तरकै कर्णाली डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा सात दशमलव २७ प्रतिशत छ । जुन एक वर्षअघि चार दशमलव ७४ प्रतिशत थियो । महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा चार दशमलव ९० प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा तीन दशमलव ५१ प्रतिशत थियो ।

साङ्ग्रिला, कामना र गरिमा विकास बैैंकको निष्क्रिय कर्जा यस आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः चार दशमलव ६५ प्रतिशत, तीन दशमलव ९६ प्रतिशत र तीन दशमलव ८२ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव २८ प्रतिशत, तीन दशमलव ४८ प्रतिशत र दुई दशमलव ६८ प्रतिशत थियो । लुम्बिनी विकास बैंक, शाइन रेसुङ्गा र मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः तीन दशमलव ६९ प्रतिशत, तीन दशमलव ५० प्रतिशत र तीन दशमलव १६ प्रतिशत छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिमा क्रमशः तीन दशमलव ४७ प्रतिशत, दुई दशमलव ५९ प्रतिशत र एक दशमलव ४९ प्रतिशत थियो । यस्तै, क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा तीन दशमलव २१ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा नारायणीको निष्क्रिय कर्जा एक दशमलव ९४ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x