तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै मन्त्रालय
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्ने काम गरिरहेको जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची तयार भइरहेको जानकारी दिए ।
मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको उनले बताए । विवरण संकलनपछि के–कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् त्यसबारे स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘हामीले सरुवा गरेर पठाएका धेरैजसो कर्मचारीहरू सम्बन्धित कार्यालयहरूमा हाजिर भइसक्नुभएको छ । तर, केही कर्मचारीले मात्रै विभिन्न बाहानाबाजी गरेर हाजिर गर्नुभएको छैन । उहाँहरूलाई तोकिएको कार्यालयमा हाजिर गर्न हामीले पटक–पटक ताकेता पनि गरिरहेका छौँ,’ मन्त्री गुप्ताले भने, ‘अब हामी ताकेता गर्न छोडेर उहाँहरूको विवरण सङ्कलन गरिरहेका छौँ । जो जानुभएको छैन उहाँमाथि र जसलाई हाजिर गर्न दिइएको छैन उहाँहरूको पालिकामाथि पनि कारबाही गर्छौँ ।’
खटाइएका कर्मचारीहरूलाई हाजिर गर्न नदिने गाउँपालिका र नगरपालिकामाथि पनि मन्त्रालयले कारबाही गर्ने उनले बताए । जनताले दैनिकरूपमा सेवा उपभोग गर्ने स्थानीय तहका कुनै पनि कार्यालयमा नगर तथा गाउँपालिका प्रमुख अथवा कर्मचारीहरूबाट हुने कमजोरीमाथि मन्त्रालयले आवश्यक निगरानी गरिरहेको बताउँदै मन्त्री गुप्ताले सुशासनको सवालमा सरकार दृढ रहेको र कसैको दबाब वा प्रभावमा आफू नपर्ने स्पष्ट पारे । ‘गाउँपालिका वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत जाने तर सम्बन्धित पालिकाका प्रमुखले हाजिर गर्न नदिने पुरानो परिपाटी पनि हामी कहाँ रहँदै आएको छ । अब त्यस्तो हर्कत गर्ने पालिकालाई हाम्रो मन्त्रालयबाट दिइने सेवासुविधामा रोक लगाउँछौँ । जुन कर्मचारी गएर हाजिर हुँदैनन् । तिनलाई पनि मन्त्रालयले कारबाहीको व्यवस्था मिलाएको छ,’ मन्त्री गुप्ताले भने । विभिन्न मन्त्रालयमा थुप्रिएर बसेका कर्मचारीहरूलाई पालिकाहरूमा पठाउने काम सुरू भइसकेको पनि उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया